शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुष्मिताको विवाह तीन पटक हुनै लागेको थियो : भन्छिन्, ‘भगवानले बचाउनुभयो’

शुक्रबार, १७ असार २०७९, १३ : ०२
शुक्रबार, १७ असार २०७९

बलिउड अभिनेत्री सुष्मिता सेनको जीवनमा थुप्रै मानिस आए, तर अहिलेसम्म किन उनले विवाह गरिनन् ? यसबारे तपाईंलाई पनि खुल्दुली लाग्ला । यसको जवाफ अब सुष्मिता सेनले दिएकी छिन् । सुष्मिताले ट्विङ्कल खन्नाको शोमा यसबारे खुलासा गरेकी छिन् ।

सुष्मिता सेन दुई छोरीकी एक्ली आमा हुन् । सुष्मिताले रेने र अलिषालाई धर्मपुत्रीको रुपमा पालेकी छिन् । ट्विङ्कल खन्नाको शोमा सुष्मिता सेनले विवाह, बच्चा र सम्बन्धबारे कुरा गरेकी छिन् । नायिकाले आफ्नो विवाह नहुनुमा छोरीहरु कहिल्यै पनि कारण नबनेको पनि स्पष्ट पारेकी छिन् । उनले भनिन्, ‘मेरा छोरीहरुले मेरो जीवनमा आएका हरेक व्यक्तिलाई खुला हृदयले स्वागत गरे । उनीहरुलाई इज्जत दिए । जहिले पनि सकारात्मक रहे ।’

त्यसो भए सुष्मिता किन अहिलेसम्म अविवाहित छिन् त ? सुष्मिताले यसबारे भनिन्, ‘जब मैले रेनेलाई धर्मपुत्रीको रुपमा स्वीकार गरेकी थिएँ, मेरो जीवनमा कोही पनि थिएन । त्यसपछि जो मेरो जीवनमा आए, उनीहरुले मेरो प्राथमिकता बुझ्न सकेनन् । खैर, म कसैबाट मेरो जिम्मेवारी साझा गर्न आशा पनि गर्दिनँ तर तपाईंले मलाई यसबाट टाढा होऊ चाहिँ भन्न सक्नुहुन्नँ । एक उमेरसम्म मेरा छोरीहरुलाई मेरो आवश्यकता छ । भाग्य नै हो, मैले आफ्नो जीवनमा निकै शानदार व्यक्तिहरु भेटेँ । मेरो कहिल्यै विवाह नहुनुको कारण एउटा मात्रै थियो कि उनीहरु निराश थिए । यसको मेरो बच्चाहरुसँग कुनै लेना–देना थिएन ।’

‘बच्चा कहिले पनि समस्या थिएनन् । तीन पटक मेरो विवाह हुनै लागेको थियो । भगवानले मलाई बचाउनुभयो । के डिजास्टर भएको थियो, त्यो म भन्न सक्दिनँ । यति मात्रै भन्छु कि भगवानले मलाई र मेरो बच्चालाई बचाउनुभयो ।’

सुष्मिता सेनको प्रेम सम्बन्ध सधैँ चर्चामा रहन्छ । अघिल्लो वर्ष मात्रै सुष्मिता र उनका प्रेमी रोहमन शलको ब्रेकअप भएको छ । यद्यपि, ब्रेकअपपछि पनि उनीहरु राम्रा साथीहरु हुन् । सन् २०१८ मा सुष्मिता र रोहमनबीच दोस्ती भएको थियो । रोहमन सुष्मिता सेनका छोरीहरुसँग निकै नजिक छन् । सुष्मिताको नाम रणदीप हुड्डा, बन्टी सजदेह, संजय नारंग, विक्रम भट्ट, मुदस्सर अजिज, वसिम अकरमसँग जोडिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप