बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

कथा : परदेशी जिन्दगी

शनिबार, १८ असार २०७९, ०९ : ३४
शनिबार, १८ असार २०७९

टिनिनिनी टिनिनिनी फोनको घण्टी बज्छ । उ हतार हतार फोन उठाउँछ । उताबाट श्रीमतीको चर्को आवाज आउँछ, ‘हैन के गर्नु भाको तपाईंले ? ६÷६ महिना भैसक्यो, पैसा पनि पठाउनु हुन्न । मैले घर व्यवहार कसरी चलाउने ? छोराको फिस पनि बुझाको छैन । चाडपर्व आइसक्यो, अहिलेसम्म एक जोर गतिलो कपडा किनेको छैन । यस्तै हो भने म त बस्दिन तपाईंको घरमा, माइत जान्छु उतै बस्छु । मैले भन्दिया छु है, खुरुक्क पैसा पठाउनु ।’

श्रीमतीको लामो लेक्चरले उ अवाक हुन्छ, जवाफ दिन सक्दैन । 

मात्र यति भन्छ, ‘न आत्तेउ न, तलब पाको छैन के । कम्पनीले तलब दियो भने पठाइहाल्छु नि । बरु अहिलेलाई कतैबाट ब्याजमै भए नि पैसा निकालेर काम चलाउँदै गर न, पछि तिरौला नि ।’

‘ब्याजमा भए नि पैसा निकाल, भन्न त सजिलो छ नि । पहिलाकै तेत्रो रिन छ, ब्याजको स्याज भएको कति भइ सक्यो, तिर्‍या छैन । म अरू कुरा जान्दिन, जसरी भए नि पैसा पठाइदिनु । नत्र म बस्दिन । ल अहिले फोन राखेँ । छोरो आयो स्कुलबाट,’ यति भन्दै श्रीमतीले फोन काट्छिन् ।

 निन्याउरो मुहार बनाउँदै उ कोठाभित्र छिर्छ । बिदाको दिन भएकोले भित्र उसका साथीहरू तास खेलिरहेका थिए । 

‘ए कान्छा आइज बस, एकजना पुग्या छैन, म्यारिज खेलौं,’ पाल्पाको श्याम दाइले बोलाउँछन् ।

‘हैन म त खेल्दिनँ, तपाईंहरु नै खेल्नुस है, म त सुत्छु ।’

उसले यति भन्न नभ्याउँदै अशोक बोलिहाल्यो, ‘के मुला सुत्न नपा जस्तो गर्छस् । ३ महिनादेखि सुति त राछ्स । आइज खुरुक्क खेल न । साथी नपुगेर पो तँलाई बोलाको त ।’

 मन नलागी नलागी उ पनि बस्यो म्यारिज खेल्न ।

  कुवेतको सोइबास्थित  कम्पनीको  क्याम्पमा  करिब ३ सय जना कामदारहरू ३ महिनादेखि कोठामै छन् । उनीहरुलाई न त काम दिइएको थियो, न तलब नै । तलबको माग गरेर धेरै पल्ट आन्दोलन भए । हरेक महिना काम बन्द गरेर आन्दोलन नगरेसम्म तलब आउँदैनथ्यो । तर ३ महिना यता कम्पनीले काममा नि पठाएन, तलब नि दिएको छैन । यिनै कामदारमध्यको उ पनि एक हो । कोठामा दस जना बस्छन्, पाँच  जना भारतीय र पाँच जना नेपाली । काम नभएपछि तास खेलेर समय बिताउँछन् उनीहरु ।

 साँझ बिस्तरामा निदाउने प्रयास गर्छ । अँह पटक्कै निदाउन सक्दैन उ । कानमा श्रीमतीको आवाज गुन्जिन्छ, ‘जसरी नि पैसा पठाउनु, नत्र बस्दिन तिम्रो घरमा ।’

श्रीमतीको भनाइले मन भक्कानिएर आउँछ । उसलाई आफ्नो भाग्य र जिन्दगी देखेर बिरक्त लाग्छ । कस्तो सोचेर आएको थियो उ, अहिले कुन परिवन्दमा परेको छ । पैसा कमाउला, रिन तिरौला अनि सानो पाखोबारी किनौला । श्रीमती, छोरा, आमा बुवा सबैलाई सुखसँग राख्ने, मीठो खुवाउने, राम्रो कपडा किनिदिने धेरै सोचेर आएको थियो उ प्रवासमा । विडम्वना आज उसको जिन्दगी अँध्यारो भएको छ । 

बिरामी हुँदा उपचार गर्ने खल्तीमा पैसा समेत छैन । नुहाउने साबुन समेत किन्ने पैसा नभएर उ त्यतिकै नुहाउँछ । विदेशमा के के न हुन्छ भनेर आइयो, आज घरको न घाटको जस्तै भइयो । उ मनमनै धिक्कार्छ आफ्नो कुरूप जिन्दगीलाई ।

सुरुमा आएको छ महिना त उसले खुरुखुरु पैसा पठाएकै हो । अब कम्पनीले नै तलब नदिएपछि के गरोस् बिचरा । आफै त अभावमा थिचिएर रुन मात्र सकेको छैन, कहाँबाट घरमा पैसा पठाउनु ? उसका मनभरि अनेक थरी कुराहरू खेलिरहन्छन् । पैसा भन्ने कुरा ठुलै रहेछ गाँठे, यो भएन भने त आफ्नाहरूको पनि बोली र व्यवहार नै फरक हुँदोरहेछ । दिउँसो श्रीमतीका कुरा मुटुमा खिल बिझेझैँ बिझाइरहे रातभर उसलाई । बिहान पख कतिबेला निदायो पत्तो भएन  ।

बिहान बिउँझिदा कोठामा कोही थिएनन्, कहाँ गएछन् सबै ? यस्तो त कहिल्यै हुँदैनथ्यो, प्रायः सबै कोठामै हुन्थे । के भएछ आज, उसको मनमा अचम्मको भाव पोखियो । उ पनि बाहिरियो तौलिया बोकेर ।

गाउँजस्तै लाग्ने टिनका घरहरु क्याम्प बाहिर बालुवा मात्रै देखिए पनि भित्र पक्की बाटो घेरिएको पर्खाल थियो । बाथरुम नजिकै के पुगेको थियो, धेरै हल्लाखल्ला सुनेर उ रोकियो । के भएछ भनेर यताउति हेर्‍यो ।  दाहिनेतिर रुम नम्बर २२७ मा धेरै मान्छेहरू जम्मा भएका थिए, उतै लाग्यो । 

त्यहाँ पुगेर बुझ्दा त  दलबहादुर दाइले आत्महत्याको प्रयास गरेका रहेछन् । धन्न साथीले देखेर रोकेछन् । उ सँगै आएका हुन् दलबहादुर । रुकुमको विकट गाउँका उनी पनि रङ्गिन सपना बोकेर आएका थिए । छ महिनासम्म पैसा पठाउन नसक्दा घरमा श्रीमती अर्कैसँग पोइल गएदेखि सधैँ उदास निराश देखिन्थे । 

हिजो भरखर त दलबहादुर दाइले साथमा बसेर खुब दुःखेसो पोखेका थिए । ‘हेर कान्छा, म जस्तो अभागी कोही छैन यो संसारमा । सानैमा बुबाले छोडेर जानु भो, धेरै दुःखमा हुर्किएँ । अब त केही सुख होला भनेर कुवेत आएँ, झन् मेरो त सर्वस्व नै लुटियो । कमाएको जे जति थियो, सबै नकच्चरीले साथमा लिएर गैछ ।’ उनले अगाडि भनेका थिए, ‘आमा दिनहुँ रुँदै फोन गर्नुहुन्छ,  छोरा छिटो घर आइज । घर लथालिङ्ग छ, सबैतिर रिन मात्रै लगाएर गई । नाति आमा आमा भनेर रुँदा मन थाम्नै सक्दिन । आएर घर सम्हाल बाबु ।’ 

उनले आफूसँग अलिकति पनि पैसा नभएको, कम्पनीले वास्तै नगरेको, घर जानलाई साथीहरुसँग रकमको लागि बिन्ती बिसाएको तर कसैले नसुनेको दुःखेसो पोखेका थिए । पीडा पोख्दा उनका आँखाहरु पुरै रसाएका थिए । उसले सम्झाउँदै भनेको थियो,  ‘हरेस नखानुस् दाइ, सबै ठिक हुन्छ । भगवान्माथि भरोसा राख्नुस्, नआत्तिनुस्, हामी सबैको पीडा उस्तै छ ।’ उसले दलबहादुर दाइलाई त सम्झाएको थियो तर उसलाई कसले पो सम्झाइ देओस् ।

 जिन्दगीदेखि हरेस खाएर दलबहादुर दाइले आत्महत्याको प्रयास गरेका थिए । उसले श्रीमतीका एक एक शब्द सम्झियो अनि झसङ्ग भयो । कतै आफ्नी श्रीमतीले पनि त्यस्तै गर्ने त होइन ? फेरि आफैलाई सम्झायो, के त्यस्तो गर्ली र ? मुखले जे जस्तो बोले नि धेरै माया गर्छे मलाई । हैट, के भाको हो मलाई, के के पो सोच्न पुगेछु ।

भाग्य, नियति र समयको बाघपन्जामा थिचिएको उसको जिन्दगीको उज्यालो कहिले देखा पर्ने हो, थाहा छैन । कम्पनीले कहिले घर पठाउने हो, निश्चित छैन । यसरी उ चुपचाप जिन्दगीको कहर झेलिरहेछ । 

भोलिपल्ट एकाबिहानै फोनको घण्टी बज्छ, फोन उठाउने आँट आउँदैन उसमा । घरबाट आएको फोन, फेरि श्रीमतीको मुटु बिझाउने कुरा । उ सुन्न सक्ने अवस्थामा थिएन ।  मन कठोर बनाएर मोबाइल स्विच अफ गर्‍यो ।

त्यतिले पनि चित्त बुझेन उसलाई, सिम निकालेर टुक्रा टुक्रा बनाएर भाँचिदियो । अनि, अनायास मुस्कुरायो । मानौ पीरको सागरलाई रोकिदियो उसले  । सम्पर्कबिहीन भइदियो घरबाट, श्रीमतीबाट, आफन्त, साथीभाइ सबै सबैबाट । मन हल्का भएको अनुभूति गर्‍यो । अब कुनै दबाब थिएन । थियो त केवल अभाव थियो । यही अभावको चुलेसीले छाती रेटिरहे पनि आज उ मस्त निदाएको छ । भोलि त के हुने हो, कसलाई के थाहा ?

बर्दिया,  हालः साउदी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप