अन्तरवार्ता

‘प्रश्न गर्नेहरू उत्तर दिने ठाउँमा पुगे पनि पार्टीमा नयाँपन देखिएन’

काँग्रेसमा गठबन्धनको मनोविज्ञान बनेको देखिन्छ : प्रदीप पौडेल

person explore access_timeअसार १५, २०७९ chat_bubble_outline0
तस्विर : कृष्ण खड्का

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले प्रश्न गर्नेहरू उत्तर दिने ठाउँमा पुगे पनि पार्टीमा नयाँपन नदेखिएको बताएका छन् । पार्टी संगठन विस्तार, जनमुखी कार्यक्रम, राष्ट्रिय मुद्दा र आम समस्या हल गर्ने सन्दर्भमा पार्टी अगाडि बढ्न नसकेको उनको भनाइ छ ।


१४ औं महाधिवेशनपछिको ६ महिनाका बीचमा पार्टीले स्थानीय निर्वाचनमा उल्लेख्य परिणाम ल्याए पनि पार्टी व्यवस्थापनमा अपेक्षा अनुसार काम नभएको उनले बताए । आसन्न प्रदेश र संघको निर्वाचनमा गठबन्धन आवश्यक रहेको उनको तर्क छ ।



उनले आगामी निर्वाचनमा आफू प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा रहेको बताए । यसका लागि गृहजिल्ला तनहुँको क्षेत्र नम्बर २ पहिलो प्राथमिकता भएको उनको भनाइ छ । काँग्रेसको आन्तरिक राजनीति, गठबन्धन, भावी प्रधानमन्त्री लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले काँग्रेस नेता पौडेलसँग विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–



नेपाली काँग्रेसको १४ औं महाधिवेशन भएको ६ महिना पूरा भएको छ । सभापति शेरबहादुर देउवाको दोस्रो इनिङस्का यी ६ महिनालाई कसरी हेर्नु भएको छ ?

महाधिवेशनपछि हामी लगत्तै स्थानीय निर्वाचनमा जानुपर्‍यो । निर्वाचनका कारणले पार्टीका आन्तरिक कुराहरू बाँकी नै छन् । पार्टी सञ्चालनमा नयाँपन आएको छैन ।

पार्टी संगठन विस्तार गरी जनमुखी कार्यक्रम बनाउने, प्रभावकारी अभियान सञ्चालन गर्ने, राष्ट्रिय मुद्दामाथि पार्टीभित्र बहस गर्ने र आम समस्या हल गर्ने सन्दर्भमा पार्टी अगाडि बढ्न सकेको छैन । तर यो ६ महिनाको अवधि स्थानीय निर्वाचनको तयारीले नै बित्यो । यस्तै, स्थानीय निर्वाचनको परिणामलाई हेर्ने हो भने काँग्रेस सबै पद र मतमा पहिलो भएको छ । यो हाम्रो आन्तरिक व्यवस्था एकदमै सुदृढ भएर आएको अवस्था भने होइन । हामीले आन्तरिक व्यवस्थापन र प्रभावकारिता बढाउन सकेको भए अझै राम्रो परिणाम आउँथ्यो होला ।

स्थानीय निर्वाचनका कारण पार्टी संगठन व्यवस्थापन हुन सकेन भन्ने कुरा गर्नुभयो । एमाले र काँग्रेसको महाधिवेशन सँगसँगै भएको थियो । एमालेले कार्यविभाजन नै टुङ्ग्याएर पार्टीलाई व्यवस्थित बनायो । काँग्रेसमा नेतृत्वले बेवास्ता र लापरबाहीले यस्तो अवस्था आएको हो कि ?

एमालेको अधिवेशनसँग तुलना गर्दा हाम्रा कतिपय पक्ष राम्रा छन् । हामीले पूर्णरुपमा आन्तरिक लोकतन्त्रलाई अभ्यासमा ल्याएका छौँ । त्यो एउटा विषय भयो । तर पार्टी विधि र व्यवस्था अनुसार पूर्णरुपमा चलेको छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हो ।

हामीले यसअघि पनि यो कुरा धेरै पटक उठाएका थियौँ । प्रश्न उठाउने साथीहरू नै उत्तर दिने ठाउँमा पुगेपछि नयाँपन आउँछ भन्ने आशा र अपेक्षा थियो । अहिले त्यस्तो भएन । अपेक्षा अनुसार काम हुँदैन भन्ने निष्कर्ष निकाल्ने समय भएको छैन ।

अब महाधिवेशनपछिको ६ महिनाभित्र गर्नुपर्ने कामहरू हामीले तत्काल गर्न जरुरी छ । केन्द्रीय समिति बैठक बसेर निर्वाचनको समीक्षा गर्ने, सबै कमिटी, विभागलाई पूर्णता दिने, भ्रातृ संगठनलाई चलायमान बनाउने र पार्टीको नीतिगत विषयलाई प्रस्ट्याउने कुरा तत्काल गर्नुपर्छ । अब पनि गरिएन भने पुरानै ढर्रा, पुरानै शैलीले निरन्तरता पाएको जस्तो हुन्छ ।

विगतमा पार्टी कमिटी र विभागलाई पूर्णता दिन दुई महिना हद म्याद थियो । त्यो समयमा काम गर्न सम्भव छैन भनेर ६ महिना थपियो । असार १० गते नयाँ कार्यसमिति आएको ६ महिना पूरा भयो । पार्टी कमिटीले पूर्णता नपाएको अवस्था छ । विभाग बनेका छैनन् । काँग्रेस नेतृत्व विधान अनुसार नचल्ने नै देखियो, हैन ?

नेतृत्वले निर्वाचनका कारण काम गर्न सकिएन भन्ने स्थिति छ । तर अब समय छैन । ठ्याक्कै ६ महिनामा काम नभए पनि केही दिन गुज्रियो । यसलाई पनि पार्टीको आन्तरिक विषय भएकाले मान्न सकिन्छ । तर अब गर्ने हो भने जे प्रश्नहरू उठ्ने गर्थे, त्यसको निरन्तरता रहने स्थिति हुन्छ । सबैले आफ्नो अधिकार क्षेत्रका काम गर्ने कुरा भन्यौँ । त्यो कुरा ज्यूँका त्यूँ छ । अब नेतृत्वले तत्काल यो विषयमा काम अगाडि बढाउनुपर्छ । असारभित्र यी सबै काम गरिसक्नुपर्छ ।

सभापति शेरबहादुर देउवाको पारा पुरानै छ । बाँकी पदाधिकारीले पनि जिम्मेवारी अनुसार काम गरेको पाइँदैन । तपाईं त महामन्त्रीको प्रत्यासी पनि हुनुहुन्थ्यो । पदाधिकारीमा काम गर्ने ढंग भएन भन्ने लाग्दैन ?

अहिले नेतृत्व असफल भयो भनेर भनिहाल्ने त समय भएको छैन ।

बिहानीले दिउँसोको संकेत गर्छ भनिन्छ नि ?

मैले अघि पनि भनेँ, परिवर्तनको अनुभूति गर्ने अवस्था बनेको छैन । निर्वाचनमा हामीले राम्रो परिणाम ल्याएका कारणले अरु कुरा छायाँमा परेका छन् । पार्टी सञ्चालनमा नयाँपन र परिवर्तन भन्ने केही छैन । काँग्रेसले जनमुखी एजेण्डा उठायो र काँग्रेसमा आकर्षण आयो भन्ने छैन । अपेक्षा अनुसारका काम पार्टीमा अगाडि बढेको छैन ।

पार्टी पदाधिकारीमा युवा पुस्ता पुग्दा पनि काँग्रेसमा किन नयाँपन र परिवर्तनको अनुभूति हुन सकेन ? त्यसको कारण के हो भन्ने लाग्छ ?

एकदमै निराश हुनुपर्ने, अब केही हुँदैन भन्ने निष्कर्ष निकालिहाल्ने बेला भएको छैन । तर जे अपेक्षा थियो, त्यो पनि भएको छैन । आशा गरिएको नेतृत्वले काम गरेन भने झन् बढी निराशा बढेर जान्छ । तपाईंले कारण के भन्नु भएको छ । नेतृत्वले निर्वाचनका कारण पार्टीलाई व्यवस्थित बनाउन सकिनँ भनिरहेको छ । तर निर्वाचनका कारण पार्टीको गतिशीलता रोकिनु हुँदैन । यो चित्त बुझ्दो कारण हुन सक्दैन ।

पार्टी व्यवस्थित भएपछि मात्र निर्वाचनमा हामीले राम्रो गर्न सक्छौँ । यसो हुँदा पार्टीभित्र प्रश्न उठ्दैन, विश्वासको वातावरण भन्छ र असन्तुष्टि पनि हुँदैन । पार्टीको जीवनलाई प्रभावकारी ढंगले अगाडि लैजान सक्यौँ भने निर्वाचनमा त्यसले धेरै फाइदा गर्छ । निर्वाचनमा आम जनताले विश्वास गर्ने वातावरण बन्छ । पार्टी नै व्यवस्थित रुपमा चल्न सकेको छैन, यसले देश कसरी चलाउन सक्छ भन्ने प्रश्न उठ्ने स्थिति हामीले बन्न दिनु हुँदैन ।

सभापति शेरबहादुर देउवाले पक्षपाती ढंगले पार्टी सञ्चालन गरेको आरोप छ । अहिले पनि उहाँ गुटभन्दा माथि उठ्न सक्नुभएन भन्ने छ । तपाईंलाई कस्तो लागिरहेको छ ?

पार्टीका समिति र विभागहरूले पूर्णता पाएका छैनन् । ती समितिलाई पूर्णता दिँदा उहाँले कस्तो खालको रणनीति अख्तियार गर्नुहुन्छ ? त्यसले धेरै कुरा निर्धारण गर्छ भन्ने मलाई लाग्छ । दोस्रो कुरा, निर्वाचनमा टिकट वितरण गर्दा देखिने सबै पक्षलाई राखेर निर्णय गर्नुभएको थियो । उहाँले एक्लै निर्णय गरेकोजस्तो छैन । त्यसमा कति विधि पुग्यो, पुगेन एउटा विषय छ । विधि नपुग्दा पनि विधि पुग्नुपर्छ भन्नेहरू पनि त्यहाँ सहभागी हुनु भएको छ । त्यसैले सबैलाई राखेर टिकट वितरण गरेको देखियो । त्यो मुख्य विषयमा समेटिएको देखिन्छ ।

पार्टीका गुटहरूको प्रतिनिधिलाई राखेर गरिने निर्णय प्रक्रियाभन्दा पनि पार्टीको विधि अनुसार गरिने निर्णय महत्वपूर्ण कुरा हो । गुटहरूले भागबण्डा खोज्ने कुरा राम्रो होइन । सभापतिले पनि भागबण्डा दिएर उहाँहरूलाई सन्तुष्ट गराउनेतिर जानुभन्दा विधि र प्रक्रियाको बाटोमा जाँदा काँग्रेसको प्रभावकारिता बढ्छ ।

स्थानीय निर्वाचनमा गठबन्धन गरेर काँग्रेस पहिलो भएको छ । आसन्न प्रदेश र संघको निर्वाचनमा पनि तालमेल गरेर जाने सत्ता गठबन्धनको तयारी छ । यो आवश्यक छ कि छैन ?

स्थानीय निर्वाचनमा ४३ प्रतिशत स्थानीय तहमा मात्र तालमेल भएको थियो । ती पालिकाका वडाहरूमा १० प्रतिशत पनि तालमेल भएको छैन । ५७ प्रतिशत पालिकामा काँग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो । त्यसैले गठबन्धनले काँग्रेसलाई बेफाइदा भएको छैन । किनभने काँग्रेस जहाँ कमजोर छ, त्यहाँ गठबन्धन गरिएको हो । कमजोर भएको ठाउँमा गठबन्धन गरेर जित्ने कुराले पार्टीलाई कसरी हानी गर्छ ? गठबन्धनभित्र सीटहरू हेर्दा माओवादी केन्द्रले बढी जितेको देखिन्छ ।

माओवादीलाई ज्यादा फाइदा भएपनि काँग्रेसलाई गठबन्धनले घाटा भएको छैन । यसको निरन्तरता आवश्यक छ कि छैन भन्ने कुरा गठबन्धन गर्दा हुने लेनदेनमा आधारित हुन्छ । गठबन्धनका निम्ती हामीले अस्वाभाविक ढंगले टिकट दियौँ भने जनताको मन जित्न सकिँदैन । स्वभाविकता हेरेर गठबन्धन गरियो भने राम्रो हुन्छ । सक्दा त एक्लै लड्ने कुरा राम्रो हो । तर तेस्रो शक्ति एक्लै लड्दैन । पहिलो र दोस्रो शक्ति कुनैसँग मिल्छ । त्यसैले तेस्रो शक्तिलाई मिलाएर जाने कुरा स्वाभाविक हुन्छ ।

गठबन्धनकै निरन्तरताको पक्षमा वातावरण बन्छ भन्ने मलाई लाग्छ । तर गणितीय गठबन्धनको अर्थ छैन भन्ने मेरो बुझाइ छ । गठबन्धनले देश र जनतालाई के गर्छ ? जनताका मुद्दा गठबन्धनसँग कहाँ जोडिएको छ ? गठबन्धन हुँदा जनताका मुद्दा पूरा हुने स्थिति कसरी बन्छ ? गठबन्धनको प्रतिबद्धता के हो ? गठबन्धन गरेर चुनाव जितेपछि जनताका निम्ति गर्ने कुरा के हो ? त्यसको साझा एजेण्डा निर्माण गरेर गठबन्धन गरेर जानुपर्छ । मुद्दामा साझा दृष्टिकोण नबन्ने र खाली सीट बाँटफाँटमा मात्र गठबन्धन गर्ने कुरा स्वाभाविक हुन सक्दैन । जनताको मुद्दालाई कार्यान्वयन गर्ने गरी गठबन्धन गर्ने स्थिति बन्यो भने परिणाममुखी हुन्छ ।

माओवादी र एकीकृत समाजवादीका नेताहरूले काँग्रेसले आफूहरूको अस्तित्व स्वीकार नगरे गठबन्धन कुनै पनि बेला टुट्ने अभिव्यक्ति दिइरहेका छन् । उनीहरूको यो अभिव्यक्तिलाई काँग्रेसले कसरी लिएको छ ?

आफ्ना कार्यकर्तालाई चित्त बुझाउन, म कार्यकर्ताको पक्षमा छु भनेर अभिव्यक्ति दिने एउटा विषय हो । सारमा गठबन्धनभित्र रहेका दल गठबन्धन गरेर जाने कुरामा एकमतजस्तै छन् । लेनदेन र मुद्दा मिलेपछि चित्त बुझेरै गठबन्धन भएको हो ।

स्थानीय निर्वाचनको परिणामले संघ र प्रदेशमा गठबन्धन गर्दा गणितीय हिसाब मिलाउने के आधार दिएको छ ? पाँच दलबीच कसरी भागबण्डा मिलाएर जानुपर्छ जस्तो लाग्छ ?

आम निर्वाचनमा स्थानीय तहको जस्तो गठबन्धन सम्भव छैन । १६५ निर्वाचन क्षेत्रमध्ये केहीमा गठबन्धन गर्ने केहीमा नगर्ने भन्ने कुरा हुन सक्दैन । त्यस कारण स्थानीय निर्वाचनको गठबन्धनभन्दा संघ र प्रदेश निर्वाचनको गठबन्धन अप्ठ्यारो छ । तर गठबन्धनमा रहेका दलहरूले उम्मेदवार बनाउनका लागि झगडा गर्ने कुराको केही अर्थ छैन ।

उम्मेदवारले जित्नु पनि पर्छ । जित्नका लागि गठबन्धन गर्ने हो । संगठनको अवस्था हेरेर सीट लिनुपर्छ । यसका लागि स्थानीय निर्वाचन, विगतको संसदीय निर्वाचन र व्यक्तित्वलाई आधार बनाउनुपर्छ ।

पाँच दलीय गठबन्धन चुनावसम्मै जानेमा विश्वस्त हुनुहुन्छ ?

अहिलेसम्म जाने अवस्था नै देखिन्छ । गठबन्धनका विरुद्ध कोही उभिएको छैन । कुनै पार्टीको कुनै एउटा नेताले गठबन्धन गर्नु हुँदैन भन्ने कुरा एउटा हो । त्यो रणनीति पनि हुन्छ । गठबन्धनभित्र बार्गेनिङ गर्ने र कार्यकर्ता भड्किन नदिन पनि बोलिएको हुन्छ । पाँच दलका मुख्य व्यक्तिहरूले गठबन्धनका खिलाफमा जाने गरी बोलेको र व्यवहार देखाएको स्थिति छैन ।

७७ वटै जिल्लामा सशक्त संगठन भएका काँग्रेसले गठबन्धन गरेर जाँदा नेता कार्यकर्तालाई रोक्न सक्ला र ? टिकट नपाएपछि विद्रोह हुनसक्छ नि ?

स्थानीय निर्वाचनमा अभ्यास गरिसकेको छ । मनोविज्ञान पनि बनेको देखिन्छ । हामी गठबन्धन गरेरै सरकारमा छौँ । स्थानीय निर्वाचनमा गठबन्धन गरेर हामी आयौँ । हामीले गठबन्धन नगर्दा अहिले हामीले गठबन्धनमा राखेका दलहरू अन्तै गठबन्धन गर्न जान्छन् ।

यो स्थितिमा नेपाली काँग्रेसले निर्वाचन जित्ने स्थिति कसरी बन्छ ? गठबन्धन नगरौँ भन्दै गर्दा यो कुरालाई चित्त बुझ्ने गरी तथ्य ल्याउन सक्नुपर्छ । काँग्रेसमा गठबन्धन हुनुहुँदैन भनेर स्थानीय निर्वाचनमा पनि कसैले भनेको होइन । स्थानीय तहमा गठबन्धन गर्न दिनुपर्छ, परिस्थिति अनुसार मात्र गठबन्धन गर्नुपर्छ भनेर सबैले भनेको हो नि ! त्यसैले कुनै अमुक पालिकामा भएको गठबन्धनको विरोध गरे पनि समग्र रुपमा काँग्रेसभित्र असहमति थिएन । अब पनि त्यो परिस्थिति बन्छ भन्ने मलाई लाग्छ ।

माओवादी केन्द्र एमालेसँग मिल्छ र हामी हार्छौँ भन्ने डरको राजनीति काँग्रेसले कति दिन गर्छ ?

त्यसो भए त हामी सत्तामा जानु नै हुँदैन थियो । प्रतिपक्षमै बसेर निर्वाचनमा जानुपर्थ्यो । कम्युनिस्ट पार्टी फुट्यो, केपी ओली नेतृत्वको सरकार ढल्यो । त्यसपछि पनि हामीले कसैलाई प्रधानमन्त्री बनाइदिनुपर्थ्यो । हामी सरकारमा गयौँ । त्यसमा कसैको असहमति थिएन । स्थानीय निर्वाचनमा गठबन्धन गर्‍यौँ । त्यसमा पनि कसैको ठूलो असहमति थिएन । अब संघको निर्वाचनमा गठबन्धन गर्ने कुरामा असहमति जनाउने परिस्थिति छैन । त्यसैले डरभन्दा पनि परिस्थितिले गठबन्धन हुने हो । हाम्रो राजनीतिमा गठबन्धनको संस्कार विकसित भएको देखिन्छ ।

काँग्रेस र एमालेमध्ये को पहिलो पार्टी बन्ने भन्ने साँचो माओवादीको हातमा गयो होइन ?

त्यो पनि भन्न सकियो । पार्टीगत रुपमा माओवादीको हैसियत छ । ऊ कोसँग मिल्छ भन्ने आधारमा काँग्रेस र एमालेमध्ये को पहिलो हुने भन्ने परिस्थिति बन्यो । तर काँग्रेसको नेतृत्वमा मात्र गठबन्धन टिक्ने स्थिति भयो । कम्युनिस्टहरूबीचको गठबन्धन टिक्दै टिकेन । केपी ओलीजीको नेतृत्वको गठबन्धन टिकेन ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन टिकिरहेको छ । निर्वाचनमा पनि टिक्यो । गठबन्धनको साँचो काँग्रेससँग मात्र भएको देखिने भयो । नेपालको राजनीतिमा समन्वयकारी भूमिका काँग्रेसले अब्बल ढंगले गरेको छ ।

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उभार देखियो । मुख्य सहरमा शक्तिशाली दलका उम्मेदवार पराजित भए । आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारको हावा कत्तिको चल्ने देख्नुभएको छ ?

स्वतन्त्र उम्मेदवारको विजयले काँग्रेसलाई नराम्रो गर्दैन । काँग्रेस लोकतन्त्रवादी पार्टी हो । जनताले जसलाई चाह्यो त्यसैलाई जिताउँछन् । यो व्यवस्थाको सुन्दरता हो । तर नेपाली काँग्रेसका लागि यो एउटा चुनौती हो । यसलाई हामीले समयमै थाहा पायौँ ।

हामीलाई कतिपय कुरामा जनताले सच्चिन भनेका छन् । हामी व्यवस्थित हुनुपर्ने रहेछ, हामीले बुझिने गरी आफ्ना कुरा भन्न सकेका रहेनछौँ । हामी चल्ने तरिकामाथि जनताको असन्तुष्टि रहेछ भन्ने सन्देश स्थानीय निर्वाचनले दिएको छ । यसलाई हामीले समयमै थाहा पायौँ । अब सच्याएर आम चुनावमा जान्छौँ । धेरै ठूलो समस्या छैन ।

आम निर्वाचनमा उम्मेदवार सँगसँगै भावी प्रधानमन्त्री को भन्ने कुराले पनि अर्थ राख्छ । आगामी निर्वाचनमा काँग्रेसले छैटौँ पटक प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवालाई अगाडि सार्छ कि कुनै नयाँ व्यक्ति प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर जाने स्थिति बन्छ ?

निर्वाचनको प्रक्रिया सुरु भइसकेको छैन । पार्टीभित्र यो विषयमा बहस प्रवेश गरेको छैन । हाम्रो पार्टीले उहाँ (शेरबहादुर देउवा)बाहेक अर्को व्यक्ति चयन गरियो भने चयन गरिएकै व्यक्तिलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिन्छ । चयन गरिएन भने पार्टी सभापति जो छ, उहाँकै नेतृत्वमा निर्वाचनमा जाने कुरा हो । यो विषयमा निर्वाचनको सम्मुखमा मात्र छलफल हुन्छ । अहिले हाम्रो पार्टीको सभापति र मुलुकको प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ । उहाँकै नेतृत्वमा गठबन्धन अगाडि बढिरहेको छ । अब प्रधानमन्त्री को हुन्छ भनेर पार्टीमा छलफल गर्ने बेला भएको छैन ।

महामन्त्री गगन थापाले आम निर्वाचनपछि प्रधानमन्त्रीमा आफ्नो दाबी रहने बताउनुभएको छ । यसलाई तपाईंले कसरी लिनुभएको छ ?

यसलाई अस्वाभाविक रुपमा लिनुपर्ने केही छैन । हामीसँग जुनसुकै पुस्तामा नेतृत्व छ भन्ने कुरा देखिन्छ । पार्टीभित्र प्रतिस्पर्धा गरेर आउने चाहना राख्ने कुरालाई अस्वाभाविक ढंगले लिनुपर्ने केही छैन । तर त्यो पछिको विषय हो । अहिले भन्नु कति सान्दर्भिक छ, त्यो आफ्नो ठाउँमा छ । तर दाबी गर्ने कुरा अस्वाभाविक होइन ।

आगामी निर्वाचनपछि प्रधानमन्त्रीमा देउवाको विकल्प दिनुपर्ने काँग्रेसभित्र र बाहिर एक खालको आवाज सुनिन्छ । यसमा तपाईंको मत के हो ?

हामीले अहिले अर्को निर्वाचनको तयारी सुरु गरेका छैनौँ । पार्टीको आन्तरिक विषयहरू पूरा गर्नुपर्ने छ । अहिले त्यो काम तत्काल गर्न जरुरी छ । अहिले प्रधानमन्त्री को हुने भन्ने विषय उठाएर पार्टीभित्र धेरै विवाद गरिरहन जरुरी छैन ।

आसन्न आम निर्वाचनमा तपाईंंको तयारी के छ ?

अघिल्लो पटक प्रदेशमा चुनाव लडेको थिएँ । यसपटक प्रदेशमा चुनाव लड्दिनँ । मैले प्रतिनिधिसभामा चुनाव लड्ने इच्छा व्यक्त गरेको छु ।

तनहुँका दुई वटा निर्वाचन क्षेत्रमा तपाईं लगायत चार–पाँच जना नेताहरूको सशक्त दाबेदारी छ । तनहुँ नै अन्तिम हो कि विकल्प पनि सोच्नु भएको छ ?

तनहुँमा दुई वटा निर्वाचन क्षेत्र छ । तपाईंले संकेत गरेका सबै नेता १ नम्बर निर्वाचन क्षेत्रका हुनुहुन्छ । म २ नम्बर निर्वाचन क्षेत्रको हुँ । मैले तनहुँको २ नम्बर क्षेत्रबाट चुनाव लड्ने गरी इच्छा व्यक्त गरेको हुँ । यो पार्टीगत र प्रक्रियागत हुने निर्णय हो । म पार्टीको इमानदार सिपाही हुँ । पार्टीले खटाएको काम गर्छु । तर निर्वाचनमा जित्ने आधार कहाँ छ, उसको पहिचान कहाँ छ, कहाँ त्यो व्यक्तिले काम गरेको छ भन्ने आधारमा पार्टीले टिकट दिने हो । त्यसैले २ नम्बरमा मलाई टिकट दिने कुरा उपयुक्त हुन्छ भन्ने मेरो बुझाइ छ ।

काठमाडौँ–३ मा पनि तपाईंंको चर्चा छ । तनहुँ २ को विकल्पका रुपमा काठमाडौँको ३ नम्बर क्षेत्रबारे केही सोच्नु भएको हो ?

काठमाडौँमा लड्ने कुरा यसअघिका निर्वाचनमा पनि आएको हो । तर म तनहुँतिर फर्किएको अवस्था हो । अहिले पनि मेरो पहिलो प्राथमिकता तनहुँमै हुन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।