बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संघीय संसद्‍मा ६४ विधेयक अलपत्र

शनिबार, १८ असार २०७९, ११ : ५६
शनिबार, १८ असार २०७९

विभिन्न राजनीतिक उतार चढावका घटना, सरकार तथा संसद् अपेक्षित ढंगले सक्रिय हुन नसक्दा कानुन निर्माण प्रक्रिया सुस्त भएको छ । यतिबेला प्रतिनिधि सभाको ११ औँ अधिवेशन र राष्ट्रिय सभाको १२ औँ अधिवेशन चलिरहँदा प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरी हाल ६४ विधेयक विचाराधीन अवस्थामा रहेको छ । 

प्रतिनिधि सभामा ५१ विधेयक विचाराधीन अवस्थामा छ भने राष्ट्रिय सभामा १६ वटा विधेयक रहेको छ  । यो अवधिमा २ विधेयक फिर्ता भएका छन् भने पारित भएर प्रमाणीकरण हुन बाँकी ३ विधेयक रहेका छन् । 

यस्तो छ संघीय संसद्‍मा विधेयक, अध्यादेश र सन्धि सम्झौता सम्बन्धी विवरण 

प्रतिनिधि सभा  र राष्ट्रिय सभा प्रारम्भ भए पश्चात् प्रतिनिधि सभातर्फ ९९ र राष्ट्रिय सभातर्फ ५० गरी संघीय संसद्‍मा १ सय ४९ विधेयक दर्ता भएका छन् । प्रतिनिधि सभातर्फ ९४ सरकारी र ५ गैरसरकारी विधेयक दर्ता भएको छ । राष्ट्रिय सभातर्फ ४९ सरकारी र १ गैरसरकारी विधेयक दर्ता भएको छ । 

दर्ता भएका १ सय ४९ विधेयक मध्ये प्रतिनिधि सभामा उत्पन्न भएका ५९  र राष्ट्रिय सभामा उत्पन्न भएका १६ गरी जम्मा ७५ विधेयक मात्र प्रमाणीकरण भएका छन् । 

यस्तै प्रतिनिधि सभामा उत्पन्न भएका ४ र राष्ट्रिय सभामा उत्पन्न भएका ६ गरी १० विधेयक फिर्ता भएका छन् । फिर्ता विधेयकहरुमध्ये राष्ट्रिय सभामा उत्पन्न भएको रेल्वे विधेयक प्रतिनिधि सभामा विचाराधीन भएको बेला फिर्ता भएको थियो ।  

संघीय संसद्‍मा ६४ विधेयक विचाराधीन रहेका छन् । प्रतिनिधि सभामा कुल दर्ता ९९ विधेयक दर्ता मध्ये ५९ वटा प्रमाणीकरण भएको छ । यस्तै ४ विधेयक फिर्ता र राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त १२ गरी ४८ विधेयक विचाराधीन अवस्थामा रहेको छ । 

यस्तै राष्ट्रिय सभामा कूल दर्ता ५० मध्ये १६ वटा प्रमाणीकरण, ६ विधेयक फिर्ता भएको थियो भने १२ विधेयक प्रतिनिधि सभामा सन्देश सहित पठाइएको थियो । १६ विधेयक राष्ट्रिय सभामा विचाराधीन रहेको छ । 

संसद् सुरु भएयता जारी भए ४९ अध्यादेश : १५ सन्धि सम्झौता दर्ता 

संघीय संसद् सचिवालयको विवरण अनुसार संसद् प्रारम्भ भएयता ४९ अध्यादेश जारी भएका छन् । जारी भएका अध्यादेशमध्ये १९ अध्यादेशहरू प्रतिनिधि सभामा पेस वा स्वीकृत नभई ६० दिन गुजारेर स्वतः निष्क्रिय भए ।  संघीय संसद् सचिवालयको विवरण अनुसार ११ वटा विधेयकको कार्यवाही समाप्त भएको, २ वटा खारेज भएको, ३ वटा बजेट बजेट सम्बन्धी अध्यादेशहरू प्रतिनिधि सभाले २०७८ भदौ २५ मा स्वीकार गरेको थियो । 

६ वटा अध्यादेश २०७८ मङ्सिर १५ मा जारी भएका र २०७८ मङ्सिर २८ मा दुवै सभाको बैठकमा पेस भई प्रतिनिधि सभाबाट २०७८ पुस ६ मा २ वटा र बाँकी ४ वटा २०७८ पुस ७ गते प्रतिनिधि सभाबाट स्वीकृत भएका थिए । 

यस्तै संघीय संसद् प्रारम्भ भएपछि १५ वटा सन्धि सम्झौता दर्ता भएका छन् । ७ वटाको कारबाही समाप्त भएको छ भने ८ वटा संसद्‍मा पेस नै भएको छैन । 

प्रतिनिधि सभामा पास हुने तयारी अवस्थामा पुगेर पनि अघि बढेनन् ८ विधेयक 

प्रतिनिधि सभामा समितिका प्रतिवेदन पेस भएका विधेयकहरूको सङ्ख्या ८ रहेको छ । संसदीय समितिबाट पास भएर प्रतिनिधि सभामा प्रतिवेदन बुझाइएका विधेयकहरूमा ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७५ रहेको छ । यो विधेयक प्रतिनिधि सभामा २०७६ माघमा पेस भएको थियो । 

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ को प्रतिवेदन २०७७ जेठ १४ गते बुझाइएको थियो । 

खानेपानी तथा सरसफाइ विधेयक २०७६ को प्रतिवेदन २०७७ असार ४ गते प्रतिनिधि सभामा पेस भएको थियो भने नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ २०७७ असार ९ गते पेस भएको थियो । 

यस्तै नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ को प्रतिवेदन २०७७ चैत १८ गते पेस भएको थियो । कारागार विधेयक २०७६ को प्रतिवेदन २०७८ साउन ८ गते, सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ को प्रतिवेदन २०७९ असार ३ गते र बिमा विधेयक २०७५ को प्रतिवेदन पनि २०७९ असार ३ गते पेस भएको थियो । 

अघि बढ्न सकेनन् प्रतिनिधि सभामा दर्ता भएका ५ गैरसरकारी विधेयक 

अघिल्लो साता प्रतिनिधि बैठकको विशेष समयमा बोल्दै एमाले सांसद शेरबहादुर तामाङले आफूले दर्ता गरेको गैरसरकारी विधेयक ८ सय ९६ दिन पर्खदा पनि अघि नबढेको भन्दै गुनासो गरेका थिए । उनले प्रतिनिधि सभामा सबैभन्दा पहिला गाँजा खेती (व्यवस्थापन) विधेयक २०७६ लाई २०७६ साल फागुन १९ गते दर्ता गरेका थिए । जसको अझैसम्म पनि कुनै प्रक्रिया अघि बढेको छैन । 

यस्तै सांसद लक्ष्मणलाल कर्णले २०७७ साल जेठ १९ गते दर्ता गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७, सांसद अमरेशकुमार सिंह लगायतका सांसदले दर्ता गराएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७, सांसद दुर्गा पौडेलले २०७७ जेठ २० गते दर्ता गराएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ र सांसद प्रेम सुवालले २०७७ जेठ २३ गते दर्ता गराएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पनि अघि बढ्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप