बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टै कानुन विश्वविद्यालयको आवश्यकता छः का.मु. प्रधानन्यायाधीश कार्की

शुक्रबार, १७ असार २०७९, १५ : ५१
शुक्रबार, १७ असार २०७९

सर्वोच्च अदालतका का.मु. प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाको शुद्धीकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै का.मु. प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा समस्या रहेको तर यसलाई शुद्धीकरण गरेर अघि बढ्नुपर्ने बताएका हुन् । 

उनले न्यायपालिकामा पूर्ण समस्या छ र न्यायपालिकाले काम गर्न सक्दैन भन्ने कुरामा सत्यता नरहेको दाबी गरे ।  का.मु. प्रधानन्यायाधीश कार्कीले न्यायपालिका सुधारको लागि सरोकारवाला सबै निकाय कटिबद्ध हुनुपर्ने बताए । उनले छुट्टै कानुन विश्वविद्यालयको आवश्यकता रहेको भन्दै त्यसमा सर्वोच्चबाट विशेष पहल गर्ने प्रतिबद्धता जनाए । 

उनले भने, ‘न्यायपालिकामा केही समस्याहरू देखिएका छन् । समस्याहरू पहिला पनि थिए र अहिले पनि आएका छन् । न्यायपालिकामा धेरै समस्याका कुरा आइरहेका छन् । हामी यसलाई सुधारका लागि अघि बढी रहेका छौँ । केही समस्या देखिएका छन् । न्यायपालिकामा पूर्ण समस्या छ । काम गर्न सक्दैन भन्ने कुरा भएको छ । वास्तवमा त्यो होइन, विकृति, विसङ्गति छन्, हामी त्यसलाई हटाउँदै जानेछौँ । सम्बोधन हुन्छ । हामी सबैको सुधारको लागि कटिबद्ध हुनुपर्छ । मैले पनि महसुस गरेको छु, कानुनको हकमा विश्वविद्यालय छुट्टै हुनुपर्छ । सर्वोच्चबाट यसको प्रयास जारी रहन्छ । यस अभियानमा लाग्नुपर्छ । न्यायपालिकाको शुद्धीकरणको लागि यस्ता समस्या नआओस् भन्नका लागि नैतिकताको विषयमा पनि विचार गर्नुपर्छ र पाठ्यक्रममा पनि समावेश गर्नुपर्छ कि भन्ने लागेको छ ।’

का.मु. प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा विकृति र विसङ्गति आउन नदिन पाठ्यक्रममा पनि नैतिकता विषयहरू समावेश गर्न आवश्यक रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप