शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कतार विश्वकपलाई यादगार बनाउने मुडमा छन् मेस्सी–रोनाल्डो

बुधबार, १५ असार २०७९, १२ : ११
बुधबार, १५ असार २०७९

विश्व फुटबलमा उदीयमान खेलाडीहरु आफ्नो फुटबल यात्रामा नयाँ पन ल्याउने योजनामा छन् । उनीहरु कतार विश्वकप २०२२ मा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ पुस्ताको विश्व फुटबलमा बेग्लै छाप छोड्ने योजनामा छन् । 

लामो समयदेखि विश्व फुटबलमा राज गरेर बकेका लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र ग्याराथ बेल यो विश्वकपमा आफूलाई प्रमाणित गर्ने योजनामा छ । ३४ वर्षिय अर्जेन्टिनी स्टार मेस्सीलाई फुटबल करियरमा पहिलो विश्वकप जित्ने मौका छ । 

त्यस्तै पोर्चुगिज स्टार रोनाल्डोलाई पनि देशका  लागि पहिलो विश्वकप उपाधि जिताउने मौका छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इटोनियाविरुद्ध पाँच गोल गर्दै मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको चौथो स्थानमा उक्लेका छन् । 

यता ३७ वर्षीय खेलाडी रोनाल्डो ११७ गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा आफूलाई स्थापित गरेका छन् । रोनाल्डो, मेस्सी र बेल आफ्नो अन्तिम विश्वकपका लागि प्रतिस्पर्धामा होमिने भएका छन् । 

उमेरका हिसावले पनि तीन खेलाडीको यो अन्तिम विश्वकप हुनसक्छ । विश्व फुटबलमा सफल खेलाडी मेस्सी र रोनाल्डो यो विश्वकपमा आफ्नो फुटबल जीवनलाई थप पूर्णता दिने हिसावले कतार जानेछन् । 

मेस्सी रोनाल्डो आफ्नो फुटबल जीवन सफल पार्ने मोडमा छन् । देशका लागि दुबै खेलाडीले एक अन्तर्राष्ट्रिय उपाधि जितिसकेका छन् । रोनाल्डोले सन् २०१६ को यूरो कप र मेस्सीले सन् २०२१ को कोपा अमेरिका जितेका छन् । 

अर्जेन्टिना र पोर्चुगल दुबै टोली विश्वकप जित्ने सम्भावना बोकेका टोलीहरू हुन् । त्यसमा मेस्सी र रोनाल्डोले दुबै टोलीलाई थप बलियो बनाएको छ । दुबै टोलीलाई फ्रान्स, ब्राजिल र जर्मनी जस्ता टोलीको डर भने पक्कै छ ।

मेस्सी सन् २०१४ को विश्वकप फुटबलको उपाधि जित्नबाट चुके । अर्जेन्टिना फाइनल खेलमा जर्मनीसँग पराजित भएको थियो । २०१८ को विश्वकपमा भने अर्जेन्टीनाले सोचे अनुरुप प्रदर्शन गर्न सकेन । 
त्यसैले मेस्सीले आफ्नो करियरको पहिलो विश्वकप फुटबल उपाधि जित्नबाट चुके । तर, यो विश्वकपमा भने अर्जेन्टिना राम्रो लयमा छ । 

युरोकप विजेता इटालीलाई पराजित गर्दै अर्जेन्टिनाका लागि मेस्सीले थप एक अन्तर्राष्ट्रिय उपाधि दिलाए । फिनालिजमको उपाधि जितेसँगै अर्जेन्टिना हालसम्म ३३ खेलमा अपराजित छन् । सन् २०१९ बाट अहिलेसम्म ३३ खेलमा अपराजित भएको हो । अर्जेन्टीनाले अपराजित रहँदै कोपा अमेरिकाको उपाधि जितेको थियो भने अपराजित रहँदै विश्वकप छनोट भएको थियो । 

यता रोनाल्डोका लागि पनि सन् २०१४ र २०१८ को विश्वकप सम्झन लायक रहेन । पोर्चुगलले सोचे अनुरुप प्रदर्शन गर्न सकेन । तर, अहिले पोर्चुगल पनि राम्रो लयमा छन् । रोनाल्डो पोर्चुगललाई पहिलो विश्वकपको उपाधि जिताउने योजनामा छन् । 

त्यसैले दुबै खेलाडीहरु कतार विश्वकपलाई यादगार बनाउने योजनामा छन् । दुई खेलाडीका लागि कतार विश्वकप फुटबल जीवन कै मुख्य विन्दु बन्ने छ ।  

पूर्व स्टार खेलाडीहरुको विश्वकप इतिहास हेर्दा पनि उनीहरु ३७ वर्षको उमेरभन्दा पछि विश्वकप खेलेका छैनन् । ब्राजिलियन खेलाडी पेलेले २९ वर्षको उमेरमा अन्तिम पटक सन् १९७० को मेक्सिको विश्वकप खेलेका थिए । 

अर्जेन्टिनाका डियागो म्याराडोनाले ३३ वर्षको उमेरमा सन् १९९४ को विश्वकप खेले । त्यस्तै फ्रान्सका स्टार जिदानले ३४ वर्षको उमेरमा सन् २००६ को विश्वकप खेल्दा ब्राजिलियन स्टार रोनाल्डोले पनि २९ वर्षको उमेरमा अन्तिम विश्वकप खेलेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप