शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जहाजमा उड्ने, महलमा बस्नेले पनि हिलोमा फलेको चामल र गहुँ नै खाने हो : अध्यक्ष ओली

शनिबार, १८ असार २०७९, १६ : ५५
शनिबार, १८ असार २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि उत्पादन बढाउने नीतिलाई अघि बढाउन जोड दिएका छन् । शनिवार काठमाडौँमा अखिल नेपाल किसान महासंघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले किसानसँग थोरै जमिन भए पनि धेरै फल्ने पद्धति अपनाएर अघि बढाउनुपर्नेमा जोड दिएका छन् । 

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने–‘सबैभन्दा कम प्रतिफल दिने क्षेत्र कृषि क्षेत्र नै हो । खानेकुरा जस्तो बस्तु उत्पादनको नाफा नोक्सानको हिसाब राख्नै हुँदैन । कृषि भनेको यस्तो पेसा हो जुन सामान्य व्यक्तिदेखि ठुला बढा व्यक्तिमा पनि समान महत्त्व छ । सानोमा मैले एउटा कविता पढेको थिएँ । ‘पैसा चपाइन्न र अन्न पानी, चाहिन्छ डोको सय थाप दानी’ एउटा डोको भन्ने कविता थियो । त्यसमा पैसा चपाइन्न र अन्न पानीका लागि कृषिमा लाग्नुपर्छ भनिएको थियो ।’ 

उनले कृषिको महत्त्व प्रकाश पार्दै भने–‘हामी हवाईजहाजमा हिँड्ने हो, हामी महलमा बस्ने हो, हामी हिलामा बस्ने हैनौँ जे भने पनि त्यही हिलोमै फलेको चामल नभई हुँदैन, त्यही हिलोमा फलेको गहुँ नभई हुँदैन । बाँच्नका लागि अन्न चाहिन्छ । यति महत्त्वपूर्ण कुराको हामीले उत्पादकत्व बढाएर लान सक्छौँ त्यो सोच्न आवश्यक छ । अर्को हामीले ल्याएको सुपरजोनको कन्सेप्ट जसले ठूलो परिणाममा एकै प्रकारका उत्पादनलाई बजारीकरण गर्न सकियोस् भन्ने हो ।’

उनले एक दुई केजी खुर्सानी उत्पादन बिक्री गर्न समस्या हुने तर सयौँ ट्रक उत्पादन गरे विश्व बजारमा बिक्री गर्न सकिने बताए । उनले जुम्लाको स्याउ बिक्री भएन भन्ने गुनासो हराएको भन्दै सडकका कारण बजारीकरणमा सहयोग पुगेको बताए । राम्रो स्याउ बजारमा बिक्री गर्न सकिने र केही बिग्रेकोलाई वाइन उत्पादनमा प्रयोग गर्न सकिने बताए । उनले कृषिलाई उद्योगसँग जोडेर लैजानुपर्नेमा जोड दिए । उनले जुनसुकै कृषि कर्मलाई ठूलो मात्रामा लगाउँदा धेरै प्रतिफल लिन सकिने बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप