डीपीको ‘समाजवाद र नेपाल’ पुस्तक छिचोल्दा
काभ्रे, देउपुरदेखि भक्तपुरसम्म भैंसी पालेर खुवा बेच्ने किसानको सन्तान । काठमाडौं बौद्ध फुपूकोमा बसेर विद्यालय पढाई सुरु गरेको बालक । महेन्द्र बौद्ध माविमा पाइला टेक्ने बित्तिकै विद्यार्थी संगठनप्रति आकर्षित भएको किशोर अर्थात् देवीप्रसाद ढकाल । तर ऊ आफू आकर्षित भएको विद्यार्थी संगठनको माओवादीसँगको सम्बन्ध छिचोल्ने गरी राजनीति बुझेको थिएन । ताहाचल क्याम्पसबाट प्रयोगात्मक शिक्षणका लागि आएका पर्वतराज भट्टराई, जो पछि सहिद भए, तिनले माओवादी हो भन्ने कताबाट सुईंको पाए । उनलाई भेट्ने उत्सुकताले ढकाललाई माओवादी बनायो ।
माओवादी बनेसँगै उनी देवीप्रसादबाट डीपी ढकाल बने । ‘मलाई माओवादीले खोजेर होइन, म आफैले माओवादी खोजेर माओवादी बनेको’ भनेर दलिल पेश गर्दै धमिलो विगतप्रति उडान भर्छन् डीपी । त्यहाँदेखि यहाँसम्म उनले सिकाईका थुप्रै उकाली, ओराली र घुम्तीहरू कहिले सहजतापूर्वक त कहिले कठिनता झेल्दै पार गरे । त्यो किशोर आज युवावयबाट उकालो लाग्दै छ । उसले राजनीतिक अगुवा कार्यकर्ताको अतिरिक्त लेखकको परिचय थप्न सफल भएको छ ।
प्रवेशिकापछि अध्ययनका लागि भक्तपुर हानिएको त्यो युवा पार्टी सम्पर्क छुटेपछि निकै छट्पटायो । एकाध महिनापछि ऊ जस्तै अर्को युवा पोखरराज बुढाथोकी (बेपत्ता योद्धा) सँग सम्पर्क कायम भयो र डीपी ढकाल, कमरेड ‘संकल्प’मा बदलियो । सहकार्यको उकालो, विद्यार्थी संगठनको जिल्ला पदाधिकारीको जिम्मामा पुग्यो । भक्तपुरका जम्मा २१ जना पार्टी सदस्य मध्येको एक क. संकल्प पार्टी सदस्यसँगै नौलौ मोर्चामा प्रवेश गर्यो । भक्तपुर विद्यार्थी मोर्चाको अध्यक्ष भएलगत्तै पक्राउ पर्यो । हिरासतको कठोर यातनाले थिल्थिलो बनेको शरीर लिएर जेल पुग्यो र दोस्रो वार्ताकालमा खुल्ला संसारमा निस्कियो । पार्टी निर्णय भन्ने खबरसँगै काभ्रे सरुवा भयो । एक वर्षको महाभारतको उकाली ओरालीपछि ललितपुर भित्रियो । झण्डै छ वर्ष ललितपुरमा खटेपछि पुरै फन्को मारेर पुनः भक्तपुर फर्कियो । परिपक्व युवाको छविमा विकसित भइसकेको डीपी आजसम्म भक्तपुरलाई नै कर्मथलो बनाएर हड्डी घोटिरहेको छ ।
उत्सुक, परिपक्व र सापेक्षित इमान्दार देखेर होला, डीपीलाई विभिन्न समयमा मन्त्री बनेका अनन्त र ओनसरीहरुले निजी सचिवालयमा राखे । मन्त्रीहरुका निजी सचिवहरु निजी सचिवकै रुपमा निकै कम, कमाउ धन्दाबाट बढी चिनिने सार्वजनिक टिप्पणीबाट बच्दै उसले निजी सचिवको जिम्मासँगै अध्ययन, खोज र लेखन कार्यमा समेत विकसित गरायो । जुन अहिलेसम्म बनेका मन्त्रीका निजी सचिवहरुको दिमागमा थिएन र छैन पनि । यस अर्थमा डीपी पार्टीभित्रका युवाहरु बिचमा मात्र होइन, अध्ययन र खोज मन पराउने पंक्तिमाझ लेखकको परिचय बनाउन सफल रह्यो ।
डीपीका पछिल्ला दुई पुस्तक ‘पुँजीवादी र समाजवादी अर्थ–राजनीतिक विकासक्रम’ र ‘समाजवाद र नेपाल’ गहकिला, विषय केन्द्रीत र पाठकहरुले रुचाइएका पुस्तक हुन् । त्यसो त ती पुस्तकभन्दा अघि उनका (नेपाली क्रान्ति–०६३, अग्नियात्रीका सपनाहरु–०६४, पर्खालभित्रबाट चिहाउँदा राजनीति–०६५ र कम्युनिस्ट आन्दोलनको वहस–०६७) चार वटा पुस्तकहरू प्रकाशित छन् । सुरु सुरुका सिर्जना भएर हुन सक्छ, ती पुस्तक सार्वजनिक प्रभावमा त्यति देखा परेनन् । तरपनि ती सबै पुस्तकभित्र पस्दा उनको लेखकीय सम्भावना प्रष्ट देख्न सकिन्थ्यो ।
त्यही जगमा अर्थशास्त्रका गुणस्तरीय पछिल्ला दुई पुस्तक आए । माओवादी नेता–कार्यकर्तालाई जंगली, अनपढ, बज्रस्वाँठ भनेर टिप्पणी गर्ने सनातनी माओवादी विरोधीहरुलाई समेत गतिलो जवाफ दिने गरी पुस्तक सार्वजनिक भएका छन् । मन्त्रालयमा काम गर्दा, विदेश भ्रमणमा जाँदा, विषय विज्ञहरुसँगको अन्तरक्रियामा सहभागी हुँदा र स्वयं आन्दोलनभित्र अभावको अनुभूति हुने गरेको विषयमा डीपीले पुस्तक लेख्यो, जुन मै हुँ भन्ने प्राज्ञिकहरुसँग शीर ठाडो पार्न सक्ने स्तरको छ ।
लेखक भन्छन् “पहिलो ‘पुस्तक पुँजीवादी र समाजवादी अर्थ–राजनीतिक विकासक्रम’ धेरै भाष्ट, मोटो, समाज विज्ञान र अर्थशास्त्रका सामान्य विद्यार्थीले बुझ्न कठिन भयो भन्ने पाठक टिप्पणी, सुझाव र आलोचनाबाट शिक्षा लिएर उही विषय तर सरलतामा नेपाल बुझ्न नयाँ पुस्तक ‘समाजवाद र नेपाल’ जन्मियो ।” परिणाम धेरै पाठकको खोजी, अध्ययन र संग्रहको कसीमा माथिल्लो श्रेणीमा पर्न पुस्तक सफल भयो । यस अर्थमा लेखक सफल सर्जकको रुपमा उदाएको छ ।
‘समाजवाद र नेपाल’ पुस्तकमा पृष्ठभूमि, वैज्ञानिक समाजवाद, पुँजीवादी विश्व व्यवस्थाको विकास, समाजवादी अर्थ–राजनीतिको अन्तर्राष्ट्रिय प्रयोगका रुपहरु, अन्तर्राष्ट्रिय आर्थिक संघर्षः अमेरिका–चीन व्यापार युद्ध, नेपालको अर्थ–राजनीति र समाजवाद, नेपाली अर्थ–राजनीतिको समाजवादी कार्यदिशा र निष्कर्ष गरी आठ शीर्षक र यसभित्र विभिन्न एघार उपशीर्षक दिएर पुस्तक बुनिएको छ ।
आज नेपाली समाजमा समाजवादबारे जसरी बहस चलिरहेको छ, यो विचारका दृष्टिले दिशाविहीन छ । यो बहसलाई सही दिशा दिनुपर्ने वाम शक्तिहरु समेत समाजवादबारे न बहसमा उत्रन सकेका छन्, न त पहलद्वारा यसलाई मूर्ततातिर लैजान नै जागरुक देखिन्छन् । ‘संविधानले समाजवाद भनेको छ, हाम्रो घोषणा–पत्रले समाजवाद लेखेको छ, हाम्रो यात्रा समाजवाद तिरै हो’ भन्दै पुँजीवादी घोडा चढ्ने वाम शक्ति जसले दुई तिहाई लोकप्रिय जनमत प्राप्त गर्यो, त्यो समेत समाजवादको बहसमा बेखबर भएको लेखकको ठहर छ । निजी क्षेत्रले भन्दा निकै कम लगानी राज्यले गर्ने हाम्रो अर्थराजनीतिको प्रयोगको प्रवृत्तिले कसरी समाजवादी समाजको आधार बन्न सक्छ ? भन्ने प्रश्न गर्दै राज्य संरक्षित औद्योगिक पुँजीवादले मात्र समाजवादको आधार निर्माण गर्न सक्ने मुख्य विषय बनाएर पुस्तक तयार गरिएको छ, जसको मूल दिशा सही छ ।
दोस्रोमा समाजवादलाई काल्पनिक र वैज्ञानिक गरी दुई भागमा विभाजन गरेर विषय प्रस्तुत भएको छ, जुन माक्र्सवादी अध्ययन पद्धतिको परम्परा हो । यसमा काल्पनिक समाजवादीहरुको योगदान र सीमाको समेत चर्चा गर्दै यसैको जगमा वैज्ञानिक समाजवादी विचार÷सिद्धान्त जन्मियो, जसको नेतृत्व माक्र्स र एंगेल्सले गरे । समाजको विकसित यो चरणलाई माक्र्स÷एंगेल्सले प्रारम्भिक (समाजवादी) र उन्नत (साम्यवाद) भनेर परिभाषा गरे । वैज्ञानिक समाजवादका अन्तरवस्तु जसभित्र क्रान्ति, क्रान्तिको मोडेल, राज्यसत्ता, सर्वहारा अधिनायकत्व आदि माक्र्सवादका आधारभूत सिद्धान्तलाई लेखकले आफ्नो पन दिएर प्रस्तुत गरेका छन् । यसले विषय विस्तारमा प्रवेश गर्ने द्वारको काम गरेको छ ।
समाजवाद बुझ्न र त्यसमा हिँड्नु भन्दा पहिला पुँजीवादको प्रवृति बुझ्न जरुरी हुन्छ । पुँजीवादी क्रान्तिसँगै समाजवादी समाज निर्माणको ढोका खुल्छ भन्ने मान्यतालाई समेटेर तेस्रो खण्डमा पुँजीवादी व्यवस्थाका चरण र प्रवृत्तिहरु ऐतिहासिक विकास क्रमका आधार लेखकले प्रस्तुत गरेका छन् । यो पुस्तकको महत्वपूर्ण खण्डमध्ये यो एक हो । कृषि पुँजीवाद वा बजार सामन्तवाद (सन् १३५०–१५००), जसलाई पुँजीवादी व्यवस्थाको प्रारम्भिक चरण मानिन्छ । यसबाट प्रवेश गरेर वाणिज्य पुँजीवाद (१५००–१७५०) जसले आडम स्मिथ, डेबिड रिकार्डो र थोमस रोबर्ट जस्ता पुँजीवादी अर्थशास्त्रीहरु जन्मायो । त्यसपछि बेलायत, नेदरल्याण्डबाट शुरुभएको औद्योगिक पुँजीवादी (१७६०–१८६०) क्रान्ति युरोप, अमेरिका र एशियासम्म विस्तार भएको सपाट चित्र पुस्तकमा प्रस्तुत छ ।
पुँजीवादको नयाँ प्रवृत्ति उपनिवेशवाद, प्रतिस्पर्धी पुँजीवाद एकाधिकार बजार पँुजीवादमा विकसित र पुँजीवादको उच्चतम् रुप वित्तीय पुँजीवाद र साम्राज्यवाद (सन् १८८० देखि यता) हो । साम्राज्यवादले दुईटा विश्वयुद्ध जन्मायो । यसरी पुस्तकले एकातिर वित्तीय पुँजीवाद साम्राज्यवादमा बदलिएको देखाएको छ भने अर्कोतिर सीमित पुँजीपतिहरुको हातमा अत्याधिक धन थुप्रिने प्रक्रिया तीव्र भएको तथ्याङ्क प्रस्तुत गरेको छ । यसलाई लेखकले लेनिनको पालामा भन्दा पुँजीको समकेन्द्रण ज्यामितिय ढंगले बढेको तथ्याङ्क राख्दै अर्थतन्त्रमा देशहरुको भन्दा खास खास पुँजीपतिको कब्जा हुनु, भूगोल र सेना बिनाका राज्यको संज्ञा दिएर रोचक ढंगले प्रस्तुत गरेका छन् (पृ. ३७) ।
चौथो ‘समाजवादी अर्थ–राजनीतिको अन्तर्राष्ट्रिय प्रयोगका रुपहरु’ ले पुस्तकको शीर्षकसमेत बोकेको छ । जुन नेपाली समाजवादी आन्दोलनका लागि अर्थपूर्ण एवं महत्वपूर्ण शिक्षा बन्न सक्ने देखिन्छ । यस शीर्षकभित्र लेखकले समाजवादका विगतका स्थापित मोडलहरु जस्तै क्रान्तिद्वारा समाजवाद प्राप्ती र विघटन, चुनावमा विजयी बनेर गरिएको समाजवादको प्रयोग र पुँजीवादी देशभित्र समाजवादी चरित्रको अभ्यासलाई विस्तारपूर्वक पस्किएका छन् ।
रुसमा सन् १९१७ को क्रान्तिले समाजवादी सिद्धान्तलाई व्यवहारिक प्रयोगद्वारा करोडांैको जीवन पद्धति बनाएको, १९१७ को क्रान्ति अघि र क्रान्ति पछिको रुसको अर्थ–राजनीतिको मसिनो विश्लेषण पुस्तकको गुणात्मक पक्ष हो । त्यसै गरी साम्राज्यवादको नाकैमुनि अभ्यास भइरहेको क्यूवाली समाजवाद र त्यसले सफलता पाएको समाजवादी दिगो विकास, साम्राज्यवादसँगको लडाइँ र चुनाव दुवै मोर्चा व्यहोर्दै आएका भेनेजुएलाको विश्लेषण हाम्रा निम्ति उपयोगी शिक्षा सामग्री बन्नेछ । यस शीर्षकमा लेखकले माओकालीन चिनिया समाजवादी समाजवादको अर्थराजनीति र त्यसपछिको देङको प्रयोगलाई मेहनतका साथ समेटेका छन् ।
पुस्तकमा उल्लेख छ, ‘सन् १९४५ मा चीनिया कम्युनिस्ट पार्टीले अपनाएको माओ विचारधारा, माओ अध्यक्ष हुँदा नै (१९६५) परित्याग गर्न पुग्यो । सांस्कृतिक क्रान्ति कालमा पनि माओ अल्पमतमा परे तर त्यहाँ पार्टी विभाजन भएन । देङ चिनिया कम्युनिस्ट पार्टीका अध्यक्ष र चीनका राष्ट्रपति÷प्रधानमन्त्री कहिल्यै बनेनन् तर उनी माओपछिका शक्तिशाली चीनिया नेता भनेर आजसम्म मान्यता प्राप्त गरेका छन् (पृ. ८९–९०) ।’
छैठौं र सातौं शीर्षकमा नेपाली समाजको ऐतिहासिक विकासक्रमलाई समेट्दै समाजवादी कार्यदिशा के हुन सक्छ ? भनेर लेखकले प्रस्ताव पेश गरेका छन् । सम्पूर्ण पुस्तकको आधा हिस्सा (पृ. १४३÷२६६) यिनै दुई शीर्षकले ओगटेको छ । यसमा पृथ्वीनारायण शाहको नेपाल विस्तारदेखि आजको अर्थ–राजनीतिसम्म तथ्याङ्कसहितको तुलनात्मक अध्ययन महत्वपूर्ण छ । नेपालको निर्वाहमुखी आर्थिक जीवन, जमिनदार र राज्यलाई तिर्नुपर्ने चर्को कुत, खडेरीको कारण डरलाग्दा भोकभरीको बेला कुत बुझाउन नसक्ने किसानको जग्गा पजनी (खोस्ने) आदि विषय प्रस्तुतिको शैली गज्जब छ ।
‘वि.सं. १८४३ मा पश्चिम नेपालबाट मात्र ५ हजार ४ सय मुरी अन्न कुत वापत काठमाडौं पठाइएको थियो ।’ (पृ.११२) आजको नेपाली अर्थराजनीतिक प्रवृत्ति जस्तै राज्य र जनता बीचको विश्वासको पुल कर प्रणाली अविश्वासिलो बन्नु, राज्यको सेवा प्रवाह महँगो (घुस्याहा) हुनु, उत्पादनको क्षेत्रमा कृषि र उद्योगको योगदान निरन्तर घट्नु, व्यापार घाटा बढ्दै जानु, हाम्रा सहरहरु त्यसै पनि उत्पादनमुखी थिएनन् । आज गाउँसहर दुबै उपभोक्तामुखी बन्दै जानु, विकास बजेट निकै कम त्यो पनि खर्च गर्न नसक्ने राज्य सम्यन्त्र हुनु, पैसाका लागि जेमा पनि मञ्जुरी दिने मगन्ते सरकार र दाताहरुको सर्तहरुले थिल्थिलो भएको हाम्रो राज्य आदि विषयलाई तथ्याङ्कमा प्रस्तुत गरेर लेखकले यस्तो अवस्थामा संविधानले भनेको समाजवाद कसरी सम्भव ? भनेर गम्भीर आशंका व्यक्त गरेका छन् ।
नेपालको वाम चिन्तन र कार्यशैली पनि उस्तै वुर्जुवाहरुको जस्तै देखा परेको नेपाली सन्दर्भमा आर्थिक धारा बदल्ने चुनौती फलामको चिउरा चपाएसरह देख्छन् लेखक । लेखकले समाजवादको कार्यदिशा नाम दिएर उत्पादकत्व वृद्धि, उत्पादनका साधनमाथिको स्वामित्वको प्रश्न र राष्ट्रिय आयको वितरण प्रणालीमा समाजवादको झल्को दिने गरी अवधारणा प्रस्तुत गरेका छन् । त्यस्तै, आर्थिक विकासका आधार भनेर भूमि र कृषि, उद्योग र औद्योगिकीकरण, जलस्रोत र व्यापार, पर्यटन र सेवा, शिक्षा र गरिबी निवारण, बैंक र वित्तिय नीति आदि विषयमा केही नयाँ अवधारणा राखेका छन्, जसलाई राज्यद्वारा कार्यान्वयन गर्नुपर्ने हुन्छ ।
यसरी हेर्दा लेखकले संवैधानिक घेराभित्रबाट समाजवाद कार्यान्वयनको कल्पना गरेको बुझ्न सकिन्छ । यद्यपि लेखकले पुस्तकको अन्तिम पृष्ठमा मधुरो स्वरमा ‘कम्युनिस्ट पार्टी र समाजवाद’ भनेर दलाल पँुजीवादसँगको संघर्ष प्रमुख अर्थराजनीतिक कार्यभार हो । यो कार्यभार पुरा गर्न समाजवादी आदर्शप्रति प्रतिबद्ध पार्टी, नेता र कार्यकर्ता जसले जोदहा पार्टी जन्माउँछ । आफ्ना लोकप्रिय नीति र कार्यक्रममार्फत् जनताको मन जित्ने, आम जनसमुदायलाई समाजवादको दिशामा लामबद्ध गराउने, प्रतिक्रियावादी वर्गमाथि श्रमजीवी जनताको अधिनायकत्व स्थापित गर्ने साधनको रुपमा पार्टीलाई विकसित गर्ने र श्रमजीवी वर्गको जितका लागि बल प्रयोगलाई स्वीकारेर मात्र वास्तविक समाजवाद प्राप्त गर्न सकिन्छ’ भनेका छन् ।
जागरण बुक हाउसले प्रकाशन गरेको पुस्तक २६६ पृष्ठको ठिक्क आकारमा सरल भाषाशैलीको प्रयोग, शुद्धाशुद्धि र साजसज्जामा सुन्दर छ । तर केही कमजोरी छन् र यसलाई सुधारका लागि मञ्जुर हुँदा पुस्तक अझै पठनीय र संग्रहणीय बन्न सक्ने देखिन्छ । जस्तो कि पुस्तकको पाँचौं शीर्षक ‘अन्तर्राष्ट्रिय आर्थिक संघर्ष : अमेरिका–चीन व्यापार युद्ध’ र चौथो शीर्षकको ‘युरो कम्युनिज्म’ उपशीर्षक हटाउँदा पुस्तक शीर्षक केन्द्रीत र अझ छरितो बन्न सक्थ्यो ।
जलविद्युत (पृ. २१५) को विषयमा खास अन्तरवस्तु खोज्न र लेख्न नसकेको, जल पर्यटनबारे शीर्षकअनुसार विषयमा प्रवेश गर्न नसकेको, चौथो शीर्षकको ४.६ बुँदामा कम्युनिस्ट पार्टी सत्तामा रहेका अन्य देश भनेर उपशीर्षक दिएको सामग्री छिपछिपे देखिन्छ । समाजवादको आजको वहसमा रुस र चीन जत्तिकै फराकिलो नभएपनि उत्तर कोरियाको प्रयोग र अवस्था अलि विस्तारमा खोज्ने जाँगर गरेको भए नेपाली पाठकहरुको विज्ञासालाई सम्बोधन हुने थियो ।
त्यस्तै निकै धेरै तथ्याङ्क प्रयोग गरिएकोले कतिपय ठाउँमा अनावश्यक रुपमा दोहोरिएको, एउटै सन्दर्भ र विषयका तथ्याङ्कहरु फरक फरक पर्न गएको र तथ्याङ्क समयसँगै बदलिने हुँदा पाठकको नजरमा पुरानो भन्ने बुझाईले पुस्तक लामो समयसम्म नबाँच्ने खतरा महसुस हुन्छ । नेपाल सन्दर्भमा प्रयोग भएका मितिहरु सबै वि.सं.मा खोजेर लेख्न सकेको भए पाठकलाई बुझ्न सजिलो हुन्थ्यो ।
लेखक र पुस्तकलाई घोलेर हेर्दा लेखक जिज्ञासु देखिन्छ तर विषयलाई प्रवृति र पात्रसँग जोडेर आलोचना गर्न डराए जस्तो, वर्ग संघर्षमा दह्रोसँग खुट्टा टेक्ने तर अन्तरसंघर्षमा आफ्नो पहिचान खुलाउन हिच्किचाउने जस्तो, कम्युनिस्ट पार्टीको सदस्य हुनुको नाताले अनुशासित हुने तर स्वतन्त्र ढंगले विचार अभिव्यक्तिमा कसैको भर पर्ने जस्तो प्रवृत्तिले लेखकलाई अर्थराजनीतिक क्षेत्रको राम्रो खोजकर्तामा विकसित हुन नदिने हो कि भन्ने आशंका जन्मन्छ । किनभने नेता (राजकीय वा अभिजातीय छाँट–काँट) र खोजकर्ता एकापसमा बाझिने भूमिकाको रुपमा हाम्रो समाजमा स्थापित छ ।
औपचारिक रुपमा विश्वविद्यालय पुग्न नपाएको, प्राज्ञिक व्यक्तित्वको रुपमा स्थापित नभएको तर संघर्षको ज्ञानशालामा दृढतापूर्वक हाम फालेको लेखक अर्थराजनीतिक विषयविज्ञको रुपमा पछिल्ला पुस्तकमार्फत् सम्भावनाको मूल ढोका खोलेको छ । जनयुद्धबाट आएका सबै कार्यकर्ताको लागि यो सिक्ने गौरवको विषय हो । वि.सं. ०५७ सालदेखि चिनेको तर खासमा नचिनेको लेखक डीपी ढकाललाई गुणात्मक सिर्जनाका लागि विशेष बधाई । आगामी दिनमा मूलतः कुन क्षेत्रमा केन्द्रीत हुने, पक्का गरेर परिपक्व पहिचानको निम्ति मसक्कै लाग्न अनुरोध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय परिषदको सदस्य सिफारिसमा ढिलाइले ‘न्याय’ प्रभावित
-
हमास नेता इस्माइल हानियाको हत्या गरेको इजरायलको स्वीकारोक्ति
-
म्युल खाता एक माध्यम : वित्तीय कारोबारमा कसरी ठगिन्छन् नागरिक ?
-
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
-
पाकिस्तानको सैन्य अदालतको फैसलाप्रति अमेरिकाको चिन्ता
-
पुराना घरमा नयाँ पुस्तालाई हुर्किइरहेकी ‘महिला स्वयंसेविका’