बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

'ओलीजीले गठबन्धनको अफर गर्नुभएको छ, छलफल गरौँ भनेको छु'

बाबुरामजीले पनि एमालेसँग छुट्टै गठबन्धन बनाऔँ भन्नुभएको छ : महन्थ ठाकुर
शनिबार, १८ असार २०७९, १७ : ३१
शनिबार, १८ असार २०७९

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक चलिरहेको छ । आजका लागि बैठक सकिएको छ । भोलि १२ बजे पुनः बस्ने गरी सकेको छ । बैठक चलिरहेकै बेला रातोपाटीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग छोटो कुराकानी गरेको छ ।

लोसपाले गठबन्धन कुन दलसँग गर्दैछ, अब जसपासँग लोसपाको सम्बन्ध कस्तो हुन्छ, एमालेसँग गठबन्धन हुन्छ कि हुँदैन जस्ता प्रश्न हामीले गरेका थियौँ । प्रस्तुत छ, लोसपाका अध्यक्ष ठाकुरसँग गरिएको छोटो कुराकानी:

कार्यकारिणी समितिको बैठकमा के कस्ता एजेण्डामा छलफल चलिरहेको छ ?

–पार्टी विधानको मस्यौदा पार्टीमा प्रस्तुत भएको छ । त्यो विधान मस्यौदामाथि छलफल चलिरहेको छ । केन्द्रीय समिति गठनलगायत अन्य पार्टीका अन्य सङ्गठन निर्माणमा पनि छलफल हुन्छ । त्यो पनि एजेण्डामा राखिएको छ । त्यसैगरी, अगामी चुनावमा कुन दलसँग कसरी सहकार्य (चुनावी गठबन्धन) गर्ने त्यस विषयमा पनि छलफल हुनेछ । अहिले त्यस विषयमा प्रवेश गरेको छैन एजेण्डाको रूपमा राखिएको छ । त्यस्तै, देशमा महँगी बढेको, किसानले मल नपाएको विषयमा पनि हामीले छलफल गर्नेछौं ।

अगामी चुनावमा गठबन्धन बनाएर जाने निश्चित नै गर्नुभएको छ । त्यसो भए कुन दलसँग लोसपाको गठबन्धन हुँदैछ त ?

–कुन दलसँग गर्ने अहिले केही तय भएको छैन । हामी अहिले छलफलकै क्रममा छौँ । अनौपचारिक रूपमा विभिन्न दलसँग छलफल भए पनि हालसम्म कुनै निष्कर्ष निस्केको छैन । बैठक जारी छ, हेरौँ बैठकले के निष्कर्ष निकाल्छ ।

जसपाले पटक पटक एकता एवं गठबन्धनका लागि प्रस्ताव गरिरहेको छ नि त्यसको बारेमा केही सोच्नु भएको छ ?

–जसपाले बाहिर बाहिर गरेको प्रस्ताव हामीले पनि सुनेका छौँ । हामीसमक्ष त्यस्तो कुनै औपचारिक प्रस्ताव आइसकेको छैन । औपचारिक प्रस्ताव आए मात्र त्यसमा छलफल गर्न सकिन्छ अथवा केही भन्न सकिन्छ । बाहिर कसले के बोल्यो, के भन्यो, त्यो कुरा हामीलाई कसरी थाह हुन्छ ? पहिला औपचारिक प्रस्ताव आओस् न अनि कुरा गरौँला ।

जसपाबाट औपचारिक रूपमै एकताका लागि प्रस्ताव आयो भने के गर्नुहुन्छ ?

–पहिला त प्रस्ताव आओस् न अनि त्यस बारेमा कुरा गरौँला । तर लोसपा एउटा कुरा के स्पष्ट पार्न चाहन्छ भने यसअघि मधेसवादी दलको बीचमा एकता गरेर प्राइटिकल गरिसक्यौ, मोर्चाबन्दी तथा गठबन्धन बनाएर पनि प्राइटिकल गरिसक्यौँ । सबै कुराको अनुभव लिइसकेका छौँ । त्यसैले अब मधेसवादी दलसँग फ्रेण्डली सम्बन्ध राखेर अगाडि बढ्न चाहेका छौँ । विगतमा पनि मधेसवादी दलहरूको बीचमा गठबन्धन हुँदा फाइदा भएको देखिएको थियो । सम्भव छ भने यसपटक पनि फ्रेण्डली सम्बन्ध बढाएर अगाडि बढौँ भन्ने लाइनमा लोसपा रहेको छ ।

फ्रेण्डली सम्बन्ध भनेको कस्तो सम्बन्ध ?

–फ्रेण्डली सम्बन्ध भनेको गठबन्धन जस्तै हो । जसमा एक अर्काको सहयोगमा अगाडि बढ्न पर्छ ।

जसपा विभाजनको अन्तिम बिन्दुमा पुगिसकेको छ अब तपाईंहरुको सम्बन्ध उपेन्द्र यादव पक्षसँग हुन्छ कि बाबुराम पक्षसँग हुन्छ ?

–हामी कसैको पक्ष वा विपक्षमा छैनौ । उहाँहरूको पार्टीमा अहिले के भइरहेको छ त्यो पनि थाह छैन । मधेस निकै सम्भावना भएको क्षेत्र हो तर आपसमा लडेर कमजोर भएको हो । मधेस केन्द्रित दलहरू एक आपसमा लडेर कमजोर भएको हो । यसमा अरू कसैको दोष छैन । अरू त चाहन्छन् नै कि यिनीहरूको बीचमा खटपट होस्, टुटफुट होस् र कमजोर होस् ताकि हामी त्यहाँ आफ्नो वर्चस्व कायम राखी रहौँ । मधेस आन्दोलनपछि मधेसवादी दलको अवस्था मधेसमा के थियो र अहिले के छ त्यहीबाट प्रस्ट हुन्छ । अहिले मधेसवादी दलहरूलाई राजमार्गभन्दा तल झार्दिएको छ । मधेसमै मधेसवादी दलहरू जिल्ला हुँदै गाउँगाउँमा सीमित हुन थालेको छ । यो मधेसवादी दलहरूको बीच आपसी मनमुटावले हो । मधेसवादी दलहरू आपसमा मिलेको भए यो अवस्था हुने थिएन । क्षेत्रीय पार्टीको पनि आफ्नै महत्व हुन्छ । त्यसको उदाहरण भारतको पश्चिम बंगाल, तमिलनाडुलाई हेर्न सकिन्छ । अहिले आम आदमी पार्टीको अवस्था पनि त्यस्तै छ । हाम्रो पार्टी पनि क्षेत्रीय पार्टी हो तर मधेसमै आफ्नो उपस्थिति बलियो देखाउन सकेको छैन । आपसमै लडेर कमजोर भएको छ । अहिले पनि केही विग्रेको छैन । सम्पूर्ण मधेसवादी दलहरू एक भयो भने अहिले पनि मधेसमा धेरै सम्भावना छ ।

बाबुराम भट्टराईले पनि एकताको लागि प्रस्ताव गरिएको पनि सुनिएको छ वास्तविकता के हो ?

–उहाँको प्रस्ताव पनि गठबन्धन बनाएर नै जाऊ भन्ने थियो । पहिलो प्रस्ताव त उहाँले पनि पाँच दलीय गठबन्धनमा सहभागी होऔँ नभए जसपा, एमाले, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टी मिलाएर छुट्टै गठबन्धन बनाऔँ भन्ने थियो । एकताका लागि उहाँले केही भन्नुभएन ।

तपाईंको प्रतिक्रिया के थियो त ?

–हेरौँ, छलफल गरौँ भनेको छु ।

पछिल्लो समय लोसपा र एमालेबीच गठबन्धन हुँदैछ भन्ने चर्चा छ नि यसमा के भन्नुहुन्छ ?

–कुराकानी भइरहेको छ । प्रगति केही छैन । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएर नै मसँग गठबन्धनको प्रस्ताव राख्नु भयो । मैले हो वा होइन केही भनेको छैन । छलफल गरौँ भनेको छु । त्यसपछि अरू केही कुरा अगाडि बढेको छैन ।

एमालेसँग गठबन्धनको सम्भावना कति छ त ?

–राजनीतिमा हरेक कुराको सम्भावना हुन्छ । यो हुन्छ त्यो हुँदैन भन्न सकिँदैन । हेरौँ सबै पक्षसँग कुराकानीहरू भइरहेको छ । पार्टीमा पनि छलफल चलिरहेको छ कहाँ गएर के कुरा मिल्छ, तपाईंहरुलाई जानकारी आइहाल्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप