बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सप्तकोशी  नदी कटानले चार हजार घरपरिवार उच्च जोखिममा

शुक्रबार, १७ असार २०७९, १० : ४५
शुक्रबार, १७ असार २०७९

अविरलको वर्षासँगै आएको बाढीले सप्तकोशी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ । नदीले धार परिवर्तन गरी बेलका नगरपालिका– ८ को लाहुरे खोच र डुम्रिबोटेमा कटानलाई तीव्रता दिएका छन् ।

नदी तटीय क्षेत्रका स्थानीयवासी वर्षौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । कोसी सम्झौताअनुसार भारत सरकारले नदीको दुवैतर्फ तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको स्थानीयबासी बताउँछन् । नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन पनि सकिएको छैन । सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्य भागबाट बग्छ । बर्खामा नदीले वर्षेनी धेरै मात्रामा जनधनको क्षति पुर्याउँदै आएको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रूपमा गर्दा सप्तकोशी किनाराका हजारौँ बासिन्दालाई घरबारविहीन बनाइसकेको छ ।

पछिल्लो समय सप्तकोशीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान गर्दा बेलका नगरपालिका– २, ३, ८ र ९ उच्च जोखिममा परेको छ । सप्तकोशीले धार परिवर्तन गरी गत वर्ष उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोचमा कटान गरी नदी पस्न लागेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्ष चार हजार घरपरिवार उच्च जोखिममा परेका हुन् । 

सप्तकोशीमा पानीको बहाव बढेसँगै कटान तीव्र रूपमा बढेकाले त्यस क्षेत्रका बासिन्दा जोखिममा परेको हो । कोसीले गत वर्ष ६ सय मिटर कटान गरेको थियो भने केही समय यता आएको बाढीले पुनः थप तीन सय मिटर कटान गरि सकेको छ । करिब दुई सय मिटर कटान गर्न बाँकी छ । दुई सय मिटर कटान भएमा सप्तकोसीले नयाँ मार्ग बनाएर त्यहाँ बसोबास गर्ने चार हजार घर परिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्षति हुने बराह क्षेत्र नगरपालिका– ६ का निवर्तमान वडा सदस्य श्यामबहादुर लिम्बूले बताए ।

सप्तकोशी कटानले गर्दा बराह क्षेत्र नगरपालिका– ६ चिलिया टप्पुमा रहेको बाल सेवा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, कौशीका आधारभूत विद्यालय बेलका नगरपालिका– ३ तर्फ सरस्वती आधारभूत विद्यालयसहित २ वटा स्वास्थ्य संस्था बिस्तापित भइसकेको लिम्बूले बताए । त्यहाँ रहेको एकता, सिर्जना, एबिसी, गिनेरी, रामनगर, बुधवारे, चिलिया टप्पु बिस्तापित हुने तयारीमा रहेको उनको भनाइ छ । सप्तकोशीको चारवटा भङ्गालो छ । पूर्व पट्टिको भङ्गालोले राजाबास चक्रघट्टीतर्फ कटानलाई तीव्र बनाएको छ भने पश्चिम पट्टिको भगालोले उदयपुरतर्फको चिलिया टप्पुमा क्षति पुर्याएको छ । सबैभन्दा खतरा पश्चिम भङ्गालो हो । यसले उदयपुर, सप्तरीको अधिकांश भागमा क्षति पुर्याउँछ । 

सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेपछि बराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीस्थित १० नम्बर नोज स्पर (बाँध) कटान गर्न थालेपछि स्थानीयबासी चिन्तित भएका हुन् । कोसीमा पानीको बहाव घटबढ हुने क्रम जारी रहेकाले कमजोर बनेको स्पर १० को मर्मत सम्भार तत्काल थाल्न माग गरेको छ । 

गत वर्ष निरन्तरको वर्षाका कारण नदीमा बढेको पानीको बहावले स्परको करिब ६० मिटर भाग कटान गरेपछि अस्थायी रूपमा मर्मत गरिएको थियो । तर अहिले त्यो अस्थायी बाँध बाढीले बगाइसकेको छ । सो क्षेत्रमा कोसीले कटान गरेको भागमा मर्मत नहुँदा त्यहाँका स्थानीयमा बाढीको त्रास बढेको हो । कोशीको पानीको सतह लगातार बढ्ने क्रममा रहेकाले कटान गरेका हुन् । कटान भएको ठाउँमा थप कटान रोक्न स्थानीयवासीले जिल्ला विपद् व्यवस्थापन समिति उदयपुरसँग अनुरोध गरेको छ । 

कटान गरेको क्षेत्रमा  प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, सुरक्षा निकायका प्रमुखहरु बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की स्थानीय सरोकारवालाहरूले स्थलगत अनुगमन गरी कटान रोक्नमा निगरानी गरी तत्काल मर्मत गर्न प्रदेश सरकार, प्रदेश योजना आयोग, नेपाल सरकार र भारत सरकारलाई आग्रह गर्ने निर्णय गरी जानकारी गराएको बेलका नगरपालिकाका नगर प्रमुख कार्कीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप