कविता : पलपल मर्दै छ, देशभित्रै एउटा देश
साउदीको जेलमा,
कैदी छ एउटा देश
मृत्युदण्ड बोकेको डिजिटल अक्षर
मानौँ अक्षर होइन ‘जिलेटिन’ हो
कान छेड्दै बिष्फोट भो विवश छातीमा,
पलपल मर्दै छ, देशभित्रै एउटा देश ।
तैपनि,
कफिनभित्र देश फर्काउन सकेकोमा
उपलब्धिले गदगद छ सरकार ।
बर्षन्छ झरी, उर्लन्छ बाढी
भयभित छन् झुप्रा र छाप्राहरू
पहिरो खस्दै छ,
चट्टान चोइटिएर पहाडतिर
निस्सासिन्छ तराई,
आँसुको दहमा
डुबाउँदै आफ्नो सर्वस्व
आफ्नै ‘मुटु’ आफ्नै हातले
राखेर बाढीमा भन्नुपर्ने,
‘बग्दै बग्दै जाऊ’
हाय, जीवनको क्रुर विवशता ।
तर,
सरकार कर असुल्नै पर्छ भन्छ
मानौँ ऊ बिर्तावाल साहू हो
नेता कार चढ्नै पर्छ भन्छ
मानौँ उसको जन्मसिद्ध अधिकार हो
सायद आस्था, विचार र सिद्धान्तको
पहिरो गइसकेछ राजधानीतिर ।
परचक्रीको खेलले
कोशीको झोकमा डुब्दैछ
पूर्वतिर देश ।
दुष्टको झेलले
लुटिएको अस्मिता, त्रसित जिन्दगी
शोकमा डुबिरहेछ
पश्चिमतिर देश ।
तैपनि,
कथाको महाराज झंै,
सरकार
नयाँ परिधान पहिरिएको स्वाङ पार्छ
सर्वाङ्ग ह्वाङ्गै
शान्ति र समृद्धिको बेसुरा गीत गाइरहन्छ
फटहाहरूको बुइँ चढेर
बुट बजार्दै निर्दोष छातीहरुमा
नित्य गाईजात्रा देखाइ रहन्छ
समाजवादको पूर्वाभ्यासले
थलिएको छ अचेल मेरो देश ।
मानपुर, दाङ