बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

पेरिस हमलाका दोषीले पाए फ्रान्सको इतिहासको सबैभन्दा कठोर सजाय, १३० जनाको भएको थियो मृत्यु

बिहीबार, १६ असार २०७९, ०९ : ५६
बिहीबार, १६ असार २०७९

सन् २०१५ मा पेरिस हमला गर्ने समूहका एकमात्र जीवित आक्रमणकारीलाई आतंकवाद र हत्याको दोषी ठहर गरिएको छ ।

सलाह अब्देस्लामलाई फ्रान्सको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कठोर सजाय सुनाइएको छ । यस आक्रमणमा १३० जनाको मृत्यु भएको थियो । सलाहलाई यो अपराधमा आजीवन कारावासको सजाय सुनाइएको छ ।

अदालतले यस मुद्दामा अन्य १९ जनालाई पनि दोषी ठहर गरेको छ । जसमध्ये ६ जनाको मृत्यु भएको बुझिएको छ ।

यो मुद्दाको सुनुवाइ आधुनिक फ्रान्सको इतिहासमा सबैभन्दा लामो समयसम्म चल्यो । गत वर्ष सेप्टेम्बरदेखि मुद्दामाथि सुनुवाइ चलिरहेको थियो ।

विगत नौ महिनादेखि पीडित, पत्रकार र मृतकका आफन्तहरू मुद्दाको सुनुवाइ गर्न पेरिसको विशेष अदालतमा भेला हुने गर्दथे । यो आक्रमण दोस्रो विश्वयुद्ध पछि फ्रान्सको इतिहासमा सबैभन्दा भयानक मानिन्छ ।

नोभेम्बर १३, सन् २०१५मा, बार, रेस्टुरेन्ट, राष्ट्रिय फुटबल रंगशाला र एक सङ्गीत स्थललगायत फ्रान्सका विभिन्न स्थानहरूमा आक्रमणहरू भएका थिए । यस क्रममा सयौं घाइते पनि भएका थिए ।

मुद्दाको सुरुमा, अब्देस्लामले आफूलाई इस्लामिक स्टेट चरमपन्थी संगठन समूहको ‘सिपाही’ बताएका थिए ।

यद्यपि, अब्देस्लामले पछि पीडितहरूसँग माफी मागे र अदालतसामू आफू हत्यार नभएको र हत्या आरोपमा सजाय दिनु अन्याय हुने बताए ।

अब्देस्लामले आक्रमणको राती आफ्नो आत्मघाती ज्याकेट बिस्फोट नगराउने निर्णय गरेको दाबी गरे । तर पछि अदालतमा पेश भएका प्रमाणबाट ज्याकेटमा खराबीको कारण विष्फोट नभएको पाइएको थियो ।

अब्देस्लाम आजीवन जेलमै बस्नुपर्नेछ । फ्रान्सको कानुनअनुसार अब उनले ३० वर्षको जेल सजाय काटिसकेपछि मात्रै प्यारोलका लागि आवेदन दिन सक्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप