शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा चामल आयातमा कमी आएन

बुधबार, १५ असार २०७९, ०६ : ५१
बुधबार, १५ असार २०७९

धान, गहुँसहित अन्न उत्पादनको उर्वर भूमि भए पनि सुदूरपश्चिम प्रदेशमा अझैं पनि हरेक वर्ष चामल आयातमा वृद्धि भइरहेको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर उत्पादनको उर्वर भूमि मानिन्छ ।

कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्म दुई करोड ३५ लाख २९ हजार क्विन्टल चामल आयात भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को जेठ मसान्तसम्म कैलाली भन्सार नाका हुँदै सुदूरपश्चिम प्रदेशमा दुई करोड ७० लाख ५५ हजार चार सय ९९ क्विन्टल चामल आयात भएको थियो । 

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कैलाली भन्सार नाका हुँदै एक अर्ब छ करोड १३ लाख ३९ हजार रुपैयाँ मूल्य बराबरको चामल आयात भएको छ । चामल आयातबाट गत जेठ मसान्तसम्म १३ करोड १९ लाख रुपैयाँ राजश्व संकलन भएको कैलाली भन्सार कार्यालयले जनाएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा कैलाली भन्सार नाका हुदै प्रदेशमा एक करोड तीन लाख ३५ हजार दुई सय ७७ क्विन्टल चामल आयात भएको थियो भने आर्थिक वर्ष ०७५/७६ मा दुई करोड ५१ लाख २० हजार सात सय ८० क्विन्टल चामल आयात भएको थियो । 

अर्कोतिर सुदूरपश्चिम प्रदेशमा धान खेती हुने क्षेत्रफल पनि निरन्तर घट्दै गएको तथ्यांकले देखाएको छ । सुदूरपश्चिम कृषि विकास निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेशमा एक लाख ७५ हजार दुई सय १८ क्षेत्रफलमा धान खेती भएको थियो भने चालु आर्थिक वर्ष २०७८/८९ मा एक लाख ७२ हजार सात सय ८६ हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । 

त्यस्तै, प्रदेशमा धानको उत्पादकत्ममा पनि ह्रास आइरहेको छ । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष २०७७/७८ मा छ लाख ४४ हजार नौ सय ९१ मेट्रिक टन धान उत्पादन भएको थियो । चालू आर्थिक वर्षमा धान उत्पादनमा ३१ दशमलव ४९ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा चार लाख ४१ हजार नौ सय १३ मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ । 

‘२०७८ असोज ३१ देखि कार्तिक ३ गतेसम्म परेको हावा हुरीसहितको बेमौसमी वर्षाले मुख्य रुपमा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर तथा लुम्बिनी प्रदेशका बर्दिया, बाँके र कपिलवस्तु जिल्लामा धान थन्क्याउने बेलामा पारेको ठुलो क्षतिले समग्र राष्ट्रिय धान उत्पादनमा कमि आएको छ’ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘गत आर्थिक वर्षको तुलनामा गण्डकी प्रदेश बाहेकका धान उत्पादन बृद्धि ऋणात्मक रहन गयो भने सुदूरपश्चिममा ३१ दशमलब ४९ प्रतिशतले उच्च गिरावट हुन आएको छ । चैते धानको उत्पादकत्व गत आर्थिक वर्षको तुलनामा शून्य दशमलव ३२ प्रतिशतले बृद्धि हुन आई चार दशमलव ६८ मेट्रिक टन प्रति हेक्टर कायम हुन गएको छ ।’

प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख यज्ञराज जोशीले हरेक वर्ष धान खेती हुने क्षेत्रफलमा एक हजार हेक्टरले कमि आइरहेको बताए ।  आर्थिक वर्ष २०७६/७७ मा प्रदेशमा एक लाख ८१ हजार हेक्टर जमीनमा धान रोपाई गरिएको थियो । 

समयमै पानी नपर्दा आधा प्रतिशत पनि रोपाई भएन
कैलारी गाउँपालिकाका किसान प्रेम चौधरीले वर्षा भएपछि धान रोपाई शुरु गर्थे । यस वर्ष प्रदेशमा वर्षा ढिला गरि शुरु भएपछि उनी अहिले धान रोपाई गर्ने सोचमा छन् । समयमै मल नपाउने समस्यासँगै यस वर्ष उनले आकासे पानीको पनि समस्या झेले । ‘सिँचाइको अभाव छ । आकासे पानीकै भरमा खेती गर्नुपर्छ । यस वर्ष ढिला गरि वर्षा भएको छ’ उनले भने –‘मल अभाव त सधैको समस्या हो ।’

कृषक प्रेमजस्तै धानबालीको उब्जनीको थलो मानिएको तराईका कैलालीका अधिकांश किसानहरूले धान रोपाई गर्न सकेका छैनन । समयमै पानी नपर्नु र सिञ्चाईको पनि व्यवस्था नभएपछि किसानहरूले धान रोपाई गर्न ढिलाई गरेको प्रतिक्रिया दिए ।

गत वर्ष असार दोस्रो सातासम्म कैलालीमा कुल खेतीयोग्य जमिनको ५० प्रतिशतभन्दा बढीमा धान रोपाई भइसकेको थियो । यस वर्ष कैलालीमा कुल खेतीयोग्य जमिनको ३० प्रतिशतमा मात्र धान रोपाई भएको छ । गत वर्ष यही असार १५ गतेसम्म ५० प्रतिशतभन्दा बढी रोपाई सम्पन्न भइसकेको थियो । त्यसैमा जेठको दोस्रो हप्तादेखि मनसुन सक्रिय भएपछि किसानले समयअगावै खेतको काम सम्पन्न गरेको टीकापुर –८ का धनसिंह साउँदले जानकारी दिए । यस वर्ष मनसुन जेठमै सक्रिय भएपनि वर्षा नहुँदा धान रोपाई गर्न नसकिएको बताए ।

‘मैले गत वर्ष यो समयमा १५ बिघा बढी रोपाई गरिसकेको थिए । यो वर्ष एक बिघा पनि रोपाई भएको छैन,’ उनले भने, ‘अहिलेको वर्षा किसानका लागि अमृत बनेको छ । कम्तीमा जमिन भिजेपछि बोरिङको पानीले भए पनि रोपाई गर्ने वातावरण बनेको छ ।’

मल नभएर उत्पादन नहुने भएपछि रासायनिक मलको पर्खाइमा बसेका किसानलाई मनसुनले पनि पछाडि पारेको किसान रामप्रसाद चौधरी बताउँछन्् । ‘सरकारले मल ल्याउन सकेन । केही समय मलको पर्खालमा बित्यो भने केही समय सिँचाइको अभावले,’ उनले भने, ‘अहिले भारतबाट भए पनि मलको व्यवस्थापन भएको छ । किसानले आफ्नो प्रयोगको लागि भारतीय बजारबाट मल ल्याए । अनि वर्षा पनि सुरु भयो । अब किसानको व्यस्तता खेतमा देखिन थालेको छ ।’

मल खोज्न धेरै ठाउँ धाए पनि मल भन्ने नपाएको कैलारी गाउँपालिकाकै अर्का किसान सुरेशकुमार चौधरीले गुनासो गरे । मल नपाउँदा विना मलमै खेती गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । खेती लगाउने समयमै मल नपाए पछि यस वर्ष उब्जनी घट्ने चिन्तामा किसानहरू छन् ।

प्रदेशको कृषि निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशभरी असार दोस्रो सातासम्म कुल खेतीयोग्य जमिनमध्ये ४० प्रतिशतमा रोपाई भइसकेको छ । गत वर्ष सोही अवधिमा प्रदेशभरी ५० प्रतिशत खेतीयोग्य जमिनमा धान रोपाई भएको थियो । यस वर्ष समयमै पानी नपर्दा र किसानले मल नपाउँदा दोस्रो सातासम्म गत वर्षको तुलनामा धान रोपाइँमा कमि आएको निर्देशक यज्ञराज जोशीले बताए ।
कृषि निर्देशनालय दीपायलका निर्देशक जोशीले भने– ‘मनसुन सक्रिय भएसँगै अहिले रोपाई धमाधम भइरहेको छ । हामीले हप्तामा यो तथ्यांक संकलन गर्ने गरेका छौं । मंगलबारसम्म कुल खेतीयोग्य जमिनमध्ये ४० प्रतिशत रोपाई भइसकेको छ ।’

कृषि निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार प्रदेशमा एक लाख ८५ हजार आठ सय ४७ हेक्टर क्षेत्रफलमा रोपाई हुँदै आएको छ । निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार दोस्रो सातासम्म ७२ हजार पाँच सय ३७ हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ । 

प्रदेशमा सबैभन्दा बढी बैतडीमा जिल्लामा रोपाई भएको छ । निर्देशनालयले दिएको विवरण अनुसार बैतडीमा नौ हजार हेक्टरमा रोपाई हुँदै आएकोमा छ हजार सात सय ५० हेक्टर (७५ प्रतिशत)मा रोपाई भइसकेको छ ।

प्रदेशको सबैभन्दा कम धान रोपाई डोटीमा भएको छ । १० हजार सात सय १५ हेक्टर क्षेत्रफलमा रोपाई हुँदै आएको यस जिल्लामा असारको दोस्रो सातासम्ममा दुई हजार दुई सय ५० हेक्टर (२१ प्रतिशत)मा धान रोपाई भएको छ ।

प्रदेशका तराईका दुई जिल्लामा पनि धान रोपाइँको अवस्था सन्तोषजनक नरहेको निर्देशनालयको तथ्यांकमा रहेको छ । कैलालीमा ७० हजार पाँच सय २० हेक्टरमा रोपाई हुँदै आएकोमा २१ हजार एक सय ५६ हेक्टर (३० प्रतिशत) मा धान रोपाई भएको छ भने कञ्चनपुरमा ४८ हजार चार सय ७५ हेक्टरमा रोपाई हुँदै आएकोमा दुई हजार एक सय ८१ हेक्टर (४५ प्रतिशत) मा रोपाई भइसकेको छ ।

दार्चुलामा चार हजार चार सय ८० हेक्टरमा रोपाई हुँदै आएकोमा एक हजार पाँच सय ६८ हेक्टर (३५ प्रतिशत), डडेल्धुरामा छ हजार एक सय ८८ हेक्टरमा रोपाई हुँदै आएकोमा तीन हजार ९४ हेक्टर (५० प्रतिशत), बझाङमा १२ हजार सात सय चार हेक्टरमा रोपाई हुँदै आएकोमा पाँच हजार सात सय १६ (५० प्रतिशत), अछाममा १६ हजार पाँच सय ९० हेक्टरमा रोपाई हुँदै आएकोमा नौ हजार एक सय २४ हेक्टर (५५ प्रतिशत) र बाजुरामा सात हजार एक सय ७५ हेक्टरमा रोपाई हुँदै आएकोमा दुई हजार दुई सय २४ हेक्टर (३१ प्रतिशत)मा रोपाई भइसकेको छ ।

यसपाली मनसुन ढिलाई भएका कारण रोपाई पनि ढिला सुरु भएकोले धान उत्पादनमा कमी हुने कृषि निर्देशनालयले जनाएको छ ।

निर्देशक जोशीले यस पाली वर्षा राम्रोसँग नभएकाले असारको अन्त्यसम्ममा पनि धान रोपाई सम्पन्न हुन नसक्ने अनुमान व्यक्त गरे । ‘समयमै रोपाई नसकिए धान उत्पादनमा पनि ह्रास आउने देखिन्छ’ उनले भने ।
उनले प्रकोप तथा बिउका समस्या, सिँचाई प्रविधिमा कमि हुनु लगायतका समस्या किसानहरूले झेल्दै आएको बताए ।

आज धान दिवस
हरेक वर्षझै यस वर्ष पनि प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धान दिवसलाई भव्यताका साथ मनाउने तयारी गरेको छ । मन्त्रालयले यस वर्ष प्रदेशका विभिन्न स्थानीय तहहरूले पनि धान दिवसलाई भव्यताका साथ मनाउने तयारी गरेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शेरबहादुर ऐर
शेरबहादुर ऐर
लेखकबाट थप