पौराणिक कथा : मानव जातिका इतिहास

person explore access_timeअसार १७, २०७९ chat_bubble_outline0

 प्राचीन कालमा ययाति नामका सम्राट् थिए । चन्द्रमाको वंशमा जन्मेका यी सम्राट्को राजधानी हाल भारतीय भूभागमा पर्ने लखनउ आसपास थियो । एकपटक उनी दिग्विजय गर्दै हिँडेका थिए । बाटामा शुक्राचार्यकी पुत्री देवयानीलाई भेटे, जो त्यतिबेला साथी शर्मिष्ठाका कारण इनारमा डुबेकी थिइन् । ययातिले उनको दुःख देख्न सकेनन् र इनारबाट उतारिदिए । उनको उद्धार गरी ययाति जान के लागेका थिए देवयानीले हात समाउँदै भनिन्–


‘यस्तो अवस्थामा एक्लै छाडेर जान पाउनुहुन्न ।’



‘किन र देवी !’ आशय बुझ्न खोज्दै ययातिले भने–



‘घर जानुस् न, कहाँ एक्लो हुनुहुन्छ ?’

‘कुन हो मेरो घर ?’

‘कुन भन्ने, बाबु शुक्राचार्यको घर नि ।’

‘त्यो त आधा मात्र सत्य हो ।’

‘पूर्ण सत्य के हो त ?’

‘पूर्ण सत्य यही हो कि अब तपाईँको घर र मेरो घर एउटै हो ।’

‘कसरी ?’

‘कसरी भन्ने, भरखरै हात समाउनु भएको होइन ।’

‘इनारबाट उतार्न पो समातेको त ।’

‘अब जीवनबाटै उतार्नुपर्ने हुन्छ ।’

‘मैले ?’

‘हो तपाईँले ।’

‘तर म त क्षत्रिय हुँ ।’

‘के फरक पर्छ त ?’

‘तपाईँ ब्राह्मण कन्या भन्या होइन ?’

‘हो म ब्राह्मण कन्या नै हुँ ।’

‘अनि ?’

‘के अनि ?’

‘यही कि ब्राह्मण कन्या र क्षत्रिय कुमारको विवाह सम्भव हुन्न ।’

‘असम्भव हुनुको कारण ?’

‘किनकि यस्तो चलन छैन ।’

‘कसले चलाएको हो यस्तो चलन ?’

‘मानिसले नि अरू कसले ?’

‘त्यस्तो चलन चलाउनेले यस्तो चलन चलाउन सक्दैन ?’

‘नसक्ने त होइन तर एक्कासी त्यहाँसम्म किन पुग्ने भनेको नि ।’

त्यसपछि देवयानीले थप सम्झाउँदै भनिन्–

‘पहिलो कुरा त नाता सम्बन्धभित्र पर्दैन भने जो भए पनि आपसी मन्जुरीमा मानिसले मानिसको साथमा विवाह गर्ने छुट पाउनुपर्छ । दोस्रो कुरा ब्राह्मण कन्याको साथमा ब्राह्मण कुमार नै चाहिने हो भने पनि मेरो लागि त्यो सम्भव छैन । किनकि बृहस्पतिपुत्र कचका श्रापका कारण मेरो विवाह ब्राह्मण कुमारसित हुनै सक्दैन । तेस्रो कुरा तपार्ईँले मेरो हात समातेर उद्धार गर्नुभएको छ ।’

ययातिले अनेक तरिकाले थप सम्झाउने प्रयास गरे तर देवयानीको जिद्दीको अगाडि केही लागेन र उपयुक्त समयमा जन्ती लिएर आउने आश्वासन दिँदै हिँडे ।

बिस्तारै देवयानीमाथि राजपुत्री शर्मिष्ठाद्वारा भएको दुव्र्यवहारको कुरा शुक्राचार्यले पनि थाहा पाए । त्यसपछि उनलाई यति नरमाइलो लाग्यो कि एकैछिन पनि त्यहाँ बस्न उपयुक्त लागेन र वृषपर्वाको दरवार छाडेर जाने तरखर गर्न लागे । गुरुले छाडेर जाँदैछन् भन्ने कुरा थाहा पाएपछि वृषपर्वाले रोक्ने प्रयास गरे । यसो त शुक्राचार्य आफैँ पनि उनलाई छाडेर जान चाहन्नथे । शर्मिष्ठाको उदण्डताले मात्र अप्रिय निर्णयमा पुगेका थिए । त्यसैले वाध्यता देखाउँदै भने–

‘राजन् ! तपाईँसित केही गुनासो छैन । तपार्ईँकी छोरी शमिष्ठाका कारण छोरी देवयानीको चित्त दुखेको छ । उनलाई मनाउन सक्नुहुन्छ भने मेरो भन्नु केही छैन ।’

त्यसपछि वृषपर्वाले देवयानीलाई बोलाएर भने–

‘देवयानीजी ! यो वृषपर्वा सविनय माफी माग्दै छ । विगतमा जे भयो भयो बिर्सिदिनु होला । आइन्दा त्यस्तो हुन पाउने छैन । एक पटकलाई मेरो मुख हेरी रोकिन आग्रह गर्छु । सट्टामा जे चाहिन्छ माग्न सक्नुहुन्छ । मसँग भएको चीज पाउनु हुनेछ ।’

देवयानी पनि के कम थिइन् र । यस्तै मौकाको प्रतीक्षामा थिइन् । घुर्की देखाउँदै भनिन्–

‘राजन् ! शर्मिष्ठाले मेरो अपमान गरेकी छन् । तत्कालै सम्राट् ययाति नआएका भए ज्यानै जाने थियो । यदि उनी मेरी दाशी बनेर रहन स्वीकार्छिन् भने मात्र यो सम्भव हुनेछ ।’

विचरा वृषपर्वा के गरुन् । गुरु नै उनका मार्गदर्शक थिए । मार्गदर्शकले नै छाडेर गएपछि आफ्नो हालत के हुन्थ्यो उनैलाई थाहा थिएन । त्यसैले उनले शर्त स्वीकार गर्दै भने–

‘ठीक छ गुरुपुत्री ! त्यसो भन्नुहुन्छ भने त्यही सही ।’

यति भनेर उनी हिँडे । त्यस दिनदेखि शर्मिष्ठा दाशी बनेर देवयानीको सेवा गर्न लागिन् । केही समयपछि राजा ययाति र देवयानीको विवाह भयो । देवयानीले पतिगृह जाँदा उनी पनि दाशी बनेर सँगै गइन् ।

समय बित्दै गयो । ययातिले शर्मिष्ठालाई पनि विवाह गरी दशीको स्थानबाट महारानीको पदमा पदोन्नति गरिदिए । रहदा बस्दा देवयानीको तर्फबाट यदु र तुर्वसु दुई भाइ छोरा भए भने शर्मिष्ठको तर्फबाट अनु, दु्रह्यु र पुरु तीन छोरा जन्मे ।

पछि गएर यदुका सन्तान यादव कहलाए । पुरुका सन्तान पौरवको नामले प्रख्यात भए । द्रुह्युका सन्तान पछि गएर द्राविण र अनुका सन्तानहरू क्रमशः आनव, आङ्ल हुँदै अङ्ग्रेज हुन पुगेका हुन् भन्ने भनाइ छ । अनु पाञ्चाल नरेश दिवोदासका सन्तान सौदासहरूद्वारा मारिएपछि तुर्वसु उनीहरूका डरले भागेर तुर्क देश (तुर्किस्तान) तिर गएर बस्न लागे ।

वेदमा तुर्वसुलाई तौर्वस भनिएको छ । बिस्तारै उनका सन्तान तौर्वसबाट यौर्वस हुँदै यवन बनेर मध्यपूर्वमा छरिएर रहन लागे । 

तिनै यवन बन्न पुगेका तौर्वसहरूले धर्मान्तरण गरी त्यतैको धर्म अप्नाउन थाले । तथापि उनीहरूले आफ्ना पुर्खा चन्द्रमालाई भने बिर्सन सकेनन् । फलतः अहिले पनि कुनै पर्व विशेषमा चन्द्रदर्शन नगरी खाँदैनन् र आफ्ना झण्डामा समेत उनै चन्द्रमाको चिह्न राखी सम्मान गर्दै आएका छन् । 

पौराणिक ग्रन्थहरूमा भेटिने यस्ता प्रसङ्गमा केकति सत्यता छन् त्यो त थाहा छैन तर जहाँसुकै रहेबसेका भए पनि र जुनसुकै धर्मसम्प्रदायका भए पनि संसारकै मानिस एउटै पुर्खाका सन्तान हुन् भन्ने कुरालाई भने बिर्सन मिल्दैन ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।