बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डा. गोपाल ठाकुरद्वारा लिखित पुस्तक सार्वजनिक

मङ्गलबार, १४ असार २०७९, २३ : ३१
मङ्गलबार, १४ असार २०७९

भाषाविज्ञ तथा राजनीतिज्ञ डा. गोपाल ठाकुरद्वारा लिखित ‘जीवंत भोजपुरी मजबुन’ पुस्तक सार्वजनिक भएको छ । लिंकम युरोपा जर्मनीबाट प्रकाशित अनुसन्धानमूलक उक्त ग्रन्थमा भोजपुरी रहनसहन, भेषभूषा, संस्कृति, भाषा, लोककथा, दिनदैनिकी, घरेलु काम, अन्तर्वार्ता, मनोवाद, संवाद लगायतका सामाजिक, सांस्कृतिक तथा जनजीवनका विभिन्न पक्ष समावेश छन् । 
ग्रन्थकार डा. ठाकुरले भोजपुरी भाषा, संस्कृति, रहनसहन, रीतिथिति, जनजीवन, कृति, खाद्य प्रणाली लगायतका विविध पक्षलाई बुझ्न कृतिले मद्दत गर्ने बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय रुपमा जसले भोजपुरी बुझेका छैनन् तिनका लागि समेत कृतिले सहयोग पु¥याउँछ । साथै शब्दकोशको काम गर्नेका लागि समेत यसले मद्दत पु¥याउँछ ।’ उनका अनुसार भोजपुरी शब्दको प्रयोग कसरी भएको छ त्यसलाई थाहा पाउनका लागि समेत पुस्तक निकै उपयोगी छ ।
कृतिमा विभिन्न १३ वटा अलग अलग विधाको खोजी गरिएको छ । भोजपुरी संस्कृति, समाज, कृषि, पाककला, लोकवार्ता, पर्यावरण लगायतका विविध पक्ष समेटिएको उक्त कृतिमा विभिन्न व्यक्तिका अन्तर्वार्ता, अनुभव, लोककथा आदि रहेका छन् । कृतिको पहिलो पाठमा नवज्योति एफएम ८८.२ मेघाहर्जमा नेपाल भोजपुरी विद्यार्थी समाजका महासचिव सुनीलकुमार पटेलसँग पर्सा जिल्लाको समसामयिक राजनीति र भोजपुरी संस्कृतिका बारेमा व्यक्त गरिएको विचारलाई राखिएको छ ।

पाठ २ मा लेखकद्वारा प्रस्तुतकर्ताको रूपमा नवज्योति एफएममै कार्यक्रम ‘भोर कब होइ’ मा कृषिसम्बन्धी रेडियो मोनोलोग रहेको छ । पाठ ३ मा रेडियो नेपालको ‘भोजपुरिया सानेस’ कार्यक्रममा प्रस्तोता धुनराज शर्माद्वारा लेखकसँग भोजपुरी संस्कृतिका विविध आयाम र पक्षसँग सम्बन्धित रही गरिएको अन्तर्वार्ता रहेको छ । पाठ ४ मा  भोजपुरी साहित्यकार गोपाल अश्कसँग प्रख्यात भोजपुरी साहित्यकार स्वर्गीय पण्डित दीपनारायण मिश्रको मधुपर्क पत्रिकामा लिइएको रहेको छ । जसमा भोजपुरी संस्कृतिका विषयमा महत्वपूर्ण पक्षलाई उठान गरिएको छ । यस्तै, पाठ ५ मा लेखकको हजुरआमा स्वर्गीय बचिया देवीको बाल्यकालको अनुभवको वर्णन गरिएको छ । 

पाठ ६ मा लेखकद्वारा संकलन गरिएको भोजपुरी भाषी क्षेत्रको परिवेशका विभिन्न खण्डहरू समावेश छन् । यस्तै अर्कोमा पाठमा भोजपुरी भाषी क्षेत्रमा दाजुभाइ र दिदीबहिनीबीचको सौहार्दपूर्ण सम्बन्ध व्यक्त गर्ने लोकप्रिय चाड रक्षाबन्धनको विषयलाई राखिएको छ । पाठ ८ मा लोककथा रहेको छ । जुन स्वर्गीय हीरा भगत यादवले लेखक बाल्यकालमा सुनाएका थिए । पाठ ९ मा लेखकद्वारा प्रस्तुत भोजपुरी वर्णात्मक युग्महरूको न्यूनतम जोडी र स्थितिगत वितरणको उदाहरण दिइएको छ । पाठ १० मा परम्परागत रुपमा भोजपुरी क्षेत्रमा प्रचलित एक लोक–कथा रहेको छ । 

पाठ ११ मा पनि लोककथा नै रहेको छ । जुन लोककथा लेखकलाई सन् २००५ मा स्वर्गीय हरिहर यादवले सुनाएका थिए । यसैगरी अर्को पाठमा दुई गाउँलेहरू बीचको कुराकानीलाई राखिएको छ । जुन गियरसनको लेखेका थिए । 
यो कृतिको प्रस्तुतिकरण, अन्तर्राष्ट्रिय ध्वनी वर्णमालामा नेपालको भोजपुरी क्षेत्रको रुपमा परिचित बारा–पर्साको बोलीलाई केन्द्रविन्दुमा राखी लेखकद्वारा अन्तर–रेखीयकरण प्रस्तुति गरिएको छ । जसमा देवनागरी, अन्तर्राष्ट्रिय ध्वनी वर्णमाला, रुपविन्यास, शाब्दिक अनुवाद र स्वतन्त्र अंग्रेजी अनुवाद रहेका छन् । पाठ १३ मा समकालीन भोजपुरी समाजमा केही प्रक्रियागत गतिविधिसँग सम्बन्धित विविध सन्दर्भ प्रस्तुत गरिएको छ । 
साथै कृतिमा भोजपुरी भाषाका ध्वनीशास्त्रीय, रुप वर्णात्मक, रुपात्मक, रुप वाक्यात्मक लगायतका पक्षहरूको वर्णनसहित शब्द र खण्ड राखिएको छ । तिनीहरूलाई शब्द वा वाक्य पहिलो पटक देवनागरीमा प्रस्तुत गरिएको लेखकले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप