मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
पुस्तक समीक्षा

कवितामा आकाश: साहित्य, चिन्तन र दर्शनको आकाश

शनिबार, १८ असार २०७९, ०९ : ४७
शनिबार, १८ असार २०७९

काठमाडौँ ।  भौतिक शास्त्रको दृष्टिले आकाशको परिभाषा दिँदा वायुमण्डलको क्षेत्र वा पृथ्वीको बाहिरी भाग भनिन्छ भने आध्यात्मिक परिभाषा दिँदा सूर्य, चन्द्र, ग्रह, तारा, नक्षत्र आदि रहने खगोलीय क्षेत्र भने हुन्छ । भौतिकवादी र आध्यत्मवादीले आकाशलाई हेर्ने दृष्टिकोण नै फरक छ । कोही बादलको घर मान्छन् भने कोही देवताको बासस्थल । मानिसको शरीरमा रहेका पञ्चतत्त्वमध्ये आकाश पनि एक पर्छ र अन्यमा पृथ्वी (माटो), जल (पानी), तेज (ज्योति) र वायु (हावा) । अन्य तत्व पनि आकाशमै निर्भर हुन्छन् । आकाश तत्त्वको सूक्ष्म विषय नै शब्द हो र शब्दले नै आकाश तत्त्वबारे जानकारी दिन्छ ।

सूर्यको प्रकाशमा धुलाका कणहरूले भरिएको आकाश नीलो र रात ताराहरूले भरिएको आकाश कालो रङमा देखिन्छ । साहित्यकारहरूले पनि आकाशको विशालतालाई आ–आफ्ना साहित्यमा ल्याएका छन्— गीत, गजल, कविता, निबन्ध आदि विधामा । कवि आर. मानन्धरको गत वर्ष फागुनमा प्रकाशित ‘कवितामा आकाश’ (मञ्जरी प्रकाशन, २०७८) काव्यकृतिले आकाशलाई विविध रूपबाट हेरेको छ र पाठकलाई बेग्लै खालको स्वाद दिन्छ । छोटोछोटा, हाइकुजस्ता कवितामा रचनाकारले आफ्नो विचारको संसार नै अटाउन खोज्नु भएको छ । कवितालाई आकाश, चिन्तन र दर्शन गरी तीन भागमा विभाजन गरी कवि–साहित्यकार मानन्धरले काव्यप्रेमी पाठकलाई सजिलोसँग रसास्वादन गर्न सकिने व्यञ्जन दिनुभएको छ ।

‘कवितामा आकाश’को पहिला खण्डमा आकाशलाई कविले विभिन्न विम्ब र उपमा दिएका छन् । कविले आकाशलाई कतै आँखा, कतै सिरानी, कतै व्याप्ति त कतै मुक्ति, कतै निर्मलता, शून्यता, स्वच्छता आदि अनेकौँ विम्ब वा प्रतीक दिनुभएको छ । 

आकाश सपाट छ 

धरती छियाछिया

किनभने यहाँ मानिस छ 

यस कविताले आकाशको स्वच्छता जनाएको छ ।

आकाश !

कति मुक्त छौ तिमी !

कि हेर्दै म 

आफैँमा पाउँछु मुक्ति 

कवितामा आकाशको मुक्त रूपको चर्चा गरिएको छ । कविले आकाशको शून्यतालाई रिक्तता नमानी बरु सम्पूर्ण विश्वब्रह्माण्डकै आत्मा मान्नुभएको छ ।

आकाशको शून्यता

हैन त्यो फगत रिक्तता

बरु हो सम्पूर्ण विश्वब्रम्हाण्डकै—

आत्मा !

आकाशको शून्यतामा नै कवि अनन्त र असीमित पूर्णता पाउनुहुन्छ र बाँच्नुको सारांश चुम्नलाई सबैलाई आकाश बन्न सल्लाह दिनुहुन्छ । मुक्त स्वरुपमा रहन चाहनेलाई आकाश जस्तै सर्लक्क मुक्त हुन पनि उहाँले आग्रह गर्नु भएको छ । 

मुक्त हुनु त

आकाशझैं हुनु हो

सर्लक्क आफैंबाट मुक्त

यसरी उहाँ आकाशभरि नै कवितै कविता पाउनुहुन्छ र आकाशलाई कविताको रूप दिन चाहनुहुन्छ ।

सङ्ग्रहको ‘चिन्तन’ भाग पनि सशक्त छ, जहाँ मानिसका थुपै्र सङ्कीर्णताप्रति कविले व्यङ्ग्य गर्नुभएको छ । जन्मँदा देश, जाति र धर्म थाहा नपाएको बालक पछि तिनमा विभाजित भएपछि दुःख र पश्चात्ताप गर्छ । जन्मँदा निर्वस्त्र मान्छे पछि आफ्नो पापको पोको छोप्दै हिँड्नुपरेकामा कवि असन्तुष्टि व्यक्त गर्नुहुन्छ र बरु मनलाई अश्लील संज्ञा दिनुहुन्छ । अनि उहाँ बालकको नग्नताका अघि ईश्वरको पवित्रता पनि फिका भएको ठोकुवा गर्न पुग्नुहुन्छ ।

तेस्रो भाग ‘दर्शन’ रहेको छ । यसमा पनि पाँच वर्ष बौद्ध श्रमण रहिसक्नुभएका मानन्धरका बौद्धदर्शन नजिकका थुपै्र कविता छन् । उहाँ यसमा शान्त निद्राका साथ पाठकको निर्वाण प्राप्तिको कामना गर्नुहुन्छ । कसैप्रति प्रेमभाव व्यक्त हुनु नै सुन्दर कविता ठान्ने कवि सर्वोत्कृष्ट कविता बोधगम्य नहुन पनि सक्ने विचार राख्नुहुन्छ । कुनै कुनै कविता आकाशभन्दा गहिरा पनि भेट्न सकिने मान्यता उहाँ राख्नुहुन्छ ।

कविता त आकाशमै फल्ने हो

तर कुनै कुनै कविता

आकाशभन्दा पनि 

गहिरिँदो रहेछ !

अचेल केही कवि स्थूल कवितामै रमाइरहेका छन् भने केही सूक्ष्मतातिर । कोही स्थूलताबाट सूक्ष्मतातिर लागेका छन् । स्वरूपका दृष्टिले पनि सूक्ष्म कविताले पाठकलाई नयाँ ज्ञानतिर डोहो¥याउँछन् र तिनलाई पनि चिन्तन मनन गर्न वा दर्शनको खोजीमा लाग्न प्रेरणा दिन्छन् । साहित्यकार मानन्धर पनि सूक्ष्म कवि हुनुहुन्छ । उहाँका कविता बौद्धदर्शनका पाठकले त सजिलै बुझ्न सक्छन् । कतिपय कविता धुस्वाँ सायमिका शैलीका पनि छन्, जुन विषयमा पनि विरोधाभास देख्ने । 

एकै कविता सङ्ग्रहमा जीवन, मृत्यु, निर्वाण, मुक्ति आदिका अनेक परिभाषा दिएर कविले सङ्ग्रहबाट पाठकलाई बेग्लै झङ्कार दिन सक्नु भएको छ । समसामयिक घटनामा आधारित कविता मात्रले सबै पाठकलाई अब सन्तुष्टि दिन सक्दैन । मानन्धरका जस्ता चिन्तन र दर्शनसम्बन्धि कविता पनि बारम्बार लेखिनुपर्छ । केही कवितामा विषय र भाव दोहोरिएका जस्ता लाग्छन् । कुनै कविता गद्य रचना हो कि भन्ने भान पनि पर्छ । अनि कतै पढिसके जस्ता लाग्ने कविता पनि भेटिन्छन् । तथापि निकै कम समयमै अध्ययन गर्न सकिने यी कविताले पाठकलाई पनि कवि बनाउन सक्ने प्रेरणा दिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप