शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिस्ट एकताको चर्चा : वामदेवमा उत्साह, साना दलमा निराशा !

शुक्रबार, १७ असार २०७९, १७ : २१
शुक्रबार, १७ असार २०७९

 संसदीय चुनावअघि पुनः कम्युनिस्ट एकताको चर्चासँगै केही प्रयास र पहल समेत हुन थालेका छन् । त्यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि एमाले नेता घनश्याम भुसाल र भर्खरै पार्टी गठन गरेका वामदेव गौतमसमेतले सक्रियता देखाएका छन् । उनीहरुले वाम गठबन्धन हुँदै कम्युनिस्ट एकताको प्रयास गरे पनि साना कम्युनिस्ट पार्टीका नेताहरू भने तत्काल कम्युनिस्ट एकताको सम्भावना नरहेको बताउँछन् ।

साना कम्युनिस्ट पार्टीका नेताहरू कम्युनिस्ट पार्टीहरुबीच ध्रुवीकरणको आवश्यकता रहेकोमा भने जोड दिन्छन् । त्यसका लागि ठुला कम्युनिस्ट पार्टी भनिएका एमाले, माओवादी र समाजवादीहरू एकातिर र बाँकी रहेका साना कम्युनिस्ट पार्टीहरू अर्कोतिर रहेर ध्रुवीकरण हुनसक्ने उनीहरूको भनाइ छ ।

नेकपा मालेका महासचिव सीपी मैनाली तत्काल सवै कम्युनिस्टहरुबीच एकता हुने सम्भावना आफूले नदेखेको बताउँछन् । ‘किनभने कम्युनिस्टहरुबीच नै विभिन्न राजनीतिक, वैचारिक कार्यनीतिक भिन्नताहरु छन् । तर अहिलेको अवस्थामा प्रचण्ड या वामदेवहरूले भनेको एकता कस्तो हो त्यो पनि प्रस्ट छैन’, मैनालीको भनाइ छ । उनले कम्युनिस्ट पार्टीबीच गठबन्धन भने हुनसक्ने बताए । ‘प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आएको छ । तत्काल त्यो चुनावअघि एकताको सम्भावना कम छ, चुनावी गठबन्धन सम्म हुनसक्छ’, मैनालीको भनाइ छ । उनले वैचारिक सैद्धान्तिक रूपमा नै कम्युनिस्ट एकताको कुरा गरिएको हो भने त्यसबारे नेताहरू प्रस्ट हुन जरुरी रहेको पनि बताए ।

‘कम्युनिस्टहरुबीचको एकता गर्ने वा एउटै कम्युनिस्ट केन्द्र बनाउने भन्ने हो भने वैचारिक सैद्धान्तिक र कार्यनीतिक विषयमा छलफल हुनुपर्छ । तर अहिले ती विषयमा प्रस्ट कुरा आएको छैन’, मैनालीले भने । 

त्यस्तै नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पनि अहिलेका गतिविधिले नेपाली कम्युनिस्ट आन्दोलनमा रहेका र सवै कम्युनिस्ट नाम गरेका पार्टीहरू एउटै केन्द्रमा आउने सम्भावना नरहेको बताउँछन् । तर कम्युनिस्ट नाम गरेका पार्टीहरू दुई ध्रुवमा ध्रुवीकृत हुनुपर्ने आवश्यकता रहेको गजुरेलको तर्क छ ।

‘कम्युनिस्ट नाम गरेकाहरू दुई ध्रुवमा बाँडिन जरुरी छ र त्यो सम्भावना पनि छ’, गजुरेलले भने, ‘त्यो भनेको ठुला कम्युनिस्टहरू एउटा ध्रुवमा र साना क्रान्तिकारी कम्युनिस्टहरू अर्को ध्रुवमा हुन सक्छन् ।’ गजुरेलले विगतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा रहेकाहरूलाई अव पनि मिल्न कुनै अप्ठेरो नभएको बताए ।

‘उनीहरूमा कुनै वैचारिक, राजनीतिक अन्तर्विरोध पनि छैन । वैचारिक राजनीतिक दृष्टिकोण एउटै छ भने उनीहरू किन फरक पार्टीमा रहने ? त्यस कारण नेकपा जस्तै एउटा नाम राखेर उनीहरू एकता वा सहकार्य गर्न सक्छन्’, गजुरेलको भनाइ छ । यसअघि पनि उनीहरू स्वार्थकै आधारमा मिलेको र स्वार्थकै आधारमा फुटेको भन्दै गजुरेलले भने, ‘हुन त अदालतले पनि नेकपालाई तीन टुक्रा पार्ने काममा सहयोग गरेको हो । तर त्यसको सारमा स्वार्थ बाझिएकाले नै हो भन्न सकिन्छ ।’

उनले प्रचण्ड र माधवले केपी ओलीले पार्टीमा एकलौटी गरेको तथा तानासाही चलाएकै कारण तत्कालीन नेकपामा विवाद उत्पन्न भएकाले सैद्धान्तिक वैचारिक भिन्नताका आधारमा नभई स्वभाव र कार्यशैलीमा मात्रै मतभिन्नता रहेको बताए ।

नेता गजुरेलले साना कम्युनिस्ट वा क्रान्तिकारी कम्युनिस्टहरुहरुबीच अर्को धारमा ध्रुवीकरण हुने सम्भावना बढेको बताए । ‘त्यसरी ध्रुवीकृत हुने दिशामा नेकपा क्रान्तिकारी माओवादी, विद्रोही मसाल, नेकपा जनतम लगायतका पार्टीहरुबीच एकताको सम्भावना बढेको छ’, उनले भने, ‘यसरी कम्युनिस्टहरू दुईवटा ध्रुवमा मात्रै बाँडिए र दुईवटामात्रै कम्युनिस्ट पार्टी भइदिए भने पनि राम्रै हुन्छ ।’ उनले त्यसरी ध्रुवीकृत भए जनता कम्युनिस्ट पार्टीका नाममा भ्रममा नपर्ने पनि बताए । ‘कम्युनिस्ट पार्टी भनेका छन्, दशथरी छन्’, उनले भने ‘माओवादी, एमाले र एकीकृत समाजवादी चुनावी कम्युनिस्ट भए जो काँग्रेसभन्दा केही फरक छैनन् । उनीहरू एकातिर र क्रान्तिकारी कम्युनिस्ट एकातिर हुनुपर्छ ।’  

माओवादी कम्युनिस्ट पार्टी नेपालका संरक्षक रहेका गोपाल किराती नेपालका कम्युनिस्टहरुबीच एकताको सम्भावना र आवश्यकता दुवै रहेको बताउँछन् । तर अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरिरहेको एकताको प्रयास काँग्रेस र एमालेसँगको बार्गेनिङको प्रपञ्च मात्रै भएको तिराकीको भनाइ छ ।

‘अहिले प्रचण्डले भनेको एकता काँग्रेस र एमालेसँगको बार्गेनिङमात्र हो,’ किरातीले भने, ‘चुनाव आउँदैछ, त्यसमा मैले भनेजस्तो हुँदैन भने पूर्वमाओवादीहरु एकता गरेर तिमीहरुलाई देखाइदिन्छौ भन्ने बार्गेनिङ भएकाले प्रचण्डले भनेको कुरामा हामी सरोकार राख्दैनौँ ।’

उनले साच्चै पार्टी एकता गर्ने हो भने विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशाबारे एकै ठाउँमा आउन जरुरी रहेको बताए । ‘पार्टी एकता गरेर के गर्ने त ? विचार, सिद्धान्त, कार्यक्रम, कार्यदिशा,संगठन र चरित्रका बारेमा त कुनै छलफल हुने गरेको छैन । मन लागेको बेला एकता गर्ने अनि नलागेका बेला बोकेर हिड्ने भन्ने कुराले पार्टी एकता हुँदैन’, किरातीको भनाइ छ ।

उनले संसदवादी कम्युनिस्टहरूले गरेको एकताको कुरा र उनीहरुबीच एकता नै भएपनि त्यो खाओवादीहरुको  एकता हुने टिप्पणी गरे । ‘त्यस्तो खाओवादी एकतामा हामी जाँदैनौ’, तिराकीको भनाइ छ । उनले पछिल्लो समय वामदेव गौतमले एकताका लागि गरेको पहल स्पेसका लागि मात्रै भएको हुनसक्ने बताए । ‘उहाँले अलिकति स्पेस खोजेजस्तो देखिन्छ । संसदवादी मानसिकता भएकालाई चुनाव आएपछि खपिखानु हुँदैन । अहिले अव चुनाव आएकाले उहाँले पनि खेती लगाउन खोजेको हुनसक्छ’, तिराकीको भनाइ छ ।

नेकपा विभाजनपछि २०७७ मा आफूले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर सर्वहारा सांस्कृतिक रूपान्तरणको सामूहिक प्रतिबद्धता हुने र समाजवादको कार्यक्रम तय गर्ने भए आफूहरू एकताका लागि लचिलो हुने बताएको भन्दै त्यसपछि पुन भेटघाट र कुराकानी नभएको बताए । ‘तर अहिले पछि एमसीसी व्याख्यात्मक घोषणासहित उहाँहरूले एमसीसी पारित गर्नुभयो । एमसीसी पारित गरिसकेपछि उहाँहरूसँग कसरी हुन्छ एकता ?’, तिराकीको प्रश्न छ  । उनले एमसीसी खारेज र समाजवादका साझा कार्यक्रम बनाएर प्रचण्ड जान तयार भए अझै पनि आफूहरू लचक हुने बताए ।

उनले एमसीसी पास गरेका प्रचण्डले एसपीपीको विरोध गर्नुमा ओलीलाई फसाउन पाइने भो भनेरमात्रै मात्रै गरेको बताए । ‘त्यसैले एकता वा धु्रविकरणका जेजति चर्चा भइरहेका छन् यी सवै आउने चुनावलाई केन्द्रबिन्दुमा राखेर गरिएका प्रपञ्च मात्रै हुन् । त्यसैले प्रचण्ड ओलीहरूले एकता गर्नुभयो भने पनि त्यो स्वाभाविक नै ठानिन्छ’, उनले भने, ‘उहाँहरूले हिजो पनि एकता गरेकै हो । अव पनि आउने चुनावबाहेक उहाँहरूको गिदीमा अरू केही छैन ।’ उनले अहिले भइरहेको एकताको चर्चा क्रान्तिकारी कम्युनिस्ट एकताका लागि नभएको दाबी समेत गरे ।

तर हालचालै नेकपा विप्लव समूहबाट छुट्टिएर नेकपा बहुमत गठन गरेका नेता धर्मेन्द्र बास्तोला भने छरिएर रहेका कम्युनिस्ट शक्तिहरूबिच एकताको सम्भावना रहेको बताउँछन् ।‘कम्युनिस्टहरुबीच एकताको सम्भावना छ, भइरहेको पनि छ’, बास्तोलाले रातोपाटीसँग भने, ‘एकता हुने भनेको शक्ति सन्तुलन र विचारको सन्तुलनका आधारमा हुने हो त्यसैले त्यो जहाँजहाँ मिल्छ त्यहाँत्यहाँ हुन्छ ।’

उनले अहिले कम्युनिस्हरुबीच एकता आवश्यक रहेको पनि बताए । ‘विचार, दृष्टिकोण र उदेश्यका आधारमा एकता गर्न हामीले समेत प्रयास गरिरहेका छौ, त्यसका लागि विभिन्न पार्टीहरुसँग छलफल भइरहेको छ । एकताबद्ध गर्दै जाने कुरामा प्रयास पनि भइरहेको छ’, बास्तोलाको भनाइ छ ।

वामदेव उत्साहित

कम्युनिस्ट एकताको प्रयासमा जुटेका वामदेव गौतम भने एकताप्रति उत्साहित देखिन्छन् । ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ नामक पार्टी गठन गरेका गौतमले असार ११ गते पार्टी घोषणा गर्दै आगामी तीन महिनासम्म सवै कम्युनिस्ट पार्टीबीच एकता गराउने अभियान चलाउने घोषणा गरिसकेका छन् । उक्त अभियानअन्तर्गत गौतमले बिहीबारमात्रै एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर एकताको प्रस्ताव गरिसकेका छन् । ओली, प्रचण्ड र नेपाललाई भेटेका गौतमले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने सवालमा सवै सहमति नजिक रहेको दाबी गरेका छन् ।

‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने सवालमा हामी सवै सहमति नजिक छौ । कम्युनिस्ट आन्दोलन एकताबद्ध बनाउनु अहिले सवैका लागि आवश्यक छ’, गौतमको भनाइ छ । गौतमले तीन महिनामा कम्युनिस्टहरुबीच एकता नभए फरक ढंगले अघि बढ्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप