बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका र इटालीबाट समेत भित्रिन्छ नेपालमा चामल

बुधबार, १५ असार २०७९, ०६ : ३६
बुधबार, १५ असार २०७९

चालु आर्थिक वर्ष (२०७८/७९) मा नेपालले विदेशबाट ४५ अर्ब २८ करोड रुपैयाँको धान र चामल आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको धान, चामल, धानको बिउ र कनिका आयात भएको हो ।

यस अवधिमा विदेशबाट २७ अर्ब ११ करोड रुपैयाँको चामल आयात भएको छ । यस्तै, १५ अर्ब ९२ करोड रुपैयाँको धान र १ अर्ब ३८ करोड रुपैयाँको कनिका आयात भएको छ । यसैगरी, यस अवधिमा ८७ करोड रुपैयाँको धानको बिउ आयात भएको तथ्याङ्कले देखाएको छ । यही अवधिमा विदेशबाट ५० लाख रुपैयाँ बराबरको चिउरा समेत भित्रिएको छ ।

तथ्याङ्कअनुसार नेपालले दक्षिण छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै धान, चामल र धानको बिउ तथा कनिका आयात गर्ने गरेको छ । अहिलेसम्म नेपाल भित्रिएको धान भारतबाट मात्रै आयात भएको छ । यस्तै, भारत, बंगलादेश, चीन, मलेसिया र फिलिपिन्स लगायतका देशबाट धानको बिउ आयात भएको छ ।

यसका साथै, भारत र चीन तथा जापान, इटाली, कोरिया, थाइल्याण्ड, अमेरिका, भियतनाम र अष्ट्रेलियालगायतका मुलुकबाट चामल र कनिका आयात भएको छ । यीमध्ये भारत र चीनबाट सबैभन्दा धेरै चामल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । कृषि सचिव गोविन्दप्रसाद शर्मा नेपालमा बर्सेनि माग बढ्दै जाँदा आयात समेत बढिरहेको बताउँछन् ।

नेपालमा बर्सेनि जमिन बाँझो राख्नेक्रम बढ्दो स्थितिमा छ । जसले गर्दा खेतीयोग्य जमिनलाई बञ्जरमा परिणत गर्छ र उत्पादन घट्दै जान्छ । तर, खपत भने दिनदिनै बढ्दै जाँदा विश्वका दर्जनभन्दा बढी देशबाट चामल आयात भइरहेको सचिव शर्माको भनाइ छ ।

यसैगरी, पहाडी क्षेत्रमा यसअघि हुँदै आएको धान खेतीसमेत अहिले घट्दै गइरहेको छ । ‘समयमै रासायनिक मल नपाउनु, उत्पादन लागत र उत्पादित स्वदेशी चामलले बजार नपाउँदा बर्सेनि चामलको उत्पादन घट्दै छ,’ उनले रातोपाटीसँग भने, ‘यसले विदेशबाट हुने आयातसमेत बढाइरहेको देखिन्छ ।’

यसैगरी, किसानहरूले आम्दानीको आसमा धेरै फल्ने धान लगाउन छाडेर थोरै फल्ने मूल्यवान धानलाई प्राथमिकतामा राख्दासमेत आयात बढिरहेको कृषि सचिव शर्माको विश्लेषण छ ।

कृषि विभागका महानिर्देशक राजुरमण पौडेलले गत वर्ष नेपालमा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको बताए । देशभरको १४ लाख ७० हजार हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट उक्त परिमाणको धान उत्पादन भएको पौडेलको भनाइ छ । तर, गत वर्ष धान भित्र्याउने समयमा परेको पानीबाट आएको बाढी र डुबानका कारणले धानमा ठूलो क्षति भएको थियो । जसको प्रभावस्वरूप यो वर्ष धान र चामलको आयात झनै बढ्ने अनुमान सरकारको छ ।

आर्थिक वृद्धिमा नै क्षति पुर्‍याउने गरी आएको उक्त बाढीले नेपालमा धान र चामलको आयात र यसबाट विदेशी मुद्राको सञ्चितिलाई नै असर पार्ने बताइएको छ । हुन पनि, आर्थिक वर्ष २०७५/७६ मा ३१ अर्ब ४३ करोड रुपैयाँको चामल र १ अर्ब ११ करोड रुपैयाँको कनिका आयात भएको थियो ।

आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा २७ अर्ब ६२ करोडको चामल, १८ अर्ब ३७ करोडको धान, २ अर्ब ६१ करोडको कनिका र २ अर्ब १७ करोडको धानको बिउ भित्रिएको छ । यसले २ वर्षको अन्तरालमै नेपालमा धान र चामल लगायतका वस्तुको आयात झण्डै दोब्बरले बढेको देखाउँछ ।

आर्थिक वर्ष २०७५/७६ मा चामल र कनिका मात्रै आयात भएकामा २०७७/७८ सम्म आइपुग्दा धान र धानको बिउ आयातमा पनि अर्बौं रुपैयाँ बाहिरिएको देखिन्छ । यसले नेपालमा बर्सेनि धान र चामलको आयात बढ्दो स्थितिमा रहेको देखाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप