शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा डुबानमा परेका २८८ घरका ९३४ जनाको उद्धार

मङ्गलबार, १४ असार २०७९, २२ : १०
मङ्गलबार, १४ असार २०७९

अविरल वर्षाको कारण असार १४ गते विभिन्न स्थानमा डुबानमा परेका करिब २८८ घरका करिब ९३४ जना व्यक्तिहरूलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । 

झापा जिल्लाको गौरीगंज गाउँपालिका १ बालुबाढी टप्पु र कुन्जीबारी बजारका बस्तीहरूमा माई नदी र कमल खोलाको पानीको बहाव बढेर डुबानमा परेका ३८ घरका करिब १५० जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो ।

सो डुबानबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बैगुनधुराबाट खटिएको सशस्त्र प्रहरीले उनीहरूलाई सुरक्षित स्थानमा सार्नुको साथै डुबान प्रभावित घरका खाद्यान्न लगायतका विभिन्न सामाग्रीहरू समेत सुरक्षित स्थानमा सारेको हो ।   

यसै गरी झापा जिल्लाकै बाह्रदशी गाउँपालिका २ स्थित सुकुम्वासी बस्तीको डुबानमा परेका करिब ६० घरबाट खाद्यान्न लगायतका सामाग्रीहरू सशस्त्र प्रहरी बल नेपाल बिओपी भाग डुब्बाबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । 

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको सशस्त्र प्रहरीले मोरङ जिल्लाको कटहरी गाउँपालिका १ स्थित टाइगर टोलका डुबान प्रभावित १३० वटा घरका करिब ५२० जनालाई र खाद्यान्न तथा सरसामानहरू सुरक्षित स्थानमा सारेको हो । 

यसै गरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका १ परोपकार इलाकामा रहेको ६० घरका डुबान प्रभावित करिब २६४ जनालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सार्नुका साथै खाद्यान्न लगायतका सामाग्रीहरू सुरक्षित स्थानमा सारेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप