शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धर्म परिवर्तनको डढेलोले देशलाई नै संकटमा पार्छ : कमल थापा

शुक्रबार, १७ असार २०७९, १२ : २२
शुक्रबार, १७ असार २०७९

राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले धर्म परिवर्तको डढेलोले सिंगो देशलाई नै ग्रस्त पारिरहेको टिप्पणी गरेका छन् । एकातिर बाह्य शक्तिको प्रभाव र अर्कोतिर धर्म परिवर्तनको डढेलोले सिंगो मुलुकनै संकटमा पर्ने उनको दाबी छ ।

पार्टीको अन्तक्रिया कार्यक्रममा सुर्खेत आएका उनले शुक्रवार बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै भने, ‘धर्म परिवर्तनको डढेलोले हिन्दु राष्ट्रको दियो निभ्न दिनुहुँदैन । विश्वमा सबैभन्दा धर्म परिवर्तन हुने देशमा नेपाल परेको छ । यसलाई नियन्त्रण नगर्ने हो भने केही वर्षमै नेपालको परम्परागत धार्मिक समुदायहरू अल्पमतमा पर्न सक्ने खतरा छ ।’

अध्यक्ष थापाले किरात र बुद्धिस्टहरू खतरामा रहेको बताउँदै हिन्दु धर्ममाथि पनि नकारात्मक खतरा भइरहेको बताए । 

‘म सरकारसँग माग गर्दछु, यसलाई रोकौँ,’ उनले भने, ‘अहिलेसम्म लाखौँको दरले धर्म परिवर्तन हुँदा पनि सरकारले ध्यान दिएको छैन । करोडौं लगानी गरेर धर्म परिवर्तनका कार्यहरु भइरहेका छन् । धर्म संस्कृतिको जगेर्ना गरेर,  परम्पराको रक्षा गरेर देशको विकास गर्न सकिन्छ । यही नै उपयुक्त हो भन्ने राप्रपा नेपालको बाटो हो ।’ 

थापाले आफ्नो पार्टीले थालेको अभियान र समग्र राष्ट्रिय राजनीतिको गतिविधिका बारेमा जानकारी गराएका थिए । उनले भने,‘राप्रपा नेपाल कुनै पार्टीबाट फुटेर, विभाजन भएर जन्मिएको होइन, वैकल्पिक मार्गचित्र अंगालेर स्थापना आएको हो । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने मान्यता राप्रपा नेपालले लिएको छ ।’ 

उनले तत्कालीन नेकपालाई जनताले दुई दुई तिहाइ बहुमत दिए पनि सरकारले आफ्नो कार्यकाल पुरा गर्न नसकेको भन्दै अहिले परमादेशबाट सरकार चलेको भन्दै आपत्ति जनाए । 

महाधिवेशनमा पराजित भएपछि कमल थापाले पार्टी विभाजन ग¥यो भन्ने कुरा यथार्थमा आधारित नभएको बताए । उनले भने, ‘राजनीतिक परिवर्तन आर्थिक परिवर्तनबिना अधुरो हुन्छ । राजनीतिक परिवर्तनले जनताको अवस्थामा सुधार ल्याउन सक्दैन । त्यसको कुनै औचित्य छैन ।’ 

साथै अध्यक्ष थापाले वर्तमान अवस्थाको सङ्घीयताको मोडल सही नभएको तर्क गरे । उनले भने, ‘सङ्घीयताको वर्तमान स्वरूपमा परिवर्तन गरेर स्थानीय सरकारलाई बलियो बनाई दुई तहको सङ्घीयता कायम राखिनुपर्छ ।’  

थापाले राजसंस्था पुनर्स्थापना हुन नसक्ने भएकाले जनभावनाको सम्मान गर्दै लोकतन्त्रको बाटोमा हिँडेको बताए । उनले प्रदेश संरचनाको कुनै औचित्य नभएको पनि दाबी गरे । थापा राप्रपा नेपाल सुरु गरेको अभियानका क्रममा सुर्खेत आएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप