बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

अझै सुध्रिएन नरभक्षी बाघको आनीबानी

आइतबार, १९ असार २०७९, १० : १२
आइतबार, १९ असार २०७९

मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार बाघलाई प्राकृतिक वासस्थानमै छाडेको छ । निकुञ्जले यस वर्ष ७ वटा बाघ नियन्त्रणमा लिएकामा चार बाघ छाडेको जनाएको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यस आर्थिक वर्ष २०७९/८० मा चार बाघ छाडिए पनि अझै तीन बाघ निकुञ्जको खोरमै रहेको जानकारी दिए । उनले भने, “बाँकी रहेका तीन बाघ नरभक्षी भएकाले छाडिएको छैन ।” जङ्गलमा लगेर छाडिएको बाघको घाँटीमा स्याटलाइट कलर जडान गरिएको पनि संरक्षण अधिकृत आचार्यले जानकारी दिए ।

बाघको घाँटीमा स्याटलाइट कलर जोडेपछि उक्त बाघ कहाँ कुन अवस्थामा छ भन्ने कुरा सफ्टवेयरको माध्यमबाट निकुञ्जमै बसेर जानकारी लिन सकिने उनले बताए । खोरमा बाँकी रहेका तीन वटामध्ये एउटा बाघ बाँकेबाट ल्याइएको हो भने दुई बाघ चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । छाडिएको बाघलाई मानिसको नजिक राखेर बानी–व्यवहार अध्ययन गरेपछि मात्र छाडिएको संरक्षण अधिकृत आचार्यले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मानिससँग जम्काभेट भएर आक्रमण गरेका बाघलाई मात्र छाडिएको जानकारी दिए । “हामीले जनदबाबमा समातेका सबै बाघ नरभक्षी हुँदैनन् त्यसैले उनीहरूको आनीबानी, उमेर, व्यवहारको अध्ययन गरेर नरभक्षीबाहेकका बाघलाई जङ्गलमा लगेर छाड्ने गरेका छौँ”, उनले भने । उनीहरूको क्रियाकलापलाई अवलोकन गर्न स्याटलाइट कलर घाँटीमा जडान गरिएको उनले बताए । 

निकुञ्जको मुख्यालय कसारमा दुई र निकुञ्जको पूर्वी सेक्टर सौराहामा दुई गरी चार वटा मात्रै बाघ राख्न मिल्ने खोर छन् । थप केही खोर बन्ने चरणमा छन् । चालु आर्थिक वर्षमा मात्र चितवनमा बाघको आक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ भने ११ बढी मानिस घाइते भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप