सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

‘मलाई बाबाको माया कति लाग्छ है...’

शनिबार, १८ असार २०७९, ०७ : २९
शनिबार, १८ असार २०७९

जीवनको चक्रव्यूहमा जसको पनि उतार चढाव धेरै नै हुन्छ । यही क्रममा कति कुराहरू समयसँगै बितेर जान्छन् तर कतिपय यस्तो घटना हुन्छ, जो हजार कोसिस गर्दा पनि मानसपटलबाट मरिगए हट्न मान्दैन । त्यस्तै मेरो जीवनमा पनि उतार चढावको शृङ्खला छ, जसलाई हरेक पलमा मैले फेर्ने हरेक सासको एक हिस्सा बनिदिएको छ । 

म सानैदेखि मामा घर बस्थेँ, त्यहीको स्कुलमा पढ्न जान्थेँ । मामा घरको दाजुभाइ, दिदीहरूसँग रमाउँथेँ । मेरो आमा मलाई मामा घरमा राखेर काममा जानु हुन्थ्यो । कामबाट फुर्सद पाउनासाथ मलाई भेट्न आउनु हुन्थ्यो । मामा घरमा मलाई सबैले माया गर्थे, दिदीहरूले त झनै माया गर्नु हुन्थ्यो, त्यहाँ कुनै कुराको कमी थिएन । तर बेला बखतमा आमाको साह्रै याद आउँथ्यो ।

समय बित्दै गयो । म नि ठुलो हुँदै गएँ । कहिलेकाहीँ लाग्थ्यो, मेरो आमा मलाई आफूसँग नलगी किन यता छोड्नु भएको होला । मनमनै धेरै सवालहरू आउँथ्यो तर त्यसको जवाफ कोसँग माग्नु ? सबै सवालहरू मनभित्रै दबाएर राख्न बाध्य थिएँ । 

मामा घरपछि केही समय ठुली आमाकोमा नि बसेँ । त्यहाँ नि ठुली आमाले आफ्नै छोरोझैँ गरी राख्नु भएको थियो । ठुली आमा को नि एउटा छोरा  थियो, त्यही भाइ सँगै एउटै स्कुलमा पढ्थ्यौं । म ठुलो हँुदै गएपछि सबै कुरा थाहा पाउने हुँदा सबैको बाबाहरु सँगै देख्थें । तर, मेरो बाबा चाहिँ कहिल्यै भेटेको थिइनँ । बाबाबारे कसैसँग सोध्ने हिम्मत पनि जुटाउन सकेको थिइनँ । 

एकदिन मामा घर गएको थिएँ । त्यहा कोही नौलो ब्यक्ति आउनु भएको थियो । उहाँसँग हजुरआमाले बात मार्दै गर्दा मेरो कुरा निस्कियो । हजुरआमाले लामो सास लिदै भन्नुभयो, ‘म त साह्रै दुःखी मान्छे हो । यो मेरो नाति हो, चार महिनाको हँुदा नै बाबा गुमायो । पन्ध्र वर्षकै कलिलो उमेरमै मेरी छोरी विधवा भई । के गर्नु यस्तो दुःख देखाए भगवान्ले ।’

मेरा कुरा गरेर हजुरआमाले बररर आँसु खसाल्नु भयो । अनि बल्ल थाहा पाएँ कि मेरो बाबा त यस संसारमै पो हुनुहुन्न । एकछिन शान्त दिमागले सोचें, मेरी आमा हँुदा त म यति दुःखी छु । तर, जसको आमा बाबा दुबै छैनन्, उनीहरुको जीवन झन कस्तो हुँदो हो ? यसरी धेरै कुराहरू मनमा खेले । अब मेरी आमाको सहारा भनेको म नै हो, आमालाई दुःख दिनु हुन्न भन्ने मैले प्रण गरें । 

म विगतका कुराहरू बिर्सिन खोज्दथें । तर, बेला बखत माइजू अनि हजुरआमाहरु खुब बाबाको याद गर्नु हुन्थ्यो । माइजू भन्नु हुन्थ्यो, ‘भान्जा तपाईंको बाबा त असाध्यै भलादमी मान्छे थिए । देख्दा नि चिटिक्क परेको सबैसँग हाँसेर बोल्ने, एकदमै मिलनसार थिए ।’

उता हजुरआमा भन्नु हुन्थ्यो, ‘मेरो नाति कम्ता सुन्दर छ । काटी कुटी आफ्नो बाबाजस्तै छ ।’ 

यसरी सबैको माया ममता पाएर होला, कहिल्यै एक्लो महसुस गरिन । आमासँग बस्न नपाए पनि कुनै कुराको कमी हुन दिनु भएको थिएन उहाँले । घरकी कान्छी छोरी मेरी आमा सबैकी प्यारी हुनुहुन्थ्यो । सबै आफन्तहरु आमाको बारेमा चिन्तित हुन्थे । यति कलिलो उमेर छ, कोही राम्रो मान्छे पाए बिहे गरे नि हुन्थ्यो । यति लामो जिन्दगी कसरी कटाउलिन् ? भनेर चिन्ता ब्यक्त गर्थे । तर भने जस्तो सजिलो कहाँ थियो र जिन्दगी । 

आमालाई मन पराउने मान्छे पनि धेरै थिए । तर हाम्रो विगतलाई सहर्ष स्विकार्ने मान्छेको कमी थियो । उता हजुरआमा आशावादी हुनु हुन्थ्यो । उहाँले भन्नु हुन्थ्यो, ‘भगवान्ले छुटाको जोडी भगवान्ले नै जुराउने छन् । कोही न कोही त होला नि, मेरी छोरीको मर्म बुझ्ने मान्छे ।’

बाबा बित्नु भएको सात वर्षपछि हाम्रो जीवनले नयाँ मोड लियो । समाजको हरेक बन्धन तोडेर हाम्रो विगतको सबै कुरालाई स्वीकार्दै नयाँ जीवनको यात्रामा साथ दिनलाई ठुलै आँटवाला हाम्रो जीवनमा अर्को बाबा आउनु भयो । म आतुर थिएँ, बाबालाई भेट्न । आतुरी नलागोस् पनि कसरी, सानैदेखि बाबा भनेर पुकार्न पाएको थिइन । 

म मामा घरमा थिएँ । केही दिनपछि बाबा मलाई लिन आउनु भयो । म धेरै हर्षित थिएँ कि अब बाबा–आमासँगै बाबाको घरमा बस्न पाउने भएँ भनेर । तर बाबा बस्ने ठाउँमा पुग्दा थाहा पाएँ, बाबा–आमा त डेरामा बस्नु भएको रहेछ । त्यहाँ सबै ब्यवस्था राम्रै थियो, त्यही नजिकैको स्कुलमा भर्ना गरिदिनु भयो । दिउँसो स्कुल जाने भएपनि साँझ बिहान बाबा आमासँगै बस्न पाउँदा निकै खुसी थिएँ म ।

बिस्तारै वरपरको छिमेकीहरुसँग घुलमिल हुन थालें । स्कुलबाट फर्केर साथीहरुसँग खेल्न जान्थेँ । एकदिन छिमेकी आन्टीहरुले कुरा गरेको सुनें, ‘पढे लेखेको केटो, देख्दा नि अति सुन्दर, बिचरा बच्चा सँगको श्रीमती रोज्दाको यो सजाय भोग्दैछ । नजिकै घर छ, सबै थोक भएको मान्छे । आज डेरामा बस्दै छ, सबै घरपरिवार छाडेर अरुको घर बसाउँदा आफू बेघर भो ।’

बाबाले मलाई मामा घरबाट पहिलो पटक ल्याउँदा बाटोभरि सोच्दै आएको थिएँ, ‘जन्म दिने बाबा मसँग नभएर के भयो त, कर्म दिने बाबा मैले पाएँ । मेरो मार्गदर्शक मेरा बाबा हुनुहुन्छ ।’ तर त्यो दिन  छिमेकी आन्टीहरुको कुरा सुन्दा बाबा उपर अझ बढी माया ममता सम्मानको भाव जाग्यो । मेरो बाबा कति महान मान्छे । 

यसरी बाबाको धेरै सहयोग पाउँदै गएँ । बाबा आमाको साथले आज यहाँसम्म पुगेको छु । बाबाले आमासँग जहिले नि मेरो बारेमा कुरा गर्नु हुन्छ, ‘छोरोको भविष्य बनाउन जस्तोसुकै अप्थ्याराहरु नि भोग्न तयार छु । उसलाई एक असल मान्छे बनाउने ईच्छा छ ।’

कहिलेकाहीँ बाबाको साथीहरु हाम्रो घरमा आउँदा बाबालाई भन्ने गर्छन्, ‘तपाईं कति भाग्यमानी है, छोरो नि लक्का जवान भैसक्यो ।’ बाबाले पनि गर्वका साथ भन्नु हुन्छ, ‘अब त ठुलो भैसक्यो, हरेक जिम्मेवारीको बोध गर्ने ।’

एकदिन  घर ब्यवहारको कुराले आमाले कचकच गर्दा बाबाले आमालाई सम्झाउँदै भन्नु भयो, ‘किन यस्तो कुरा गर्छौ । छोरो ठुलो भैसक्यो, उसको दिमागमा नराम्रो असर पर्छ । भोलि जे होला, राम्रै होला । जीवनमा धैर्य र सहनशील हुनुपर्छ, सबै ठिक हुन्छ । के तिमीले सोचेकी थियो र, तिमी र म जीवनको सहयात्री हुन्छौ भनेर ? त्यसैले, भाग्यमा जे लेख्या छ, त्यही हुन्छ ।’ 

हरेक बिहानीसँगै नयाँ सोचका साथ अगाडि बढ्ने मेरो बाबा, हाम्रो संकुचित समाजले लगाई दिएको त्यो विधवाको मुकुट अनि बेरङ्ग दुनियाबाट मेरी आमालाई छुटकारा दिलाउने मेरो बाबा । बिगतलाई स्वीकारेर वर्तमानलाई साथ दिदै भविष्यको लागि हौसला दिने मेरो बाबालाई कुन शब्दले पुकारौं ? सायद नेपाली शब्दकोशमा शब्दको नै अभाव होला ।

मेरो बाबा मेरो मात्रै नभै सिङ्गो समाज परिवर्तनको नायक हुनुहुन्छ । सामाजिक कुविचारको जन्जिरलाई तोड्डै एक विधवा आमाको लागि आफ्ना सारा खुसीको बलिदानी गर्ने । यदि हाम्रो समाजमा अरु पनि यस्तो सोच भएको मान्छे हुन्थे भने बैसमै सिन्दुर पुछिएका आमा दिदी बहिनीहरु सेतो फरिया लतार्दै समाजको अगाडि निरीह बनेर बिलौना गर्दै हिँड्नु पर्दैन थियो होला । र, हजारौं बालबालिका टुहुरोको संज्ञा पाउने थिएनन् । कसैको बाबा हुन् त मेरो बाबाजस्तै हुन्, साँच्चिकै मेरो जीवनको वास्तविक हिरो मेरो बाबा हुन् ।

लेखक नाष्ट कलेज, धनगढीमा प्लस टु अध्यनरत छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप