बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्न कसरत सुरु, हस्ताक्षर संकलनमा काँग्रेस–माओवादी

बिहीबार, १६ असार २०७९, १४ : ५४
बिहीबार, १६ असार २०७९

बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तनको कसरत सुरु भएको छ । सत्तारुढ गठबन्धनका दलहरु बीच पूर्वसहमति अनुसार सरकारको नेतृत्व फेर्न कसरत सुरु भएको हो । गत कात्तिक ११ गते गठबन्धनबाट सत्तारोहण गरेका नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र प्रसाद पाण्डे र नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँबीच आधाआधा समय सरकारको नेतृत्व गर्ने सहमती भएको थियो । उक्त सहमति कार्यान्वयन गर्नतर्फ  मुख्यमन्त्री पाण्डे सकारात्मक नदेखिएपछि गठबन्धनभित्रै सत्ता संघर्ष सुरु भएको हो ।

पूर्वसहमतिअनुसार चुनावी सरकारको नेतृत्व नेपाली काँग्रेसले पाउनुपर्ने भन्दै संघर्ष सुरु गरिएको प्रदेश सरकारका एक मन्त्रीले बताए । उनका अनुसार  आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पास भएलगत्तै पूर्वसहमतिअनुसार काँग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्री बन्नुपर्ने भन्दै संघर्ष सुरु गरिएको हो ।

‘तत्कालीन समयमा आलोपालो अनुसार काँग्रेस र एकीकृत समाजवादीले ६/६ महिना सरकारको नेतृत्व गर्ने सहमती भएको थियो । सो सहमती बाहिर आइसकेको छ,’ उनले भने, ‘सोहीअनुसार हामीले विगतको ६ महिना एकीकृत समाजवादीलाई सरकारको नेतृत्व दिएर सघाएका थियौँ । अब सरकारको नेतृत्व गर्ने पालो हाम्रो हो । एकीकृत समाजवादीले सहमति कार्यान्वयन गर्नुपर्छ ।’

उनका अनुसार आगामी केही दिनभित्रै प्रदेशमा मुख्यमन्त्री फेरिने गरी काँग्रेस छलफलमा सक्रिय रहेको छ । काँग्रेसले मुख्यमन्त्री पाउने विषयमा केन्द्रीय तहसम्म लबिङ भइरहेको उनले बताए । 

यता नेकपा माओवादी केन्द्र पनि प्रदेशको मुख्यमन्त्री पद सहमती अनुसार काँग्रेसले पाउनुपर्ने पक्षमा देखिएको छ । पूर्वसहमति अनुसार सरकारको नेतृत्व काँग्रेसले पाउनुपर्ने माओवादी केन्द्रका एक नेताले बताए । सहमती कार्यान्वयनबाट गठबन्धनको कुनैपनि दलहरु पछि हट्न नहुने उनको भनाइ छ ।

‘गठबन्धन भनेको सहमती र सहकार्य हो । हामीले गठबन्धनको मर्मलाई बुझ्नु पर्छ । सहमती अनुसार एकीकृत समाजवादीले प्रदेशको मुख्यमन्त्री पद काँग्रेसलाई हस्तान्तरण गर्नुपर्छ,’ उनले भने । तत्कालीन समयमा नेपाली कांग्रेस केन्द्रीय प्रवक्ता प्रकाशशरण महतको उपस्थितिमा काँग्रेस र एकीकृत समाजवादी बीच सहमति भएको थियो ।

बागमती प्रदेश सरकार परिवर्तनको लागि कुल १०७ जना सांसद् मध्ये ५४ जना सांसद्को समर्थन आवश्यक पर्छ । प्रदेशसभामा माओवादी केन्द्रका २३, काँग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका ३, नेमकिपाका २, राप्रपाका २ र जसपाको एक सांसद् रहेको छ भने प्रदेशसभामा नेकपा एमालेका ४३ जना सांसद् रहेका मध्ये २ जना स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेपछि ४१ जना मात्र कायम रहेका छन् ।

मुख्यमन्त्री फेर्न हस्ताक्षर संकलन गर्दै काँग्रेस र माओवादी केन्द्र

बागमती प्रदेशको सत्ता परिवर्तनको लागि काँग्रेस र माओवादी केन्द्र सक्रिय संघर्षमा उत्रिएका छन् । मुख्यमन्त्री परिवर्तनका लागि काँग्रेस र माओवादी केन्द्रका सांसदहरु हस्ताक्षर संकलनमा जुटेका छन् ।

बजेट पास भएलगत्तै मुख्यमन्त्री परिवर्तन गर्ने गरी काँग्रेस र माओवादी केन्द्रका सांसदहरुले एकीकृत समाजवादी विरुद्ध हस्ताक्षर संकलन कार्य सुरु गरेका छन् । मुख्यमन्त्री पाण्डेले सहज रुपमा सरकारको नेतृत्व गर्ने विषयको विगतको सहमती कार्यान्वयन गर्ने नदेखेपछि उनीहरु कांग्रेस र माओवादीले आफ्ना सांसदहरुको हस्ताक्षर संकलनमा जुटेका हुन् ।

काँग्रेसका सांसदहरुले सहमति अनुसार तत्काल मुख्यमन्त्री पाण्डेले राजीनामा गरेर सहजै सत्ता हस्तान्तरण गर्नुपर्ने माग गरेका थिए । उनीहरुको मागलाई बेवास्ता गर्दै मुख्यमन्त्री पाण्डेले केन्द्रीय नेतृत्वको निर्देशन कुर्ने बताएपछि काँग्रेस र माओवादी केन्द्रका सांसदहरु हस्ताक्षर संकलन जुटेको माओवादी केन्द्रका एक सांसदले बताए ।

उनका अनुसार आजको प्रदेशसभामा बजेट पास भएपछि सो विषयको थप प्रक्रिया अघि बढ्नेछ । ६ महिनापछि काँग्रेसलाई सरकारको नेतृत्व छोड्ने सहमती गर्दै एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष रहेका पाण्डे गत कात्तिक ११ गते गठबन्धनका दलहरु काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री पाण्डेलाई तत्कालिन समयमा बागमती प्रदेशका कुल १०९ जना सांसदमध्ये ५९ सांसदको समर्थन रहेको थियो । मुख्यमन्त्री पाण्डेलाई माओवादी केन्द्रका २३, काँग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाको एक सांसदको समर्थन रहेको छ भने प्रदेशसभामा नेकपा एमालेका ४३ जना सांसद् रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप