शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘संसद् भवनमा च्याउ उम्रियो, प्रदेश सरकार डुङडुङ्ती गन्हायो’

शनिबार, १८ असार २०७९, १४ : २३
शनिबार, १८ असार २०७९

प्रदेश १ प्रदेशसभाको आजको बैठकको शून्य समय लिएर बोल्दै प्रदेशसभा सदस्य विन्दिया कार्कीले प्रदेशसभामा पानी परेका कारण छाता ओड्नुपर्ने अवस्था आएको बताएकी छिन् ।  ‘संसद भवनमा छाता ओड्नुपर्ने र च्याउ उम्रियो,’ कार्कीले भनिन्, ‘यो भवन कस्तो र कसरी बनायौँ भन्ने कुरातिर ध्यानदिनु आवश्यक छ, यसको जवाफ अघिल्लो सरकारले दिनुपर्छ ।’

प्रदेशसभामै बोल्दै सांसद उषाकला राईले प्रदेश सरकार भ्रष्टाचार र कमिसनले गन्हाउन थालेको आरोप लगाइन् । ‘प्रदेश सरकार बाहिर, यत्रतत्र, मिडियामा चारैतर्फ डुङडुङ्ती गनाउन थालेको आभास भइरहेको छ । पैसामा ध्यान गएपछि सबैकुरा बिग्रन्छ भन्छन् । सरकारका मन्त्रीहरुको ध्यान पैसामै गएर बिग्रदै गएको त होइन ? विचौलियाको त सँधै विगबिगी नै हुने भयो,’ उनले भनिन्, ‘कमिसन र भ्रष्टाचार देखादेखि हुन थाल्यो सरकारलाई लाजसरम छ कि छैन ? !’

उनले सरकारी पैसा पाँचथर र सोलुका निजी अस्पताललाई करोड करोड विनियोजन भएको भन्दै आपत्ती पनि जनाइन् । उनले अघिल्लो सरकारले विशेषज्ञ डाक्टरहरु पहाडी र हिमाली भेगमा जान नचाहने भएकोले हिमाली भेगका लागि ३ सय प्रतिशत, पहाडका लागि २ सय प्रतिशत र तराई क्षेत्रका लागि २ सय प्रतिशतले तलब भत्ता बढाउने निर्णय कार्यान्वयन गर्न माग गरिन् । ‘त्यो फायल क्याबिनेटमा गएर अल्झिएको मैले बुझेको छु । त्यो विषय तत्काल कार्यान्वयन गर्नुपर्यो,’ उनले भनिन् । 

प्रदेश सांसद कुलप्रसाद साम्बाले विषयगत समितिहरुमध्ये लेखा समिति प्रतिपक्षी दलको हुनुपर्ने बताउँदै अहिले सत्तापक्षकै रहेको भन्दै सच्याउनुपर्ने बताए । ‘संसदीय प्रणालीमा लेखा समिति कसको हुन्छ ? हामी सही ठाउँमा छौं कि छैनौं ? यो प्रदेशसभाको पहिलो कार्यकाल हो यसको इतिहास रहन्छ । हामी नै सिस्टममा छैनौं भने पछिल्लो पुस्ताले के सिक्ने ?,’ उनले भने । 

प्रदेश सांसद बसन्त बानियाँले प्रदेशको नामाकरण गर्न नसकको भन्दै नामाकरण गर्नुपर्नेमा जोड दिए । ‘५ वर्षमा नामाकरण गर्न नसकेपछि जनताले प्रदेशले काम गर्छ भनेर कसरी विश्वास गर्ने ?, यो अधिवेशन अन्त्यतिर छौं । यही अधिवेशनबाट प्रदेशको नामाकरण गरियोस् भन्न चाहन्छु,’ उनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप