मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

छानबिनका लागि मार्ग प्रशस्त गर्न मुख्य रजिष्ट्रार कुँवर बिदामा बसे, पन्थीलाई कामुको जिम्मेवारी

शुक्रबार, १७ असार २०७९, १२ : ००
शुक्रबार, १७ असार २०७९

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लाल बहादुर कुँवर असोज ९ गतेसम्म बिदामा बसेका छन् । सर्वोच्च अदालतको भवन निर्माणसम्बन्धमा छानबिन हुने भएपछि उनी असोज ९ गतेसम्म बिदामा बसेका हुन् । कुँवर साढे दुई महिना विदामा बसेसँगै सर्वोच्चका रजिष्ट्रार नारायण पन्थीलाई कामु मुख्य रजिष्ट्रारको जिम्मेवारी दिइएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पन्थीलार्य कामु मुख्य रजिष्ट्रारको जिम्मेवारी दिएका हुन् । 

निर्माणाधीन सर्वोच्च अदालत र भक्तपुर जिल्ला अदालतको भवनमा भ्रष्टाचार भएको भन्दै कामु प्रधानन्यायाधीशले छानबिन थाल्ने बताएपछि छानबिनका लागि मार्ग प्रशस्त गर्न मुख्य रजिष्ट्रार कुँवर असोज ९ गतेसम्म बिदामा बस्न लागेका हुन् । कुँवरले बिहीबारबाट लागु हुने गरी विदा लिएको सर्वोच्च अदालत श्रोतले बताएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशहरु आन्दोलनमा रहँदा जबरालाई सहयोग गरी अन्य न्यायाधीशलाई असहयोग गरेको आरोप पनि मुख्य रजिष्ट्रार कुँवरलाई लाग्ने गरेको छ । सोही कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसँग सम्बन्ध राम्रो नभएपछि यसअघि पनि उनी दुईपटक बिदामा बसिसकेका छन् । न्याय परिषद्ले उनलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेपछि कामु प्रधानन्यायाधीश कार्कीले कुँवरलाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका थिए । 

तर मुख्य रजिष्ट्रार कुँवरले भविष्यमा प्रधानन्यायाधीशको रोलक्रममा पर्ने गरी मुख्य न्यायाधीश पद पाए जाने, तर न्यायाधीशको पदमा मात्रै नजाने अडान लिएपछि उनलाई नियुक्ति दिइएको स्थानमा पठाउन सकिएको थिएन । न्यायाधीश पदमा नजाने भए राजीनामा दिन वा अन्य विकल्प दिएर भवन निर्माणसम्बन्धी छानबिनमा सहयोग गर्न कामु प्रधानन्यायाधीशले आग्रह गरेपछि कुँवर साँढे दुई महिना लामो विदामा बस्न लागेका हुन् ।

कुँवरले घरविदाबाट कट्टा हुने गरी विदा लिन निवेदन दिएका थिए । कामु प्रधानन्यायाधीश असोज १५ गते रातीबाट उमेरहदका कारण अनिवार्य अवकाशमा जाने भएपछि उनी असोज ९ गतेसम्म सञ्चित बिदाबाट कट्टा गर्नेगरी बिदामा बस्न लागेका हुन् । असोज १५ गते रातीबाट अवकाश पाउने भएपनि कार्कीले एक महिना अगाडिबाटै मुद्दा मामिला र अन्य प्रशासनिक काम नहेर्ने भएकाले मुख्य रजिष्ट्रार कुँवरले असोज ९ गतेसम्मका लागि बिदा स्वीकृत गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप