मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यो वर्ष यी तीन हिन्दी फिल्मले मात्र कमाए नाफा

१६ अर्ब भारु लगानीका फिल्मबाट १४ अर्ब मात्र उठ्यो
शुक्रबार, १७ असार २०७९, १८ : ०८
शुक्रबार, १७ असार २०७९

कोरोना महामारी अवधिको दुई वर्षमा हिन्दी भाषी फिल्म निर्माण गर्ने बलिउड फिल्म उद्योगले ठुलो नोक्सान बेहोर्‍यो । कोरोना महामारीको दुई वर्षमा बलिउडले २१० अर्ब भारु घाटा बेहोर्‍यो । बक्स अफिस कमाइमा झन्डै ८० प्रतिशतले गिरावटले यो स्थिति निम्त्याएको थियो । 

सन् २०२२ मा पनि बलिउड फिल्म उद्योगले केही खास हुने आशा गरिएकोमा पहिलो ६ महिना त्यति आसाप्रद देखिएको छैन । वर्षको पहिलो ६ महिनामा दर्जनौँ साना, ठुला हिन्दी फिल्म रिलिज भए । ती सबैमा गरेर करिब १६ अर्ब भारु लगानी थियो । 

तर तीमध्ये जम्मा तीन फिल्महरू भुल भुलैया–२, द कश्मीर फाइल्स र गंगुबाई काठियावाडीले मात्र बक्स अफिसमा नाफा कमाउन सफल भए । आसा गरिएका बच्चन पाण्डे, सम्राट् पृथ्वीराज र धाकडजस्ता ठुला बजेटका फिल्मसमेत नराम्ररी फ्लप भए । 

हालसम्म भारतीय फिल्मले कुल १४ अर्ब भारु मात्र उठायो अर्थात् लगानीकर्ताले झन्डै २ अर्ब भारु गुमाए । यो वर्षको आगामी ६ महिना प्रदर्शनमा आउन लागेका फिल्मको कुल लगानी २५ अर्ब करोड भारु रहेको छ । तर, अहिले लगानीकर्ता र विश्लेषक समेत ती फिल्मको लगानी उठ्नेमा विश्वस्त छैनन् । 

विशेषतः पछिल्लो समय भारतको दक्षिण भेगका तेलगु भाषी, तमिल भाषी, कन्नण भाषी फिल्मले हिन्दी बोलिने भेगमा पनि राम्रो कमाई गर्न थालेका छन् । आगामी ६ महिना पनि केही ठुला दक्षिण भारतीय ठुला फिल्महरू प्रदर्शनमा आउँदैछन् । ती फिल्मसँग प्रदर्शन जुध्दा हिन्दी भाषी फिल्मको कमाई घट्ने चिन्ता व्यक्त गर्न थालिएको छ । 

यो वर्ष प्रदर्शन आउन बाँकी ठुला बलिउड फिल्म  

२२ जुलाईमा रिलिज हुने फिल्म शमशेरामा चार वर्षपछि रणवीर कपूर मुख्य भूमिकामा देखिँदैछन् । ऐतिहासिक द्वन्द्वप्रधान फिल्ममा रणवीरसँगै वाणी कपुर र सञ्जय दत्त मुख्य भूमिकामा छन् । दुई वर्षसम्म प्रदर्शन सरेर अन्ततः आमिर खानको फिल्म लाल सिंह चड्डा ११ अगस्टमा सार्वजनिक हुँदैछ । यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेक हो ।

स्पोर्ट एक्सन फिल्म लिगर यही वर्षको २५ अगस्टमा रिलिज हुँदैछ । यस फिल्मबाट तेलगु भाषी फिल्मका स्टार विजय देवरकोंडाले हिन्दी भाषी फिल्म उद्योगमा डेब्यु गर्दैछन् । ‘डियर कमरेड’बाट हिन्दी बेल्टमा चिनिएका विजयसँगै अनन्या पाण्डेका अतिरिक्त चर्चित बक्सर माइक टायसन पनि देखिनेछन् ।

अयान मुखर्जीद्वारा निर्देशित ब्रह्मास्त्र बलिउडको अहिलेसम्मको सबैभन्दा ठुलो बजेटको फिल्म हुनेछ । सुपरहिरो काल्पनिक फिल्म ब्रम्हास्त्रमा रणवीर कपुर, अमिताभ बच्चन, आलिया भट्ट, नागार्जुनजस्ता ठुला स्टारहरु देखिनेछन् ।

अक्षय कुमारको फिल्म रक्षा बन्धन तुलनात्मक सानो अर्थात ३० करोड भारुमा बनेको भए पनि फिल्मले राम्रो गर्ने कमाई गर्ने आशा गरिएको छ । फिल्मलाई आनन्द एल राईले निर्देशन गर्दैछन्, जसको अघिल्लो फिल्म ‘अतरंगी रे’ले राम्रो चर्चा पाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप