बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पैगम्बरबारे टिप्पणीको असर भारतीय समाजसम्म, कन्हैयाले गरेका थिए नुपुरको समर्थन

बुधबार, १५ असार २०७९, ११ : ०१
बुधबार, १५ असार २०७९

भारतको राजस्थानस्थित उदयपुरमा मंगलबार दिउँसो एक लुगा सिउने टेलर कन्हैयालाल तेलीको हत्या भयो । दुई व्यक्तिले टेलर कन्हैयालाल तेलीको कपडा पसलमै गएर उनीमाथि तरबारले हानेको समाचारमा जनाइएको छ । कन्हैया लालको घटनास्थलमै मृत्यु भएको थियो भने हत्याराले कन्हैयालालको हत्याको भिडियो पनि खिचेका थिए, जुन अहिले समाजिक संजालमा भाइरल भएको छ ।

भिडियोमा हत्याराले तेलीको हत्या भाजपाका पूर्व प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदमाथि गरेको विवादास्पद टिप्पणीको बदला भनेका छन् । भिडियोमा हत्याराले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि धम्की दिएका छन् । भारतीय प्रहरीले दुवै अभियुक्तलाई राजसमन्द जिल्लाको भीमाबाट पक्राउ गरिसकेको छ । उनीहरुको नाम मोहम्मद रियाज र घौस मोहम्मदको रहेको प्रहरीले जानकारी दिएको छ । 

समाचार एजेन्सी पीटीआईका अनुसार ती दुई आरोपी मोटरसाइकलमा भागिरहेको अवस्थामा पक्राउ परेका थिए । प्रहरीका अनुसार अभियुक्तलाई पक्राउ गर्न १० टोली खटाइएको थियो । यस मुद्दाको अनुसन्धानमा भारतको केन्द्रीय गृह मन्त्रालयले ‘राष्ट्रिय अनुसन्धान एजेन्सी’को टोली पठाएको छ । आतंकवादको कोणबाट घटनाको अनुसन्धान हुनसक्ने प्रहरीले बताएको छ । 

कन्हैयालालको हत्यापछि उदयपुरमा विरोध प्रदर्शन सुरु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार हत्यापछि उदयपुरका केही क्षेत्रमा आगजनी र विरोध प्रदर्शन सुरु भएको छ ।
समाजमा शान्ति खलबलिन नदिन प्रहरीले ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । राजस्थान राज्यका सबै जिल्लामा धारा १४४ अन्तर्गत निषेधाज्ञा जारी गरिएको छ भने उदयपुर जिल्लाका सात प्रहरी चौकी क्षेत्रमा कर्फ्यु लगाइएको छ । राजस्थानमा २४ घण्टाको लागि इन्टरनेट समेत बन्द गरिएको छ ।

कन्हैयाले गरेका थिए नुपुरको समर्थन
कन्हैयालालको टेलर पसलमा काम गर्ने व्यक्तिका अनुसार १०–१५ दिनअघि कन्हैयालालको समाजिक संजालमा एक पोस्टलाई लिएर विवाद भएको थियो । घटना प्रहरीसम्म पुगेको थियो । पोस्टमा कन्हैयाले नूपुर शर्माको पैगम्बर मोहम्मद सम्बन्धि विवादित बयानको समर्थन गरेका थिए । प्रहरीले उनलाई पक्रेर लगेर पोस्ट डिलिट गर्न लगाएको थियो । कन्हैयाले त्यसबेला प्रहरीसँग आफ्नो छोराले गल्तीले फेसबुकमा आपत्तिजनक पोस्ट गरेको दाबी गरेका थिए ।

हाल हत्यामा संलग्न दुई व्यक्तिले सोही समयमा समाजिक संजालमा कन्हैयालालको घाटी काट्ने धम्की दिएको कन्हैयाको लुगा सिलाउने सहकर्मी ईश्वरले बताए । 

हिन्दु संगठनको आक्रोश र मुख्यमन्त्रीको आह्वान

घटनापछि हिन्दू सङ्गठनहरु निकै आक्रोशित देखिएका छन् । उनीहरूले हत्या लगत्तै उदयपुरको बजार बन्द गरेका थिए भने शहरमा अनिश्चितकालीन बन्दको घोषणा गरिएको छन् । राजस्थानका मुख्यमन्त्री अशोक गहलोटले पनि हत्यापछि सबै पक्षलाई शान्ति कायम राख्न सघाउन अपिल गरेका छन् ।

उनले एक ट्वीट गर्दै लेखेका छन् ,‘ उदयपुरमा युवकको जघन्य हत्याको भत्र्सना गर्दछु । घटनामा संलग्न सबै दोषीलाई कडा कारबाही गरिनेछ र पुलिस अपराधको पूर्ण अध्ययन गर्नेछ । म सबै पक्षलाई शान्ति कायम गर्न अपील गर्दछु । यस्तो जघन्य अपराधमा संलग्न प्रत्येक व्यक्तिलाई कडा भन्दा कडा सजाय हुनेछ ।’

भिडियो शेयर नगर्न अपिल
मुख्य मन्त्री गहलोटले हत्याराले बनाएको हत्याको भिडियो शेयर नगर्न पनि आह्वान गरेका छन् । ‘यस घटनाको भिडियो शेयर गरेर वातावरण बिगार्ने प्रयास नगर्न सबैमा अपिल गर्दछु । भिडियो शेयर गरेर समाजमा घृणा फैलाउने अपराधीको उद्देश्य सफल हुनेछ ,’ गहलोटले लेखेका छन् । 

उदयपुरका टेलर कन्यैया लालको हत्यापछि राजस्थान सरकारले पूरै राज्यभर उच्च सतर्कता जारी गरेको छ । राजस्थानका प्रहरी महानिर्देशक श्री एमएल लाथरले उदयपुरमा भएको भयानक हत्याकाण्डसँग सम्बन्धित भिडियो प्रशारण नगर्न सबै मिडिया च्यानलहरूलाई अपिल गरेका छन्।

प्रहरी अतिरिक्त महानिर्देशक कानुन श्री हवासिंह घुमरियाले पनि उदयपुर हत्याकाण्डको भिडियो भाइरल नगर्न सर्वसाधारणलाई आग्रह गर्दै यो भिडियो भाइरल गर्नेलाई नियमानुसार कडा कारबाही गरिने स्पष्ट पारेका छन् ।
उदयपुरमा शान्ति कायम गर्नको लागि अहिले पाँच महानिर्देशक जङ्गा श्रीनिवास, दिनेश एमएन, डीआईजी आरपी गोयल र राजीव पचारसमेत करिब ३० आरपीएस अधिकारी र पाँच आरएसीको कम्पनी तैनाथ गरिएको छ ।

राजनीतिक प्रतिक्रियाः
कन्हैया लालको हत्यामा भारतका विभिन्न राजनीतिज्ञले प्रतिक्रिया दिइरहेको छन् ।
उदयपुर घटनाबारे भाजपा नेतृ तथा राजस्थानकी पूर्व मुख्यमन्त्री वसुन्धरा राजेले विज्ञप्ति जारी गर्दै भनेकी छन् ,‘ उदयपुरमा एक निर्दोष युवकको दिउँसो भएको निर्मम हत्याले राज्य सरकारको उक्साहटका कारण अपराधीहरूको मनोबल उच्च भएको प्रष्ट भएको छ । राज्यमा साम्प्रदायिक उन्माद र हिंसा छको अवस्था सिर्जना भएको छ ।’

‘अपराधीमा डर नभएकाले उनीहरू प्रधानमन्त्रीबारे हिंसात्मक अभिव्यक्ति दिइरहेका छन् ।’ राजेले भनेकी छन् ।
उदयपुरको हत्याबारे टिप्पणी गर्दै भारतीय कांग्रेसका पूर्व–अध्यक्ष राहुल गान्धीले घटनाबाट आफू स्तब्ध भएको लेख्दै भनेका छन् ,‘ उदयपुरमा भएको जघन्य हत्याबाट म एकदम स्तब्ध भएको छु । धर्मको नाममा हुने बर्बरता स्वीकार्न सकिदैन । यस क्रुरतामार्फत आतंक फैलाउनेलाई तुरुन्त कारबाही गर्नुपर्छ । हामी सबै मिलेर घृणालाई परास्त गर्नुपर्छ । म सबैलाई शान्ति र मेलमिलाप कायम राख्नको लागि अपिल गर्दछ ।’

मुस्लिमहरुको दल भनेर पनि चिनिने एआईएमआईएम पार्टीका प्रमुख असदुद्दीन ओवैसीले पनि घटनाबारे टिप्पणी गर्दै भनेका छन् ,‘ उदयपुरमा भएको क्रुर हत्या निन्दनीय छ । यस्तो हत्यालाई कसैले प्रतिरक्षा गर्न सक्दैन । हाम्रो पार्टीको आधारभूत अडान कसैलाई पनि कानून आफ्नो हातमा लिने अधिकार छैन भन्ने छ । हामीले जहिले पनि हिंसाको विरोध गरेका छौं ।’ ओबैसीले दोषीलाई कडा कारबाही गर्न सरकारसँग हाम्रो माग गरेका छन् । 

घटनाप्रति मुस्लिम बहुल राज्य जम्मु कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले पनि टिप्पणी गरेका छन् । उनले यो स्पष्ट रूपमा हत्या भएको भन्दै सभ्य समाजमा यस्तो कृत्यको कुनै स्थान नहुने प्रतिक्रिया दिएका छन् । उनले प्रशासनलाई यस विषयमा छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । 

यससँगै पूर्व भारतीय क्रिकेटर इरफान पठानले पनि घटनाको विरोध गर्दै भनेका छन् ,‘ तपाई कुन धर्मको हो फरक पर्दैन तर एक निर्दोषलाई चोट पुर्याउनु सम्पूर्ण मानवतालाई हानि पुर्‍याउनु जस्तै हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप