बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अल्मुताइरी काममा फर्कन चाहन्छन्, हामी पुराना कुरा बिर्सिन चाहन्छौँ : महासचिव राई

शनिबार, १८ असार २०७९, १२ : ५६
शनिबार, १८ असार २०७९

नेपाली फुटबलले पंकजविक्रम नेम्बाङको नेतृत्वमा नयाँ कार्यसमिति असारको पहिलो साता पाएको छ । चुनावमा यो नेतृत्वको एउटा प्रमुख मुद्दा प्रशिक्षक–खेलाडीको विवाद समाधान गरी खेलाडीलाई न्याय दिनु थियो । त्यसैले, नयाँ कार्यसमितिको अन्य निर्णयभन्दा प्रशिक्षकको विषयमा कस्तो निर्णय आउँछ भन्ने सबैको चासोको विषय बनेको थियो । नयाँ कार्यसमितिले प्रशिक्षकको विषयमा पनि एक खालको निर्णय बनाइ सकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नयाँ कार्यसमितिसँग काम गर्ने चाहना देखाइरहेको अवस्थमा एन्फाले पनि उनलाई पुनः काममा फर्काउने चाहना देखाएको छ । अल्मुताइरीलाई प्रशिक्षक पदबाट हटाउनसक्ने अवस्थामा एन्फा छैन । किनकि पारिश्रमिक पनि व्यवस्थापन गर्ने गरी कतार फुटबलले प्रशिक्षक अल्मुताइरीलाई पठाएको हो । 

अहिले विश्व फुटबलको नजर नै कतारमाथि जोडिएको छ । फिफा विश्वकप २०२२ को आयोजक कतार विश्व फुटबलकै यो समयमा बलियो राष्ट्र हो । यस्तो अवस्थामा नेपाली फुटबलले कतारलाई इन्कार गर्न सक्ने अवस्थामा छैन । न त नेपालका लागि कतारका राजदूतसँग गएर तपाईंहरुले पठाएको प्रशिक्षक फिर्ता लिनुस् भन्न सक्ने अवस्थामा छ । कतार फुटबलले पनि नेपाली फुटबल विकासका लागि करोडौँको लगानी गरेको छ । यस्तोमा कतार फुटबलले दिएको प्रशिक्षक कसरी फिर्ता पठाउने ?

त्यसैले एन्फाले प्रशिक्षकको विषयमा प्रतिवेदनलाई किनारा लगाउँदै खेलाडीलाई स–सम्मान प्रशिक्षणमा बोलाउने र प्रशिक्षकलाई खेलाडीसँग नम्र व्यवहार गराउने अवस्थामा छ । एन्फाका महासचिव किरण राईका अनुसार प्रशिक्षकले आफ्नो आगामी कार्यतालिका बुझाइ सकेका छन् । प्रशिक्षक तीन महिनाको बिदामा भएको र उनी अस्वस्थ पनि भएकाले यो समयमा अन्य कुरा अघि नबढेको उनले बताए । 

‘प्रशिक्षक अल्मुताइरी तीन महिना बिदामा छन् । हामी पुरानो विवादलाई भुल्न चाहन्छौँ । सकारात्मक कुरालाई आत्मसाथ गर्दै नकारात्मक कुरालाई बिर्सिन चाहन्छौँ । प्रतिवेदनको कुरामा पनि केही पुनर्विचार गर्नु पर्नेछ,’ राईले रातोपाटीसँगको कुराकानीमा भने । 

तर, एन्फाले यो विषयमा भने गलत निर्णय नै गरेको छ । यदि अल्मुताइरी प्रशिक्षकका रूपमा एन्फामा फर्केमा स–सम्मान फर्कने भनेका दश जना खेलाडीलाई क्याम्पमा बोलाउने या नबोलाउने भन्ने प्रशिक्षककै हातमा छ । खेलाडी छनोटमा पारदर्शिता देखाउने जिकिर गर्ने एन्फालाई यसले असर पार्ने देखिन्छ । यता प्रशिक्षकले गल्ती स्वीकार नगर्दासम्म खेलाडीहरू क्याम्पमा आउने अवस्था अहिले छैन । एन्फा अध्यक्षसँगै केही पदाधिकारीहरूले बुधबार कतारका राजदूतसँग भेट गरे । त्यसमा पनि प्रशिक्षकको विषयमा कुरा भएको एन्फाका एक पदाधिकारीले बताए । 

यता एन्फाले पहिलो बैठकबाट अर्काे आलोचनात्मक निर्णय गरेको छ । तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाको पालामा विदेश विभाग प्रमुख पद पाएका नविन पाँडेलाई नयाँ अध्यक्ष पंकज विक्रम नेम्वाङले समर्थन जनाएका थिए । एन्फा निर्वाचनमा नेम्वाङलाई नै समर्थन गरेर चुनावमा लागेका पाँडेलाई एन्फाको पहिलो बैठकबाट विदेश विभाग प्रमुखमा मनोनित गरिएको छ । एन्फाको विधान मिचेर पाँडेलाई नयाँ नेतृत्वले विदेश विभाग प्रमुख बनाएको विषयमा चर्काे आलोचना भइरहे पनि एन्फाले आधिकारिक धारणा राख्दै विधान नमिचेको बताएको थियो । एन्फा विधानको धारा २४ मा निर्वाचित वा मनोनित हुने व्यक्तिको योग्यताको बारेमा उल्लेख छ, ‘धारा २४ को उपधारा ३ को ‘क’मा ‘गैरनेपाली नागरिक एन्फा वा प्रदेश फुटबल संघ वा जिल्ला फुटबल संघमा निर्वाचित वा मनोनित हुन सक्ने छैनन् ।’ 

यसको विषयमा एन्फा महासचिव राईले एन्फाको विदेश विभाग हेर्न विदेशी नागरिकको खाँचो पनि रहने भएकाले मनोनित गरेको बताउँछन् । ‘विधानमा विदेशी व्यक्तिलाई मनोनयन गर्न मिल्दैन भनिएको छैन । त्यसैले नै हामीले पत्र लेखेका हौं । एन्फाको सबै काम नेपालमा मात्र नहुने भएकाले पाँडेलाई भोलेन्टियरको रूपमा राखिएको हो । उहाँले पारिश्रमिक पनि लिनुहुन्न,’ उनले भने । 

राईले साफको उपाध्यक्षका लागि पनि आफूहरुले सिफारिस गर्ने व्यवस्थाका लागि छलफल चलिरहेको बताए । साफको विधानअनुसार चलेमा आफूले कुरा राख्ने र पुरानो व्यक्तिलाई हटाउन मिल्ने भए हटाउन लगाउने बताए । यसअघि एन्फाले साफको उपाध्यक्षमा तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पालाई मनोनयन गरेको थियो । 

‘साफको विधानले दुई महिना पहिला नै मनोनित गर्ने व्यवस्था गरेको छ । मैले साफसँग छलफल गर्नेछु, हटाउन सक्ने भए हटाउन लगाउने छु,’ राईले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप