बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायती प्रधानमन्त्रीले भनेका थिए, ‘पुटिन महिला भएको भए यस्तो गर्दैनथे’, पुटिनले फर्काए  जवाफ

शुक्रबार, १७ असार २०७९, १३ : ३२
शुक्रबार, १७ असार २०७९

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा आक्रमण नगर्ने बताएका थिए । बेलायती प्रधानमन्त्रीले युद्धलाई घातक पुरुषत्वको सबैभन्दा उपयुक्त उदाहरणको रूपमा वर्णन गरेका थिए ।

जी–सेभेन शिखर सम्मेलनमा सहभागी हुन गएका बेलायती प्रधानमन्त्रीलाई जर्मन सञ्चारमाध्यमले रुसका राष्ट्रपति पुरुष भएकाले पनि द्वन्द्वका लागि जिम्मेवार छन् कि भनेर प्रश्न गरेका थिए । यसको जवाफमा बोरिस जोनसनले जेडीएफ प्रसारकलाई भनेका थिए, ‘यदि पुटिन महिला भएको भए मलाई लाग्दैन कि उनले यस्तो पागलपन गर्दथे । स्पष्ट रूपमा पुटिन महिला होइनन् । पुटिनको ‘माचो छवि’ ले युद्ध र हिंसामा मद्दत गर्छ । यदि तपाईं घातक पुरुषत्वको कुनै उदाहरण हेर्न चाहनुहुन्छ भने, यो युक्रेनमाथिको आक्रमण हो ।’

बेलायती प्रधानमन्त्रीको यो टिप्पणीको जवाफ दिँदै रुसी राष्ट्रपति पुटिनले बिहीबार भने, ‘जब बेलायतले फकल्याण्ड टापुमा सैन्य कारबाही गर्‍यो, त्यहाँ प्रधानमन्त्री मार्गरेट थ्याचर थिइन् । फकल्याण्डमा बेलायतको सैन्य कारबाही साम्राज्यवादको संकेत थियो । बेलायत अझै पनि औपनिवेशिक मानसिकताबाट बाहिर निस्कन सकेको छैन ।’

वास्तवमा, पुटिनले मार्गरेट थ्याचर महिला प्रधानमन्त्री भएको र फकल्यान्डमा सैन्य कारबाहीको आदेश उनैले दिएकी थिइन् भनेर भन्न खोजिरहेका थिए ।

कसको फकल्याण्ड

फकल्याण्ड वा माभिनस टापुहरू दक्षिणपश्चिम एट्लान्टिक महासागरमा अवस्थित छन् । बेलायतका मानिसहरू यसलाई फकल्याण्ड टापु भन्छन् भने अर्जेन्टिनाका मानिसहरू यसलाई माभिनास टापु भन्छन् ।

यो एउटा यस्तो टापु हो जुन अझै पनि बेलायत द्वारा नियन्त्रित छ । बेलायत र अर्जेन्टिनाबीच यसको सार्वभौमसत्तालाई लिएर विवाद छ ।

सन् १९८२ मा यस टापुको नियन्त्रणलाई लिएर बेलायत र अर्जेन्टिनाबीच युद्ध भएको थियो । बेलायती सेनाले अर्जेन्टिनाको दाबीलाई अस्वीकार गर्दै आएको छ । अर्जेन्टिनाले यो टापुमा आफ्नो अधिकार रहेको बताउँछ किनभने यो १८०० को दशकमा स्पेनी साम्राज्यको हिस्सा थियो । यसबाहेक अर्जेन्टिनाले ल्याटिन अमेरिकी मुख्य भूमिसँग आफ्नो निकटता पनि दाबी गर्छ ।

यस्तै, बेलायतले लामो समयदेखि आफ्नो प्रशासन र यहाँका नागरिक ब्रिटिश भएको तर्क दिने गर्छन् । यस टापुमा असाध्यै हावा चल्छ र रूखहरू शून्य बराबर छन् । पूर्व र पश्चिम फकल्याण्ड दुई महत्त्वपूर्ण टापुहरू हुन् । यसबाहेक सयौं स–साना टापुहरू छन् । टापु स्वायत्त छ तर बेलायतले यसको विदेश मामिला र रक्षाको हेरचाह गर्छ । यो टापुमा दलीय राजनीति छैन । जनवरी १, २००९ मा नयाँ संविधान लागू भएको थियो, जसमा कार्यकारी परिषद्लाई थप अधिकार दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप