बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा जसको घर तीन पटक बाढीले बगायो

मङ्गलबार, १४ असार २०७९, २३ : १२
मङ्गलबार, १४ असार २०७९

विराटनगर–८ की तिलमाया भण्डारीको घर २०७४ सालमा सिंघीया खोलामा आएको बाढीले बगायो । त्यसको ४ वर्षपछि फेरि २०७८ सालमा पनि सिंघीया खोलाले नै उनको घर बगायो । एक वर्षपछि फेरि उनको घर सोही खोलाको बाढीले बगाएको छ ।

आफ्नो श्रम र पसिनाले कमाएको सम्पत्तिले बनाएको घर बाढीले पटकपटक बगाएपछि तिलमाया अहिले पुर्पुरोमा हात लगाइरहेकी छन् । उनलाई अब कसरी अर्को घर बनाउने भन्ने पीडाले सताएको छ । उनले आफ्नै नम्बरी जग्गामा खोलाभन्दा केही पर घर बनाएकी थिइन् । तर, बाढीले उनको घर पटकपटक बगाइरहेको छ । ‘अहिले बनाएको नयाँ घरको आधा भाग पनि बगाइसक्यो । अहिले आफू सुरक्षित स्थानमा खेलाछेउको खुल्ला मैदानमा आएको छु,’ उनले भनिन्, ‘अब कहाँ बस्ने हो, कुनै टुङ्गो छैन । बाढीले मलाई बिचल्ली बनाएको छ ।’

उनी विराटनगर–८ मा बस्दै आएको १५ वर्षभन्दा बढी भयो । सिंघीया खोलाको तटबन्ध नबनाइँदा आफ्नो घर बगाउने अवस्था आएको उनको भनाइ छ । वर्षा सुरु हुनुभन्दा अगाडि खोलामा तटबन्ध गरिदिएको भए आफू घरबिहीन हुनुपर्ने अवस्था नआउने उनले बताइन् । विराटनगर–८ कामात्रै ४० परिवार बाढीले विस्थापित भएका छन् । वडाअध्यक्ष राम पोखरेलका अनुसार डुबानमा परेकालाई त्रिपाल टाँगेर अस्थायी रूपमा सुरक्षित स्थानमा राखिएको छ ।​

डुबानले १५ सय घर परिवार विस्थापित

बाढी र डुबानबाट विराटनगरमा मात्रै १५ सय घर परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको भनाइ छ । जिल्ला प्रहरी कार्यालयले भने मोरङमा हालसम्म लगभग १२ सय घर परिवार विस्थापित भएको जनाएको छ । विराटनगरको सिंघीया खोला बस्तीमा पस्दा घरायसी सामग्रीहरू बगाएको छ । विराटनगर–१ गंगाचौकको सुकुमवासी बस्तीमा सिंघीया खोला पस्दा ५० घरमा डुबानमा परेका छन् ।

सोमबार रातिको अविरल वर्षाले बस्तीमा मात्र भेल ल्याएन, सुकुमवासीका आँखाबाट पनि भेल बग्यो । ज्यान र सामान कसरी जोगाउने भन्नेमै उनीहरूको दिन बितेको छ । सुकुमवासी बस्तीमा बस्ने महेन्द्र सहनी बिहान उठ्नुअघि नै कोठामा भेल छिरिसकेको थियो । ‘बिहान ६ बजे उठ्दा कोठा पानीले भरिएको थियो । खुट्टा टेक्ने ठाउँ थिएन,’ उनले भने ।

सहनी र उनका परिवार घर डुबानमा परेपछि खाद्यान्न र लत्ताकपडा बोकेर सुरक्षित ठाउँतिर सरेका छन् । अब के खाएर रात कटाउने भन्ने चिन्ताले सताएको उनले बताए । ‘सरकारले हामी सुकुमवासीलाई केही गर्ने होइन । कसले हेर्छ हामीलाई ?,’ सरकारलाई प्रश्न गर्दै उनी भन्छन् ।

बाढीले बगाएर एक जनाको मृत्यु

अविरल वर्षासँगै आएको बाढीले बगाउँदा मोरङको सुन्दरहरैंचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरंैचा–६ गछिया खोलाले बगाएर सोही ठाउँका ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको हो ।विराटनगरका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढी बस्तीमा पसेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ गएका छन् । विराटनगरको ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका घर जलमग्न भएका छन् । त्यहाँका बासिन्दालाई प्रहरीले उद्धार गरिरहेको छ ।

यस्तै, कटहरी गाउँपालिकाभित्र १३० घर डुबानमा परेको मोरङ प्रहरी प्रवक्ता, डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार कटहरी–१ मा टाइगरटोलमा सिंघीया खोलाको बाढी पस्दा ६० घर डुबानमा परेको छ भने २५० जना विस्थापित भएका छन् । यस्तै कटहरी–१ मै हनुमान मन्दिर एरियामा सिंघीया खोलाको बाढी पस्दा ४० घर डुबानमा परी १७० जना विस्थापित भएको बताइएको छ । नारी विकास एरियाको ३० घर डुबानमा पर्दा एक सय जना विस्थापित भएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

यस्तै, जहदामा १ र २ नम्बर वडामा राजवंशी चौकमा १२० घर डुबानमा पर्दा ४५० जना विस्थापित भएको प्रहरीले जनाएको छ । ‘डुबानमा परेको घरपरिवारको रिपोर्ट प्रारम्भिक हो,’ डिएसपी श्रेष्ठले भने, ‘मोरङका धेरै खोलामा बहाव बढेको छ । डुबानमा हुने घरको संख्या अझै बढ्नेछ ।’ बुढीगंगा–२ स्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमै बाढी पसेपछि सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप