शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशको बाछिटाबाट लुम्बिनी प्रदेश मुक्त

शुक्रबार, १७ असार २०७९, १५ : २२
शुक्रबार, १७ असार २०७९

बागमती प्रदेशमा सत्तारुढ गठबन्धनभित्रै सत्ता परिवर्तनको खेल सुरु भएको छ । तर बागमती प्रदेश सरकार परिवर्तनको खेलको असर लुम्बिनी प्रदेशमा भने देखिएको छैन । गठबन्धन सरकार बन्दा सुरुमा लुम्बिनी प्रदेशमा पनि आलोपालो सरकार चलाउने भद्र सहमति भएको थियो ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरे पनि अहिले गठबन्धन दलहरूबीच सम्बन्ध मजबुत भएकाले सत्ता परिवर्तनको खेल सुरु नभएको गठबन्धन घटकका नेताहरु बताउँछन् ।

लुम्बिनी प्रदेशका गठबन्धन दलहरूलाई केन्द्रबाट सरकार परिवर्तनको निर्देशन नआउँदासम्म वर्तमान सरकारले नै निरन्तरता पाउने उनीहरुको भनाइ छ । बागमती प्रदेशको लफडाले लुम्बिनी प्रदेशमा अहिले कुनै समस्या नपार्ने नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुद्दिन खाँनले रातोपाटीलाई बताए । हरेक प्रदेशमा छुट्टाछुट्टै सम्झौता गरेर गठबन्धनको सरकार बनेको भन्दै उनले लुम्बिनी प्रदेश सरकार तत्काल परिवर्तन नहुने प्रस्ट पारे ।

नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले लुम्बिनी प्रदेशमा सरकार परिवर्तनको विषयमा गठबन्धनबीच कुनै चर्चा नभएको बताए । उनले गठबन्धनमा रहेका दलहरू एकताबद्ध भएर सरकारको कामलाई प्रभावकारी रूपमा लैजाने सोचिरहेको दाबी गरे । अहिले प्रदेशमा सत्ता परिवर्तनको खेलमा कोही नलागेको उनको भनाइ छ । उनले अन्य प्रदेशमा हुने राजनीतिक खेलको बाछिटा लुम्बिनीमा नआउने बताए ।

लुम्बिनी प्रदेशमा नेपाली काँग्रेस, माओवादी र जसपाको गठबन्धन सरकार छ । अहिले एमालेले पनि सत्ता परिवर्तनको विषयमा ध्यान नदिएको एमालेका लुम्बिनी प्रदेश संसदीय दलका उपनेता बैजनाथ चौधरीले रातोपाटीलाई बताए ।
उनले भने, ‘अहिले हामीले सत्ता परिवर्तनको कुनै प्रयास  गरेको अवस्था छैन, उनीहरू तत्काल फुट्ने अवस्था पनि देखिँदैन । केन्द्रबाटै फुटे भने अर्को कुरा भयो ।’

लुम्बिनी प्रदेशमा गत वर्ष शंकर पोखरेल नेतृत्वको सरकार हटाएर गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कुलप्रसाद केसीको नेतृत्वमा सरकार बनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप