शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल : रमेश लेखक

शेखर समूहले भागबण्डाको राजनीति गर्न खोजेको आरोप
शनिबार, १८ असार २०७९, १६ : ५०
शनिबार, १८ असार २०७९

नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको कुरा कामबाट नै प्रमाणित भएको बताएका हुन् । 

उनले जे उद्देश्यले सरकार गठन भएको हो अहिले सोहीअनुरूप काम भइरहेको जिकिर गरे । उनले वर्तमान गठबन्धनको मुख्य जिम्मेवारी भनेको संविधान रक्षा गर्नु रहेको स्मरण गर्दै अहिले सोहीअनुसार काम भइरहेको दाबी गरे ।लेखकले पार्टीको महाधिवेशन भएको ६ महिना बितिसक्दापनि विधान बनाउने, पदाधिकारी नियुक्त गर्ने र कार्यसमितिलाई पूर्णता दिने काम बाँकी रहेकोले अब छिट्टै ती काम पनि सम्पन्न गरिने विश्वास दिलाए ।  उनले सभापति देउवाले काम गर्न सक्नुभएन भन्ने कुरामा कुनै सत्यता नभएको जिकिर गरे । उनले भने,‘उहाँबाट सरकार र पार्टी दुवै मोर्चामा क्रियाशीलताका साथ काम भएका छन् । सरकार र पार्टीभित्र असफल भएको छ भन्ने कुरा होइन भन्ने आग्रह गर्न चाहन्छु ।’

उनले शेखर कोइराला समूहले पार्टी सभापतिबारे निकालेको निष्कर्षमा आफ्नो सहमति नभएको टिप्पणी गरे । उनले भने,‘पार्टीभित्र विभिन्न विषयमा छलफल हुने गर्छन् । विभिन्न कोणबाट साथीहरूले छलफल गर्नुहुन्छ । केही साथीहरूले सरकारले सफलतापूर्वक काम गर्न नसकेको, अनि पार्टीमा सभापतिले ठिक ढङ्गले काम गर्न नसकेको निष्कर्ष निकाल्नुभएको छ, त्यो निष्कर्ष पूर्ण रूपले ठिक छैन । पार्टी कमजोर र क्रियाशील नभएको भन्ने साथीहरूको जो धारणा छ, त्यससँग सहमत हुन सकिँदैन । सामान्य कमीकमजोरी सुधार गर्नुपर्छ ।’

उनले शेखर कोइराला समूहले भागबण्डाको राजनीति गर्न खोजेको कुरा मिडियामा आएको उल्लेख गर्दै सुरुमा कोइराला समूहले भागबण्डाको अन्त्यको आवाज उठाएको बताए । उनले भने,‘उहाँहरूले पार्टीको महाधिवेशनमा निर्वाचन लड्दा, भागबण्डाको राजनीतिक समाप्त हुन्छ भन्नुभएको थियो । अहिले अखबारमा सुनेको छु–४० प्रतिशतको भागबण्डा खोज्ने भनेर । छलफल र भेला गर्ने कुरा स्वाभाविक हो । उहाँहरूको निष्कर्ष र निर्क्यौलसँग म व्यक्तिगत रूपमा सहमत हुन सक्दिनँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप