बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कैलालीको लालबोझीमा नदी बस्तीसम्म आइपुग्यो

बुधबार, १५ असार २०७९, १६ : १५
बुधबार, १५ असार २०७९

कैलालीको भजनी नगरपालिका वडा नम्बर ५, पुलियापुर बस्ती लालबोझी नजिकै बग्ने कान्द्रा नदी अहिले मानव बस्तीसम्मै आइपुगेको छ । बस्तीका केही घरको आँगनमा पानी पुगिसकेको छ । आफ्नो घर आँगननै कटान हुने लागेपछि रातिनै सर–सामानसहित बाहिर निस्किए संजय चौधरी । हेर्दा हेर्दै उनको घर नदीले कटान ग¥यो ।

सोमबार रातिदेखिको वर्षाका कारण कान्द्रा नदीको बहाव बढ्दै गएपछि संजयको घर बुधबार बिहान नदीले कटान गरेको थियो । बुधबार दिउँसो उनी छिमेकीको घरमा सर–सामान सारिरहेका थिए । उनले भने, ‘घर नदीले कटान ग¥यो । अब अन्य व्यवस्था नभएसम्म छिमेकीको घरमा बस्नेगरी सामान सारिरहेको छु ।’

सोही बस्तीमा बस्दै आएका सुदराम चौधरीको घर पनि नदीले कटान गरेको छ । उनी पनि विस्थापित भएका छन् । उनी छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।

सोही बस्तीमा बस्दै आएका राजु चौधरीको घर नजिकै कान्द्रा नदी पुगिसकेको छ । उनले भने, ‘तीन जनाको घर नदीले कटान गरिसकेको छ । मेरो घरको आँगनमा नदी पुगिसकेको छ । अहिलेकै अवस्थामा नदीको सतह बढ्दै गए मेरो घर पनि कटान हुनेछ ।’ उनले नदीको कटान रोक्न अहिलेसम्म कसैबाट काम नभएको गुनासो गरे ।

सोमबारदेखिको वर्षाबाट विस्थापित बनेका सोही बस्तीका श्यामलाल चौधरीले भने, ‘नदी कटान रोक्न काम अघि बढाइने आश्वासन दिइएको थियो । हामी आशैआशमा थियौं । यस वर्ष नदीले कटान नहुने गरी काम गर्लान् भन्ने सोचेको थिएँ तर भएन ।’ उनले नदीले घर कटान गर्दासमेत कटान रोक्ने प्रयास कतैबाट नभएको गुनासो गरे ।

उनले हरेक वर्ष सो बस्तीमा नदीले घर कटान गर्दै आएको र बर्सेनि विस्थापित हुनुपर्ने अवस्था देखिरहेका थिए । उनले भने, ‘हरेक वर्ष यहाँ नदीले कटान गर्दै मानिसलाई विस्थापित गरिरहेको थियो । हेर्दाहेर्दै मेरो घर पनि कटान भइसकेको छ तर, कसैले नदी नियन्त्रणतर्फ ध्यान दिन सकेनन् ।’

कान्द्रा नदीको कटानका कारण हरेक वर्ष दर्जनौं परिवार विस्थापित हुने गरेका छन्् । धानबाली लगाएको सयौं बिगाहा जमिन डुबानमा पर्ने गरेको छ । हरेक वर्ष कान्द्रा नदीको कटान र घरपरिवारको विस्थापन देखेका उनले विरक्त हुँदै भने, ‘घरबास नदीले कटान ग¥यो, अब कहाँ बस्ने होला ?’

सोही वडाको भगतपुर बस्तीमा पसल गर्ने विपदराम चौधरीले नदीको बहाव बढेसँगै धार परिवर्तन गर्दा कटान हुनबाट रोक्न माटो भरिरहेको बताए । उनले भने, ‘नदीको आवाज आयो, बहाव हेर्दा बढेको थियो । कटान हुन नदिन माटो ल्याएर सम्याइरहेका छौं ।’

भजनी नगरपालिकाको पूर्वतर्फ कर्णाली नदी बग्छ । दक्षिणमा मोहना नदी छ । उत्तरबाट कान्द्रा, काँडा र पथरैया नदी बग्छन्् । बीचमा भजनी नगरपालिका छ । हरेक वर्षायाममा केहीबेर भारी वर्षा हुँदा नगरपालिकाका अधिकांश बस्तीका बासिन्दा आत्तिन्छन्् ।

‘चारैतिर नदी नै नदी भएपछि वर्षायाममा सुरक्षित हुने कुरै भएन’ भजनी नगरपालिका वडा नम्बर ४ का प्रविन चौधरी भन्छन््, ‘हरेक वर्ष वर्षायाम सुरु हुने बित्तिकै बाढीको चिन्ताले तर्साउँछ । तीन महिना राम्ररी सुत्नै सक्दैनौं ।’

उनले कुनै पनि सरकारले नदी कटान रोक्न पहल नगरेको गुनासो गरे । ‘कटान रोक्न तटबन्धका योजना ल्याउनुपर्छ, तर कोही कसैले पनि पहल नै गरेका छैनन्,’ उनले भने ।

विस्थापित श्याम चौधरीसँग बस्नका लागि दुई कठ्ठा जग्गा थियो । नदी कटानले गर्दा अब चार धुर जतिमात्रै बचेको छ । श्यामका बुबाआमा, श्रीमती र छोराछोरी सबै नदी कटानले विस्थापित बनेका छन् ।

भजनी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष केशव बुढाले वडा नम्बर ५ को पुलियापुर बस्ती विगतदेखिनै नदीका कारण विस्थापित घरधुरी रहेको बताए । उनले भने, ‘पुलियापुर बस्ती विगतदेखि नै विस्थापित भइरहेका छन् । यस वर्ष थप तीन घर परिवार विस्थापित भएका छन् भने एक घर कटानको उच्च जोखिममा छ ।’

वडा अध्यक्ष बुढाले अहिले आफू नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकमा रहेको बताए । ‘विस्थापितहरुको व्यवस्थापनका लागि बैठक बसिरहेको छ । सोही बैठकले केही निर्णय गर्नेछ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप