ad
x

असार १५ सम्म कर्णालीमा २८ प्रतिशतमात्रै रोपाइँ

झण्डै ६० प्रतिशत खेतीयोग्य जमिन आकाशे पानीको भरमा !

person explore access_timeअसार १५, २०७९ chat_bubble_outline0

आज असार १५ अर्थात धान दिवस । ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मुल नाराका साथ धान दिवस मनाइँदै छ ।


धान दिवसको अवसर पारेर कर्णालीमा बुधबार सार्वजनिक बिदासमेत दिइएको छ । तर अर्गानिक प्रदेशका रुपमा चिनिएको कर्णालीमा अहिलेसम्म जम्मा २८ प्रतिशतमात्र धान रोपाइँ भएको छ ।



विगतका वर्षहरुमा मध्य असारसम्म आधा रोपाइँ भइसक्थे, तर यो पटक समयमै मनसुन सक्रिय नहुँदा धान रोपाइँ ढिला भइरहेको छ । कर्णालीमा २५ लाख २५ हजार २७६ हेक्टर क्षेत्रफल जमिनमध्ये २ लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल खेतीयोग्य छ । त्यसमध्ये पनि २ लाख १६ हजार ८८० हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । खेती गरिने कुल जमिनमध्ये ३८ हजार ८८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ हुन्छ ।

भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयका अनुसार अहिलेसम्म कुल रोपाइँ हुनेमध्ये १० हजार ८९२ हेक्टर क्षेत्रफल जमिनमा (२८ प्रतिशत) धान रोपाइँ भएको छ । जसमध्ये सबैभन्दा धेरै जुम्लामा ९८ प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम सुर्खेतमा जम्मा ५ प्रतिशत भएको छ ।

यस्तै, कालिकोटमा ६०, हुम्लामा ७२, मुगुमा ३४, सल्यानमा ३०, डोल्पामा ९६ प्रतिशत रोपाइँ भएको छ । अघिल्लो वर्ष यी जिल्लाहरुमा ४ देखि ५ प्रतिशतभन्दा बढीका दरले रोपाइँ सम्पन्न भएका थिए । अघिल्लो वर्ष झण्डै ५० प्रतिशत रोपाइँ सम्पन्न भएको दैलेखमा यो पटक जम्मा १५ प्रतिशत रोपाइँ सम्पन्न भएको अधिकारीले बताए ।

यस्तै जाजरकोटमा ३८ र रुकुम पश्चिममा ४० प्रतिशत धान रोपाइँ भएको छ । अघिल्लो वर्षमा यो अवधिमा यी जिल्लामा ४५ प्रतिशतभन्दा माथि रोपाइँ सम्पन्न भएका थिए ।

जुम्लामा जेठ महिनादेखि नै रोपाइँ सुरु हुन्छ । झण्डै २९ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने जुम्लाका अधिकांश ठाउँमा मार्सी धान रोपिन्छ । अधिकांश ठाउँमा धान रोपाइँ सम्पन्न भएको र ४० प्रतिशतको हाराहारीमा धान गोडमेल समेत गरिसकिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गत वर्ष असार १५ सम्म जुम्लामा रोपाइँ सम्पन्न भइसकेका थिए ।

आकाशे पानीको भर र मल अभाव
कर्णालीमा धान रोपाइँ ढिलो हुनुको मुख्य कारण मनसुन ढिलो सक्रिय हुनु हो । कर्णालीको अधिकांश भू–भागमा खेती गर्नका लागि आकाशे पानीको भर पर्नुपर्ने हुन्छ । कृषि मन्त्रालयका अनुसार २ लाख १६ हजार ८८० कुल खेतीयोग्य जमिनमध्ये ३१.५१ प्रतिशतमात्र सिंचित क्षेत्र हो । त्यसमा पनि वर्षभरी सिंचाई हुने क्षेत्र अझ कम छ ।

मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीका अनुसार ३८ हजार  ३३ हेक्टर क्षेत्रफलमा मात्र वर्ष भरी सिंचाई सुविधा पुग्ने गरेको छ भने ३० हजार ३०२ हेक्टर क्षेत्रफल जमिनमा आंशिक रुपमा सिंचाई सुविधा छ ।

उनका अनुसार ६० प्रतिशत जमिन आकाशे पानीको भरमा छ । कर्णाली प्रदेश सरकारले सिँचाइका क्षेत्रमा ठुलो लगानी गरे पनि किसानहरू अझै पनि आकाशे पानीको भरमा पर्नुपर्ने बाध्यता छ ।

मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार रुकुम पश्चिममा २७.७२ प्रतिशत, सल्यानमा १९, सुर्खेतमा ६०.६९, दैलेखमा २८.३६, जाजरकोटमा ४७.५४, डोल्पामा २७.९६, जुम्लामा १२.९९, कालिकोटमा ६१.१९, मुगुमा १०.४७ र हुम्लामा २१.९९ प्रतिशत जमिन सिचित छ । कृषि अधिकारीका अनुसार पानी हुने खोला किनाराका खेतहरूमा धान रोपाइँ भए पनि आकाशे पानीको भेल थामेर रोपाइँ गर्नुपर्ने ठाउँमा रोपाइँ सुरु नै भएका छैनन् ।

मनसुन समयमै सक्रिय नहुँदा कर्णालीका अधिकांश ठाउँमा पहिलो पटक लगाएका मकै खडेरीका कारण सुकेका छन् भने कृषकहरुले दोस्रो पटक मकै लगाएका छन् । कृषकका लागि असार भनेको ‘मानो रोपेर मुरी फलाउने’ समय हो । तर पर्याप्त वर्षा र रासायनिक मलको अभावमा कर्णालीका किसानहरुले समयमै खेती गर्न पाउँदैनन् । जसका कारण उत्पादनमा समेत ह्रास आउने र खाद्यान्नमा परनिर्भर हुने समस्या कर्णालीमा छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।