ad
x
विज्ञका कुरा

पखालामय काठमाडौँ !

बहु-सङ्क्रमण यसको कारक ?

person explore access_timeअसार १९, २०७९ chat_bubble_outline0

हाल दैनिक काठमाडौँमा दर्जनौँ मानिसहरू झाडापखालाबाट प्रभावित हुने क्रम जारी छ तर सबैमा हैजाको जीवाणु भने पुष्टि हुने गर्दैन । यो लेख लेख्दै गर्दा हैजा सङ्क्रमितको सङ्ख्या १७ पुगेको भनिएको छ । तर हैजा बाहेक बाँकी ठुलो सङ्ख्याका पखाला ग्रसित बिरामीमा के कारणले पखाला हुने क्रम जारी छ भन्नेमा भने लेखकलाई जिज्ञासा भइरहेको थियो । वास्तवमा, हैजा मात्र नभएर विभिन्न सङ्क्रमणहरू झाडापखालाका कारक हुनसक्ने अनुमान गर्न भने सकिन्छ किनभने हाल पिउने पानीमा दिसा मिसिएको र इकोलाई भेटिएको भनिएको छ । र दिसामार्फत अरू झाडापखाला गराउने सङ्क्रमणहरूले पनि पानी दूषित गरिरहेको सहजै अनुमान गर्न सकिन्छ अर्थात्  काठमाडौँलाई पखालामय बनाउन हैजा मात्र दोषी नभएर अरू सङ्क्रमणहरू अथवा बहु-सङ्क्रमण कारक भएको हुन सक्दछ ।   


केहि दिन अगाडी पानी परीक्षण गर्दा इकोलाई भेटिएको भनिएको छ । इकोलाई सङ्क्रमणले झाडापखाला पनि गराउँदछ ।"एसरेखीय कोलाई" लाई छोटकरीमा इकोलाई भन्ने गरिन्छ । इकोलाईले सामान्यतया स्वास्थ्यमा समस्या नल्याउने भएता पनि यसका केहि प्रजातिले भने स्वास्थ्यमा जटिलता निम्त्याउन सक्ने हुन्छ । "हेमोलाईटिक युरेमिक सिन्ड्रोम" यसको मुख्य जटिलताको रूपमा लिन सकिन्छ र यसको जोखिममा मुख्यतः बालबालिका तथा ज्येष्ठ नागरिक हुने गर्दछ । सङ्क्रमित भएको औसतमा ३-४ दिनमा लक्षणहरू देखिने गर्दछ । ज्वरो आउनु, रगत मिसिएको पखाला लाग्नु, पेटका मांसपेशीका बौडिनु, बान्ता हुनु जस्ता यसका मुख्य लक्षणहरू हुन् । यदि इकोलाईको कडा प्रजाति रहेछ भने ५ देखि १० प्रतिशतमा "हेमोलाईटिक युरेमिक सिन्ड्रोम" को समस्या देखिन सक्दछ । लक्षण देखिएको एक हप्ता अर्थात् पखाला कम हुँदै गएको अवस्थामा यस्तो सिन्ड्रोम देखिन सक्दछ ।यो सिन्ड्रोम देखिए पछि ५ प्रतिशतसम्मको मृत्यु समेत हुन सक्दछ । यो सङ्क्रमणबाट बच्न खानेकुरा, पानी, दूध राम्ररी पकाएर/उमालेर खाने र त्यस्तै काँचै खाने फलफूल वा तरकारी (गोलभेँडा, काँक्रा, साग) आधी लाई सफा र सुरक्षित पानीले पखालेर मात्र खानु पर्दछ । 



झाडापखालाको अर्को कारक "सिगेला" ब्याक्टेरिया पनि सङ्क्रमितमा देखिएको छ । "सिगेला" ब्याक्टेरिया सङ्क्रमण भएको एक दुई दिनमा नै लक्षणहरू देखिन सुरु हुन्छ । पखाला (कहिले काहीँ रगत/सिगान जस्तो चिप्लो मिसिएको), ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने आधी यसका मुख्य लक्षणहरू हुन् । "सिगेला" को चार मध्ये फ्लेक्सनेरी नामक प्रजातिको ब्याक्टेरियाले सङ्क्रमण गरेको अवस्थामा केहि मानिसमा लामो समय सम्म जोर्नी दुख्ने, आँखामा जलन हुने तथा पिसाब गर्दा दुख्ने हुन सक्दछ ।हाल झाडापखाला बिरामीमा यही फ्लेक्सनेरी प्रजातिको "सिगेला" ब्याक्टेरिया पनि देखिएको छ । 

काठमाडौँमा झाडापखालाका हैजाले मात्र फैलिएको होइन भन्ने सङ्केत ठुलो सङ्ख्याका बिरामीमा हैजा पुष्टि नहुनु पनि देखाउँदछ ।इकोलाई र "सिगेला" ब्याक्टेरिया पनि देखा परेका छन् । यसबाट हाल काठमाडौँ झाडापखालामय हुनुमा हैजा मात्र नभएर बहु-सङ्क्रमण कारक भएको देखिन्छ ।अझ परीक्षणको दायरा बढाए थप सङ्क्रमण फेला समेत पर्न सक्दछ । लेखक झन्डै १० वर्ष अगाडी "भिजिटिंग साइनटिस" को रूपमा बङ्गलादेश जाँदा त्यहाँको प्रोफेसरसँग पखाला प्रकोपको कारक जीवाणुको अनुसन्धान गर्ने मौका पाएको थियो जसमा दुई भन्दा बढी सङ्क्रमण एकै बिरामीमा समेत देखिएको थियो । अर्थात् झाडापखालाको प्रकोपमा एक भन्दा बढी सङ्क्रमणहरू फैलिरहेको पनि हुन सक्दछ भन्ने त्यो बलियो आधार थियो ।तर यी पखाला गराउने बहु-संक्रमणलाई रोक्ने तरिका भने एकै छन् । पानी सफा र सुरक्षित पिउने, खानेकुरा राम्ररी पकाउने र ताजा मात्र खाने, काँचो खाने तरकारी (जस्तै गोलभेँडा, काँक्रो, सागपात) र फलफूल सुरक्षित पानीले (निर्मलीकरण गरेको) सफा गरेर मात्र खाने र जो कोही शौचालय गएपछि हात राम्ररी साबुन पानीले धुने गरेमा सङ्क्रमित हुनबाट आफू पनि बच्दछौ र थप सङ्क्रमण फैलनबाट रोक्न पनि सकिने छ । तर यी उपायहरूलाई व्यवहारमा लागु भने गरेको हुनुपर्दछ ।  

डा शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल  क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।