बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विभाग गठनको गृहकार्यमा देउवा : प्रभावशाली विभागका लागि नेताहरूले थाले लबिङ

शुक्रबार, १७ असार २०७९, १३ : ३५
शुक्रबार, १७ असार २०७९


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभाग गठनका लागि गृहकार्य थालेका छन् । असार २७ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि विभाग गठन गर्ने देउवाको तयारी छ । महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने वैधानिक बाध्यतालाई देउवाले बेवास्ता गरेको भन्दै नेता शेखर कोइराला पक्ष विरोधमा उत्रिएकै बेला देउवा गृहकार्यमा जुटेका हुन् ।

बिहीबारदेखि आफू पक्षीय नेताको बैठक राखेर कोइरालाले देउवामाथि दवाव बढाएका छन् । कोइराला पक्षको विरोधको स्वरलाई कमजोर पार्ने रणनीतिका साथ देउवाले असार २७ गतेअघि ८–१० वटा विभाग भएपनि गठन गर्ने बुझिएको छ ।

कोइराला पक्षीय एक पदाधिकारीका अनुसार विभागका विषयमा संस्थापन इतर पक्षसँग सामान्य संवाद समेत भएको छैन । काँग्रेसमा विधानतः २८ वटा विभागको व्यवस्था छ । ती विभागमा ५१ जना सदस्य राख्न सकिने प्रावधान छ ।

संयोजक, उपसंयोजक, सचिवसमेत गर्दा एउटै विभागमा ५४ जना नेता तथा कार्यकर्ताले जिम्मेवारी पाउने अवस्था छ । सबै विभागलाई पूर्णता दिँदा १५ सय १२ जना नेता कार्यकर्ताले जिम्मेवारी पाउने देखिन्छ । विभागको कार्यक्षेत्र हेरी विशेषज्ञ संलग्न गराई विभिन्न एकाइ, उपसमिति वा कार्यदल गठन गर्न सकिने विधानमा व्यवस्था छ ।

नेतृत्वका लागि हानथाप

मुख्य रूपमा विभागको नेतृत्वका लागि संस्थापन पक्षमै हानथाप छ । विशेष गरी सङ्गठन, अन्तर्राष्ट्रिय सम्बन्ध, संवैधानिक कानुन तथा संसदीय मामिला, सङ्घीय मामिला तथा स्थानीय तह, सूचना, सञ्चार तथा प्रचार, पेसागत तथा बुद्धिजीवी विभाग लगायतमा नेताहरू आकर्षण छ ।

भाषा, साहित्य, कला तथा संस्कृति, शिक्षा, विज्ञान तथा प्रविधि, गैर सरकारी संस्था तथा सामाजिक सेवा, अनुगमन, मूल्याकंन तथा अभिलेख, उद्योग तथा वाणिज्य, पर्यटन विभाग, कृषि तथा भूमिसुधार, युवा तथा खेलकुद विभाग, प्राकृतिक स्रोत र जल तथा ऊर्जा विभाग रहेका छन् ।

यस्तै शान्ति, सुरक्षा तथा प्रशासन सेवा, श्रमिक तथा ट्रेड युनियन,जनसम्पर्क समिति समन्वय, वैदेशिक रोजगार तथा आप्रवासन विभाग, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप स्वास्थ्य, वन, वातावरण तथा विपद् व्यवस्थापन, महिला, लैङ्गिक समता, सामाजिक सुरक्षा एवं कल्याण, आर्थिक नीति तथा योजना, भौतिक पूर्वाधार, निर्माण तथा यातायात, अन्य पार्टी सम्पर्क, सहकारी, भ्रातृ सङ्घ समन्वय र शुभेच्छुक संस्था समन्वय विभागमा नेतृत्व ल्याउने तयारी छ ।

तर केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूलाई विभाग प्रमुखको जिम्मेवारी दिने कि नदिने भन्नेमा अन्योल छ । महामन्त्री गगन थापाका अनुसार केन्द्रीय कार्यसम्पादन समितिसँग विभागको समीक्षा गर्ने अधिकार भएकाले केन्द्रीय सदस्यलाई मात्र जिम्मेवारी दिने कि भन्ने विषयमा छलफल भइरहेको छ ।

थापाले भने, ‘विधानमा केन्द्रीय कार्यसम्पादन समितिले पार्टीका केन्द्रीय विभागको कामको समीक्षा गर्नेछ । कार्यसम्पादन समितिमा रहेको नेताहरूलाई विभागको जिम्मेवारी दिने कुरामा केही अन्योल छ ।’ 
विभागको बैठक कम्तीमा दुई महिनामा एक पटक बस्ने र प्रत्येक छ महिनामा कार्यसम्पादन प्रगति प्रतिवेदन केन्द्रीय कार्यसमितिमा बुझाउनु पर्ने विधानमा व्यवस्था छ ।

तर नेता एनपी साउदले भने विभागीय जिम्मेवारी दिँदा कुनै ‘बाउण्ड्री’ नराख्ने विषयमा छलफल भइरहेको बताए । साउदले भने, ‘विभाग चाँडै गठन गर्ने भन्ने छ । पहिले कार्यसम्पादन समिति सदस्य र सांसदलाई विभागमा राखिएको थिएन । अहिले त्यसमा पनि खुला राख्ने छलफल चलिरहेको छ । फाइन कुरा केही भएको छैन ।’

सबैलाई काम गर्ने भूमिका दिने भन्ने किसिमको बहस भएपनि डिमार्केसन नराख्ने गरी छलफल अगाडि बढेको उनको भनाइ छ । उनले भने, ‘अरु पार्टीमा शीर्ष नेताहरू नै विभागमा बस्ने प्रचलन छ । त्यही अनुकूल गर्ने कि सबैलाई काम गर्ने भूमिका दिने भन्ने किसिमको बहस हो । अब  त्यो डिमार्केसन नराख्ने भन्नेबारे छलफल चलिरहेको छ ।’
काँग्रेसमा सङ्गठन विभागका लागि, गोपालमान श्रेष्ठ, एनपी साउद, बालकृष्ण खाँण लगायतको उम्मेदवारी छ । अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्ध विभागमा परराष्ट्रमन्त्री नारायण खड्का, सुजाता कोइराला लगायत आकांक्षी छन् ।

सञ्चार विभागको जिम्मेवारी प्रवक्ता प्रकाश शरण महतले नै पाउने करिब निश्चित छ । विभागीय प्रमुखका लागि संस्थापन पक्षीय नेताहरुले लबिङ सुरु गरेका पाइन्छ । कार्यसम्पादन समितिमा पदाधिकारीसहित ३७ जा सदस्य सदस्य छन् । शीर्ष नेता सबै समेटिएको अवस्था छ ।

कार्यसम्पादन समितिमा रहेका नेताहरूलाई विभागीय जिम्मेवारी नदिए मुख्य विभागहरूमा नेता रमेश लेखक, प्रदीप पौडेल, शंकर भण्डारी गोविन्द भट्टराई, नैनसिंह महर, रामहरी खतिवडा लगायतको दाबी रहने देखिन्छ । 
कोइराला पक्षभित्र भने विभागमा अहिले सम्मानजक रूपमा हिस्सा हिसाब किताब भइरहेको देखिन्छ । २८ विभाग मध्ये कम्तीमा ८ वटा विभाग प्रमुख पाउनुपर्ने कोइराला पक्षको अडान छ ।

देउवा पक्षले बढीमा ५ वटा विभाग प्रमुख दिन सकिने बताएको छ । केन्द्रीय समितिमा संख्याको प्रतिशतका आधारमा विभाग प्रमुख दिइने देउवा पक्षीय एक पदाधिकारी बताए । केन्द्रीय समितिमा देउवाको ८२ र कोइराला पक्षको १८ प्रतिशतको हाराहारीमा उपस्थिति छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप