प्रदेश १ मा इन्टरनेट बैंकिङ सेवा बढ्दो, शाखारहित बैंकिङ सेवा घट्दो
प्रदेश १ मा इन्टरनेट बैंकिङ सेवा लिने ग्राहकको सङ्ख्या एक वर्षमा ६५.७ प्रतिशतले वृद्धि भएको छ । प्रदेश १ सरकारले पछिल्लो पटक सार्वजनिक गरेको आर्थिक सर्वेक्षण रिपोर्ट अनुसार इन्टरनेट बैंकिङ सेवा लिनेको सङ्ख्या २०७७ सालमा ८३ हजार २८३ थियो । ०७८ सालमा यो सङ्ख्या बढेर १ लाख ३७ हजार ९६६ पुगेको छ ।
यस्तै मोबाइल बैंकिङ सेवा लिनेको सङ्ख्यामा पनि ३१.४ प्रतिशतले वृद्धि भएको छ । ०७७ सालमा १८ लाख ९२ हजार ४३७ जनाले मोबाइल बैंकिङ सेवा लिएका थिए भने २०७८ सालमा यो सङ्ख्या २४ लाख ८६ हजार ९८२ पुगेको छ ।
डेबिट कार्ड प्रयोगमा पनि एक वर्षमा २५.७ प्रतिशतले वृद्धि भएको छ । २०७७ सालमा डेबिट कार्ड प्रयोग गर्नेको सङ्ख्या १० लाख ५९ हजार २५४ थियो भने २०७८ सालमा उक्त सङ्ख्या बढेर १३ लाख ३१ हजार ९५४ पुगेको छ ।
क्रेडिट कार्ड लिनेको सङ्ख्या ३६.९, प्रिपेड कार्ड लिनेको सङ्ख्या १०१ प्रतिशतले बढ्दा शाखारहित बैंकिङ सेवा भने ७.२ प्रतिशतले घटेको छ । २०७७ सालमा शाखारहित बैंकिङ सेवा प्रदेश १ मा ४०१ थियो भने २०७८ सालमा उक्त सङ्ख्या घटेर ३७२ मा आइपुगेको छ ।
प्रदेश १ मा २०७७ चैत मसान्तको तुलनामा २०७८ चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ४.४ प्रतिशतले वृद्धि भएर ३ खर्ब ३२ अर्ब पुगेको छ भने कुल कर्जा भने १४.४ प्रतिशतले वृद्धि भई ५ खर्ब २७ अर्ब पुगेको छ । यस्तै २०७८ असार मसान्तसम्ममा ३ खर्ब ४७ अर्बको कुल निक्षेप परिचालन तथा ४ खर्ब ८० अर्बको कर्जा प्रवाह भएको छ ।
प्रदेश १ का जिल्लामध्ये मोरङमा सबैभन्दा बढी १ खर्ब ३ अर्ब निक्षेप परिचालन भएको छ । तेह्रथुममा सबैभन्दा कम ४ अर्ब ४८ करोड निक्षेप परिचालन भएको छ । प्रदेशको कुल निक्षेप परिचालनमा मोरङ, सुनसरी र झापा जिल्लाको हिस्सा ७७.१ प्रतिशत छ । २०७७ सालको तुलनामा भोजपुर जिल्लाको निक्षेप सबैभन्दा बढी १७.४ प्रतिशतले वृद्धि भएको छ भने झापाको निक्षेप वृद्धि ०.३ प्रतिशत मात्रै भएको छ ।
हाल प्रदेश १ का बैंक तथा वित्तीय संस्थामा ५७ लाख २४ हजार निक्षेप खातामध्ये ४१ लाख २४ हजारमात्रै सक्रिय छन् । ती निक्षेप खातामध्ये ५० लाख २५ हजार ६३२ बचत खाता छन् । बचत खातामध्ये ३८ लाख ६५ हजार ६२८ बचत खाता सक्रिय अवस्थामा छन् । जुन प्रदेश १ को कूल जनसङ्ख्याको ७७.५ प्रतिशत हो । कुल बचत खातामध्ये पुरुषको सक्रिय खाता ५६.६ र महिलाको ४३.४ प्रतिशत छ ।
सबैभन्दा बढी कर्जा प्रवाह गर्ने जिल्लामा पनि मोरङ नै छ । मोरङमा मात्रै २ खर्ब २४ अर्ब कर्जा प्रवाह भएको छ भने सबैभन्दा कम ताप्लेजुङमा २ अर्ब ५६ करोड कर्जा प्रवाह भएको छ । प्रदेशको कुल कर्जा प्रवाहमा मोरङ, सुनसरी र झापाको हिस्सा ८७.८ प्रतिशत छ ।
१ हजार ८४१ बैंक तथा वित्तीय संस्था, ५४१ बीमक कार्यालय
प्रदेश १ मा बैंक तथा वित्तीय संस्थाका १ हजार ८४१ शाखा छन् । जसमा सबैभन्दा धेरै लघुवित्त वित्तीय संस्था छन् । ८६६ लघुवित्त, ७५३ वाणिज्य, १९० विकास र ३२ वटा वित्त कम्पनीका शाखा छन् । २०७७ सालको तुलनामा वित्त कम्पनीको सङ्ख्या भनेको घटेको छ । ०७७ मा ४४ वटा वित्त कम्पनी थिए भने २०७८ मा यो सङ्ख्या घटेर ३२ मा आइपुगेको छ । प्रदेश १ का १३७ वटै स्थानीय तहमा २०७७ साल चैत महिनामै वाणिज्य बैंकको शाखा विस्तार भइसकेको छ ।
आर्थिक सर्वेक्षण रिपोर्ट अनुसार प्रदेश १ मा २०७८ चैत मसान्तसम्ममा जीवन बीमाका ३७६ र निर्जीवनका १६५ गरी ५४१ बीमक कार्यालय छन् । २०७७ फागुन मसान्तसम्ममा यस्तो शाखा सङ्ख्या जीवनतर्फ ३४८ र निर्जीवनतर्फ १५८ गरी कुल ५०६ थियो ।
प्रदेश १ मा सोही अवधिमा जीवन बीमा तथा निर्जीवन बीमा दुवैतर्फ गरी १५ लाख ३८ हजार ८१३ बीमालेख जारी भएका छन् । यो सङ्ख्या भनेको नेपालभर गरिएका कुल बीमालेखको ११.५ प्रतिशत हो ।
बैंकमा खाता खोल्नेको सङ्ख्या २८ प्रतिशतले बढ्यो
२०७८ चैत मसान्तसम्ममा प्रदेश १ मा रहेका बैंक तथा वित्तीय संस्थामार्फत खोलिएका मुख्य खाताको सङ्ख्या गत वर्षको तुलनामा २८.०३ प्रतिशतले वृद्धि भएको छ । यस्ता खाताको सङ्ख्या १२ लाख ७६ हजार ५२६ पुगेको छ । जसमा पुरुष ५४.१ प्रतिशत छन् भने महिलाको ४५.९ प्रतिशत छन् ।
प्रदेश १ का तीन जिल्ला झापा, मोरङ र सुनसरीमा धितोपत्र दलालले धितोपत्र कारोबार सेवा विस्तार गरेका छन् । २०७८ चैत मसान्तसम्ममा प्रदेश १ मा धितोपत्र दलालको १४ वटा शाखा छन् । यो बागमती प्रदेशपछिको दोस्रो हो । बागमतीमा धितोपत्र दलालको सङ्ख्या ५६ रहेको छ । प्रदेश १ मा खोलिएका धितोपत्र दलालका शाखा कार्यालयबाट १ खर्ब ३३ अर्ब बराबरको धितोपत्र तथा १ खर्ब ३२ अर्ब बराबरको धितोपत्र विक्री गरी कुल २ खर्ब ६५ अर्ब बराबरको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै