ad
x

बन्न सक्छन् त स्वतन्त्र व्यक्ति राजनैतिक पार्टीको विकल्प ?

person explore access_timeअसार १७, २०७९ chat_bubble_outline0

गत स्थानीय तह निर्वाचनमा केही पालिकामा अनपेक्षित रुपमा स्वतन्त्र उम्मेदवारले वाजी मारे । यसले राष्ट्रिय राजनीतिक वृृत्तमा तरङ्ग सिर्जना गरेको छ । राजनीतिप्रतिको दृष्टिकोण वा हेराइमाथि प्रश्न उब्जिएको छ । सकारात्मक तथा नकारात्मक टीका–टिप्पणीले अर्थराजनीतिक सरगर्मी वढाएको छ  । यसले स्थापित सिंगो सामाजिक भाष्य वा मनोविज्ञानलाई चुनौती दिइरहेको छ । राजनीतिप्रति एकाएक स्वार्थगत आकर्षण बढाएको छ । सबैमा मनोगत एवं भावनात्मक महत्वाकाङ्क्षा जगाएको छ । यसलाई सुखद नै भन्नु पर्ला ।


     यही पृष्ठभूमिमा पछिल्लो समय स्वतन्त्र पदावली असाध्यै चर्चामा रहेको छ । यद्यपि वस्तुतः वर्ग समाजमा निरपेक्ष स्वतन्त्र भन्ने विचार, वस्तु वा सत्ता हुँदैन । स्वतन्त्रप्रति एक किसिमको बनीबनाउ मोह बढिरहेको छ । यहाँसम्म कि सबै सामाजिक रोगको सर्वरोगहारा औषधी नै स्वतन्त्र हो, वेथितिको थिति अनि विसंगतिको संगति नै स्वतन्त्र हो । यस्तै भावोत्तेजित मोहमा स्वतन्त्र बन्ने र बनाउने क्रम मात्र बढेको छैन, स्वतन्त्र दल नै स्थापना गरेर च्याँखे दाउ मार्फत् राजनीतिक अभिष्ट पुरा गर्ने सिलसिला पनि सुरु भएको छ । यो छिटोमीठो खाइहाल्ने फास्टफुडको शैलीमा आएको देखिन्छ, जुन क्रम अफै बढ्ने संभावना छ । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी यसैको पछिल्लो कडी हो ।



वास्तवमा कुनै पनि राजनैतिक पार्टी जतिबेला मन लाग्यो, त्यति नै बेला खोल्न मिल्ने खुद्रा पसल जस्तो होइन । भन्ने वित्तिकै कसैको उपभोगवादी भावना, इच्छा र आकाङ्क्षा  पुरा गर्ने साधन मात्र होइन पार्टी । यो स्वार्थ र अवसरको झरीमा ओडिहाल्ने छाता जस्तो पनि होइन । भलवाढी छोपेर निपाने विरौटा खेत रोपेजस्तो हतारमा दल निर्माण हुँदैन । यो आन्दोलनको लामो प्रक्रियाबाट मात्र संभव हुन्छ । तव मात्र यसले समाजमा खास विचार संपे्रषण गर्दै आफ्नो औचित्य प्रमाणित गर्न सक्दछ । अर्थात् पार्टी भनेको ऐतिहासिक आवश्यक्ताको रुपमा इतिहासको खास मोडहरुमा मात्र वन्ने गर्दछ । यसले आधारभूत राजनैतिक दृष्टिकोण अवलम्वन गर्दछ । सोही अनुरुपको खास उद्देश्य, कार्यदिशा, कार्यक्रम र गन्तव्य तय गरिएको हुन्छ । अन्तिम गन्तव्यमा पुग्न आन्दोलन वा संघर्षको खाका तय गरिएको हुन्छ ।

कसैको रहर, लहड, सनक, आग्रह–पूर्वाग्रह, महत्वाकाङ्क्षा र अवसरवादी माहौल छोपाइमा मात्र निर्माण गरिएको दल टिकाउ हुन सक्दैन । यस्तो भावनात्मक लहड र सनकमै खोलिएको पार्टीले समस्या समाधन गर्छ भन्नु अब सूर्य पश्चिमबाट उदाउँछ भन्नु वरावर हो । डा वावुराम भट्टराइले नयाँ शक्ति र रवीन्द्र मिश्रले विवेकशील साझा पार्टी खोल्दा पनि मैले यस्तै विश्लेषण गरेर एउटा आलेख लेखेको थिएँ । खास गरी कुनै पनि पार्टी जति सजिलै खोलिन्छ, त्यति नै सजिलो गरी थाहै नपाई पतन पनि हुन्छ । जति वढी निहीत स्वार्थ र अवसर केन्द्रीत हुन्छ, त्यति नै वढी दायरा साँघुरो बन्छ । यो पार्टी निर्माण र विघटनको द्वन्द्वात्मक सम्वन्ध हो ।

यता पुरानो राजनैतिक पार्टीहरुले पनि सिद्धान्त र विचारलाई केन्द्रमा राखेर राजनीति गरेको देखिदैन । उनीहरु पनि औसत कर्मकाण्डी, औपचारिक र ढोंगी बन्दै गइरहेका छन् । कर्मशीलभन्दा कुरौटे सावित हुँदै गएका छन् । एजेण्डा, इमान्दारीता र  नैतिकता भुल्दै गएका छन् । त्यसैले, थिति र संगतिभन्दा पनि वेथिति र विसंगति बढिरहेको छ । इमान–जमान, विवेक र सदाचार भन्दा पनि भ्रष्ट, अपराधिक र जालीझेली मनोवृत्ति मौलाइरहेको छ । श्रममा भन्दा शानमा, व्यवहारमा भन्दा आदर्शमा, धरातलीय यथार्थतामा भन्दा आडम्वरमा, सारमा भन्दा रुपमा अनि तथ्यमा भन्दा हल्ला–खल्ला वा प्रचारमा रमाउने उपभोगवादी गलत सँस्कृति झाँगिदै छ । यस्तो अर्थराजनैतिक साँस्कृतिक चरित्रले हामीलाई सही गन्तव्यमा पुर्याउँदैन । यसले केवल यस्तै वेमौसमी सांगीतिक धुनहरु बजाउला,  कसैलाई अन्जानमै नचाउला अनि प्रवेश पास पनि दिलाउला । तर तपाईं हामीले खोजेको वा चाहेको सूर, ताल र लय भने मिलाउन सक्दैन । तपाईं हामी सबैले यो कटु वास्तविकतालाई वुभ्mनु अनिवार्य छ ।

मूलतः राजनीति भनेको निश्चित सिद्धान्त र विचारद्वारा निर्देशित सामाजिक जीवनलाई चलायमान गराउने संवाहक शक्ति हो । सिंगो समाजलाई नेतृत्व गर्ने मेरुदण्ड हो । यसकारण राजनैतिक पार्टी सही दृष्टिकोणद्वारा निर्देशित हुनैपर्दछ । वस्तुतः समाज विकास वा परिवर्तनजस्तो निरन्तर आन्दोलनको चालक शक्ति भनेको सिद्धान्त नै हो । त्यसलाई परिचालन र संगठित गर्ने अहम् साधन पार्टी हो । अर्थात् व्यक्तिको विकल्प पार्टी हुन सक्छ तर पार्टीको विकल्प दन्त्य कथाको राजकुमार हुन सक्दैन । कहीँ कतै भइहाले पनि त्यो क्षणिक हुनुको साथै उपलव्धि वा परिणाममुखी हुँदैन । त्यसैले पार्टी बिग्रिदैछ वा भत्किदैछ भने पनि रुपान्तरण गरेर समाधन खोज्नु सही निर्णय हुन्छ । वरु बाटो विराउँदै गएको पार्टीमाथि जनखवरदारी र जननिगरानी वढाउनु हाम्रो दायित्व हो, तव मात्रै यसले सही दिशा सहितको नेतृत्व प्रदान गर्न सक्दछ ।

सारतः स्वतन्त्र व्यक्ति वा पार्टी भनेको पार्टी प्रतिको असन्तुष्टी, आग्रह, पूर्वाग्रह र वितृष्णाको भारी विसाउने उकाली बाटोको चौतारी हो । अव त यो अवसरवादी महत्वाकाङ्क्षा अभिव्यक्त गर्ने डवली वन्ने खतरा देखिन्छ । यद्यपि न त यो अन्तिम गन्तव्य हो, न त यो समाधन नै हो । मनको वह, भावना, पीडा, चाहना, आग्रह, पूर्वाग्रह, उपभोगवादी वासना र प्यास मेटाउने अस्थायी मूल मात्र हो । सहज र मैदान बाटो भएर चुचुरा चढेको रोमाञ्चकारी सपना त देख्न सकिएला तर  विपना वा यथार्थ त्यस्तो हुँदैन । धरातल विना हावामा महल खडा गर्ने कथा सुन्दा सवैको नजर माथि माथि आकाशमा पुग्दछ, जुन वेला दुइ कदम अघिको खाल्डोमा हाम्रो पाइला फस्दैछ भन्ने न्युनतम् ज्ञान हुँदैन । किनकि हावाको महल कल्पना हो भने अगाडिको खाल्डो यथार्थ हो । अर्थात् कठिन र झन्झटिलो भएपनि यथार्थलाई आत्मसात गर्नैपर्दछ । शिखरमा पुग्नु छ भने सहज र अप्ठ्यारो अनि उकालो र तेर्सो सवै हिँडनु पर्दछ । अझ राजनैतिक आन्दोलनमा तसहजता र जटिलता दुवै झेल्नै पर्दछ । यो सार्वभौम नियम हो ।

 त्यसैले हामी मनोगतवादी भन्दा वस्तुवादी हुनु पर्दछ । भावना भन्दा विचारद्वारा निर्देशित हुनु पर्दछ । सिद्धान्त र विचार सहितको भावना अंगिकार गर्नु पर्दछ । राजनीति र राजनीति भित्रको एजेण्डा आत्मसात गर्नु पर्दछ ।  निरपेक्ष भावना र चाहनाको कुरा गरेर गन्तव्यमा पुगिदैन । यद्यपि स्वादिलो, सहजता र सन्तुष्टि भने भावनात्मक र प्राविधिक कुरामा हुने गर्दछ ।  तर यस्तो मनचिन्ते कुराले समस्याको चुरो पत्तो लगाउन सक्दैन । चुरो पत्तो लगाउन नसक्नु भनेको निकास वा समाधन पहिल्याउन नसक्नु हो । अर्थात् मैदान बाटोबाट मात्र सगरमाथा पुग्ने स्वैर कल्पना त गर्न सकिन्छ तर यथार्थमा पुग्न सकिदैन । यस्तो काल्पनिक भावनाले क्षणिक मजा, सन्तुष्टि र रोमाञ्चकता त पैदा गर्ला । उत्तरआधुनिक सँस्कृति हावी भइरहेको समाजमा ठूलै हिस्सा जनतालाई भ्रमित पार्न पनि सकिएला । चुनाव पनि जितिएला, पात्र परिवर्तन पनि होला । युवा पनि आउलान् । पद–प्रतिष्ठाको अवसर पनि पाइएला । तर राज्यव्यवस्थाको चरित्र वदल्न सकिदैन । राज्यसत्ताको चरित्र, कार्यशैली र सोच चिन्तन नवदलिएसम्म समाजमा गुणात्मक परिवर्तन हुँदैन । यो वस्तुगत सच्चाइलाई हामी सवैले चिन्तन–मनन गर्न जरुरी छ ।

 तसर्थ, समाजलाई हमेशा विचारले दिशानिर्देश गरिरहेको हुन्छ । त्यस्तो विचार राजनीतिक पार्टीले मात्र अंगिकार गर्दछ । यद्यपि कुन पार्टीको विचार सही छ भनेर अन्वेषण गर्ने काम सर्वाधिक विचारणीय पक्ष हो । स्वतन्त्र र स्वतन्त्र पार्टीलाई समर्थन गर्नु भनेको नितान्त भावनाको कुरा हो । नयाँ गैर–राजनीतिक अनुहारहरुको उत्कट लालशा अभिव्यक्त हुने उत्तरआधुनिक मनोविज्ञानको उपज हो । राज्यसत्ताको चरित्र वदल्न र अमूल रुपान्तरणको लागि होइन । सोच, चिन्तन र दृष्टिकोण वदल्न होइन । उनीहरुको गुलियो नारामा पनि औसत परम्परागत झल्को उही छ ।

नेपालको भीर पहरामा यस्ता धेरै सुगरकोटेड नारा र प्रतिवद्धता गुञ्जिसकेको छ अनि नदीनालामा वगिसकेको छ । नागरिकको कान कानमा परिसकेको छ  अनि दिलदिमागमा घुसिसकेको छ । भीषण संघर्षको प्रक्रिया गुज्रिसकेको छ । अर्थात् यस्ता नारा र कार्यक्रम पटक्कै नयाँ होइनन् । हामीलाई नारा र प्रतिवद्धताको कत्ति पनि अभाव छैन । अभाव निरन्तर प्रक्रियामार्फत् व्यवहारिक कार्यान्वयनको हो । योजना र कार्यक्रमलाई अन्तिम उद्देश्य प्राप्त नभएसम्म आन्दोलनको रुपमा निरन्तर अघि वढाउन नसक्नु हो ।

 त्यसैले कसैको भावना र भ्रममा वहकिनु भन्दा सचेत भएर आफ्नो निर्णय गर्नुपर्दछ । यो वा त्यो नाममा कसैको वहकाउ, भावना, लहड, सनक र महत्वाकाङ्क्षाको पछि लाग्दा गलत गन्तव्यमा पुग्ने खतरा रहन्छ । कसैको चंखे वोलीको लोलीमा धेरै तरङ्गित वा हौसिएर पछि लाग्नु आफ्नै कमजोरी हुनेछ । लेख्य र कथ्य आदर्शका वाणी रुप मात्रै हुन् । व्यवहारिक कार्यान्वयनको श्रृङ्खला र योजना सार पक्ष हो । कसैको प्रवचन, माहौल, भीडभाड, हल्लाखल्ला वा प्रचारकै भरमा विश्वास गर्नु वैचारिक–राजनैतिक दरिद्रता र राजनैतिक सुझबुझको कमी हो । सचेत नागरिकहरुले पनि यस्तो दरिद्रता व्यक्त गर्नु भनेको समाजलाई गुमराहमा राख्नु हो । यसकारण विग्रन लागेको वस्तुलाई रुपान्तरण गरेर भएपनि राजनैतिक पार्टीको साँचो विकल्प पार्टीमा नै खोज्नुपर्दछ । तर अपवादमा वाहेक स्वतन्त्र व्यक्ति वा पार्टी राजनैतिक पार्टीको विकल्प वन्न सक्दैन । फलामले फलामै काट्छ भनेभैm पार्टीले सिर्जना गरेको समस्या पार्टीले मात्रै समाधान गर्न सक्दछ । यो वस्तुगत सच्चाइ सवैले आत्मसात गर्न जरुरी छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।