शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागलुङ बजारमा खानेपानीको हाहाकार : कहिले सकिएला लिफ्ट आयोजना ?

बिहीबार, १६ असार २०७९, १३ : ४४
बिहीबार, १६ असार २०७९

वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निर्क्यौल गर्ने गर्छन् । वर्षात्को समयमा बागलुङमा खाने पानीको चरम समस्या हुन्छ । वर्षा याममा  धमिलोपानी आउने भएपछि आकाशबाट पानी परेको दिन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी कटौती गर्ने गरेको छ । 

पानी पर्ने दिन धारोमा पानी आउँदैन  

खानेपानीलाई शुद्धीकरण गर्न नसकेपछि नगर खानेपानी कार्यालयले धमिलो दूषित पानी बजारमा पठाउँदै आएको भन्दै उपभोक्ताले चर्को आलोचना गर्दै आएका छन् । धमिलो पानी वितरण नगर्न अदालतले समेत आदेश दिएको छ । सामान्य अवस्थामा समेत नगर खानेपानीले उपभोक्ताको मागअनुसार खानेपानी आपूर्ति गर्न सकेको छैन । नगरका उपभोक्तालाई स्वच्छ खानेपानी उपलव्ध गराउने गरी नगर खानेपानी लिफ्ट आयोजना निर्माणधिन अवस्थामा छ ।

आयोजना सकेर घर–घरमा पानी पुर्याउने समयमा आयोजनाको काम कछुवा गतिमा भइरहेको छ । काठे खोलाको पानी शुद्धीकरण गरेर लिफ्टमार्फत बागलुङ बजार ल्याउने आयोजनाको काम बल्ल ८० प्रतिशत पूरा भएको छ । नगर खाने पानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले पानी पर्दा मुहानमा भल पस्ने समस्या भएका कारण धमिलो पानी उपभोक्तामा नपुगोस् भनेर पानी पर्दाको दिन खानेपानी वितरण नगरिएको बताए । 

“सामान्य अवस्थामा पानी फिल्टर गरेर पठाउने गरेका छौँ तर पानी पर्दा धमिलो पानी आउँछ फिल्टरले धान्दैन” उनले भने, “लिफ्ट आयोजना नबन्दासम्म बागलुङ बजारमा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न सकिँदैन, अस्थायी रुपमा खाने पानी शुद्धीकरण गर्ने काम भइरहेकै छ, खानेपानी राम्रो आउँदासमेत माग धान्नै समस्या हुने अवस्थामा पानी नआउँदा उपभोक्तालाई समस्या नै हुन्छ ।”

खानेपानीको समस्या भएपछि बागलुङ बजारका उपभोक्ताले खानेपानी ल्याउनका लागि उपल्लाचौरको अम्बोट, तित्याङ र सुलडाँडा पुग्ने गरेका छन् । बर्खा लागेपछि शुद्ध खानेपानीको खोजीमा मूलको पानी ल्याउन उपभोक्तले समय खर्चिनुपर्ने भएको छ । शुद्ध खानेपानी वितरण नभएको भन्दै उपभोक्ताले बागलुङ नगरपालिका, जिल्ला प्रशासन तथा नगर खानेपानी संस्थालाई ध्यानार्कषण गराउँदै आएको उपभोक्ता डिल्ली गौतमले बताए ।

बागलुङ नगरपालिका–३ काठेखोलामा निर्माणाधीन खानेपानी आयोजनाको काम निर्माण सुरु भएको चार वर्षमा ८० प्रतिशत प्रगति भएको छ । लिफ्ट आयोजना सम्पन्न भएपछि नगरवासीले खानेपानीमा राहत पाउने अवस्था भए पनि आयोजनाको काम कछुवा गतिमा भएको उपभोक्ताले गुनासो गर्दै आएका छन् ।

लिफ्ट खानेपानी आयोजना जिल्लाकै ठूलो लिफ्ट आयोजना हो । आयोजना पूरा नहुने  र रेश तथा लेखानीबाट ल्याइएको पानी नियमित नहुँदा नगरपालिकामा खानेपानीको हाहाकार हुन्छ । दुई वर्षमा सक्ने गरी निर्माण सुरु भएको यो आयोजना चार वर्ष बित्दासमेत ८० प्रतिशत मात्रै काम सकिएको छ । नगरपालिकामा चौबीसै घण्टा शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय साझेदारीमा चार वर्ष अघि आयोजना सुरु भएको थियो । 

दुई वर्षमा सम्पन्न गर्ने गरी २०७५ असार ३१ गते रु ३२ करोड २५ लाख लागतमा कन्काई जयमाता जेबीले ठेक्का सम्झौता गरी निर्माण थालेको आयोजनाको काम चार वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन । यही गतिमा आयोजना बढेमा काठे खोलाको पानी बजारमा ल्याउन अझै एक वर्ष लाग्ने निश्चित छ । खानेपानी आयोजनास्थल भौगोलिक रुपमा कमजोर हुनु, निरन्तर पहिरो जानुजस्ता कारणले आयोजनाको लागतसमेत बढेर गएको छ ।  
सत्तरी प्रतिशत नेपाल सरकार र ३० प्रतिशत स्थानीय श्रमदानबाट सुरु गरिएको आयोजनाले अहिलेसम्म ११ किमि पाइप लाइन विस्तार, सात लाख लिटरको दुईवटा मुख्य ट्याङ्की, प्रशोधन केन्द्र निर्माण गरिसकेको छ । आयोजनाको सहायक प्रशोधन केन्द्र र मोटर जडान तथा विद्युतीकरणको काम अझै बाँकी छ । 

खानेपानी सङ्कलनका लागि आयोजनाले रातमाटामा एउटा पाँच लाख लिटर र अर्को दुई लाख लिटरको ट्याङ्की निर्माण गरिसकेको छ । काठेखोलाको पानी तान्ने पाँचवटा सम वेयल, आयोजनास्थलमा खानेपानी सङकलन र ट्याङ्की निर्माण दुई वर्ष अघि नै भइसकेको छ । कोरोना महामारी र पहिरो रोकथामका लागि थप पूर्वाधार निर्माण गर्दा आयोजनाको काममा ढिलाइ भएको निर्माण व्यवसायीको भनाइ छ ।

अहिले म्याद सकिएको आयोजना पुससम्म म्याद थपेर सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बागलुङ बजारमा काठेखोला गाउँपालिकाको रेश, भूदी र रिठेखोलाको पानी वितरण हुँदै आएको छ । नगरपालिकाको जनसङ्ख्या वृद्धि भएपछि खाने पानीको समस्या बढ्दै जाँदा काठे खोलाको पानी लिफ्टमार्फत  तानेर प्रशोधन गरी वितरण गर्ने उद्देश्य यस आयोजनाको छ । आयोजनास्थलमा सुरक्षित ड्याम तथा पहिरो संरक्षणका लागि थप रु छ करोड बढी लागत बढ्ने अनुमान गरिए अनुसार बजेट थप भएको छ भने अहिले ट्रान्सफर र मोटरसमेत परिवर्तन गर्नका लागि पुनः मूल्याङ्कनको काम भइरहेको छ । 

पुससम्म खानेपानी बजारवासीलाई पुर्याउने गरी काम भइरहेको निर्माणको जिम्मा पाएको कन्काई जय माता जेभीका इञ्जिनीयर विक्रम अधिकारीले बताए । “भौगोलिक जटिलता र कोरोनाले ढिलाइ भएको हो, अहिले धमाधम काम भइरहेको छ, ८० प्रतिशत आर्थिक र भौतिक प्रगति भइसकेको छ” उनले भने, “पहिरो रोकथामका लागि सम्झौताभन्दा बढीको कामको मूल्याङ्कन भइसकेको छ, अब पुसमा आयोजनाको काम सकिन कुनै समस्या देख्दिन ।” आयोजनास्थलमा पहिरो जाने र आयोजनाको स्वरुप परिर्वतन हुँदा झण्डै १० करोड लागत अनुमान थप हुने देखिन्छ । 

बागलुङ बजारमा खानेपानीको माग प्रतिसेकेण्ड ४० लिटर रहेकामा पानी नपर्दा प्रतिसेकेण्ड ३० लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ । आयोजनाको निर्माण सम्पन्न भएपछि प्रतिसेकेण्ड ७० लिटर खानेपानी आपूर्ति हुने बताइएको छ । डिभिजन खानेपानी कार्यालय, नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सहलगानीमा लिफ्ट आयोजना अघि बढेको हो । 

खानेपानीलाई शुद्ध बनाइ वितरण गर्न पोखरास्थित उच्च अदालतको बागलुङ इजलासले समेत २०७५ भदौ १८ गते नगर खानेपानी उपभोक्ता संस्थाको नाममा परमादेश जारी गरेको थियो तर  परमादेशको समेत अवज्ञा हुँदै आएपछि आदेशको अवहेलनामा फेरि यही असारमा सोही अदालतमा रिट  दायर गरिएको थियो । धमिलो पानी आउँदा उपभोक्तालाई झाडापखालाजस्ता स्वास्थ्य समस्या देखिने भएकाले उमालेर खानेपानी पिउन स्वास्थ्यकर्मीको सुझाव छ ।
 लिफ्ट आयोजना सम्पन्न भएपछि बागलुङ बजारमा मात्रै नभएर रमेटार, हाडेपाँखा र रातामाटाका घर–घरमा नयाँ धारा पुर्याइने जनाइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप