शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा मल अभाव कायमै, २० प्रतिशत रोपाइँ

बिहीबार, १६ असार २०७९, १४ : ०४
बिहीबार, १६ असार २०७९

मल अभावका बीच तनहुँका किसानले रोपाइँ सुरु गरेका छन् । जिल्लामा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहे पनि किसानले रोपाइँ सुरु गरेका हुन् । असार सुरु भएदेखि नै वर्षा भइरहेकाले किसानलाई धान रोपाइँमा सहज भएको छ । जिल्लामा हालसम्म करिब २० प्रतिशत भूभागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जिल्लाका विभिन्न भागमा किसान रोपाइँमा व्यस्त रहेको र करिब २० प्रतिशत भूभागमा रोपाइँ सकिएको जानकारी दिए ।

तिवारीले रासायनिक मल अभाव भए पनि प्राङ्गारिक मलको प्रयोग गरी मल अभावलाई पूर्ति गर्न सुझाव दिए । “मल अभाव हुँदा उत्पादन घट्न सक्छ, रासायनिक मलको अभावलाई पूर्ति गर्न गोबर मल, प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ,” उनले भने । धान रोपाइँ सकिएको करिब एक महिनापछि सुक्ष्म खाद्यतत्व प्रयोग गर्न तिवारीले किसानलाई सुझाव दिए । 

व्यास नगरपालिका–११ पोल्याङका किसान राजेन्द्र पौडेलले छिट्टै वर्षा भएकाले रोपाइँ गर्न सहज भएको बताए । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ११ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्यसमध्ये दुई हजार ५०० हेक्टर क्षेत्रफलमा चैते धानको रोपाइँ हुने गरेको छ । तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायत धान खेती हुने गरेको छ । गतवर्ष ११ हजार २७९ हेक्टर खेतमा धान खेती गरिएकामा ४४ हजार सात ८२ मेट्रिकटन धान उत्पादन भएको थियो । 

तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको तर ५१ हजार ५१० क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ । जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका क्षेत्र धान खेतीका लागि प्रख्यात मानिन्छन् । 

मल अभाव कायमै
खेतीपातीको समयमा मल अभाव हुँदा किसानलाई समस्या भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड दमौलीका अनुसार हाल पोटास मल मात्रै मौज्दात छ । युरिया, डिएपी, कृषि चुन मल अभाव रहेको शाखाले जनाएको छ । 

कार्यालयले चालु आर्थिक वर्ष २०७८–७९ को जेठ मसान्तसम्म एक हजार एक मेट्रिक टन मल वितरण गरेको जनाएको छ । चालु आर्थिक वर्षमा ६२४.४ मेट्रिक टन युरिया मल आएकामा सबै मल बिक्री वितरण भएको छ । ३२४.३५ मेट्रिक टन डिएपी र पाँच मेट्रिक टन कृषि चुन मल आएकामा त्यो पनि सबै बिक्री वितरण भएको शाखाले जनाएको छ । कार्यालयमा सुरुमा १४१.४ मेट्रिक टक युरिया रहेकामा पछि ४८३ मेट्रिक टन प्राप्त भएको थियो । त्यस्तै ११७.३५ मेट्रिक टन डिएपी रहेकामा पछि २०७ मेट्रिक टन प्राप्त भई सबै मल बिक्री वितरण भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप