सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

किन भयो पेट्रोलियम कर कटौतीमा ढिलाइ ?

मङ्गलबार, १४ असार २०७९, २० : ५०
मङ्गलबार, १४ असार २०७९

सरकारको निर्देशनमा नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेपनि पेट्रोलियम कर कटौती गर्न भने ढिलाइ भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा शनिबार उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलको मूल्य प्रतिलिटर २० र डिजेलको मूल्य प्रतिलिटर २९ रुपैयाँ घटाउने निर्णय सुनाएका थिए ।

पेट्रोलमा २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा २९ रुपैयाँ कर घटाएर जनालाई राहत दिइएको बडूको भनाइ थियो । तर, अर्थ कानुनी समस्याका कारण कर घटाउने निर्णय कार्यान्वयनमा ढिलाई भएको हो । अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीले आर्थिक ऐन विचाराधीन अवस्थामै रहेकाले निर्णय कार्यान्वयन गर्न समस्या भएको बताए । कानुन बनेपछि यसबारे प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । असार ११ गते प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र उद्योग मन्त्रालयबीच पेट्रोलियम पदार्थमा लाग्दै आएको उच्च करको दर घटाउने सहमति भएको थियो । 

खासगरी, भन्सार बिन्दुमै लाग्दै आएको पेट्रोलियम पदार्थको उच्च कर समायोजनका लागि अर्थ मन्त्रालय सहमत बनेको थियो । सहमतिअनुसार, निगमले घटाउने तेलको बिक्री मूल्य बराबरको कर समायोजन अर्थ मन्त्रालयले गर्ने र उपभोक्तालाई राहत दिने निर्णय गरिएको थियो । तर, प्रक्रिया अघि बढाउन कानुनै बाधक देखिएपछि मूल्य घटेको तीन दिन बित्दा पनि अथ मन्त्रालय निर्णयबिहीन बनेको हो ।  

यसैगरी, अर्थ मन्त्रालयले आजै निगमलाई केन्द्रीय कार्यालय रहेको टेकुको ४० रोपनीभन्दा धेरै जग्गा बैंकमा धितो राखेर ऋण लिन पत्र लेखेको छ । स्रोतका अनुसार अर्थ मन्त्रालयले दिनुपर्ने ३ अर्ब रुपैयाँ रकम जग्गा धितो राखेर लिन पत्र काटिएको र सम्बन्धित बैंकसँग ऋणका लागि सहजीकरण गर्ने अर्थले बताएको छ । ‘यसअघि नै अर्बौ रुपैयाँ ऋणमा रहेको निगम शनिबार रातिदेखि मूल्य ह्वात्तै घटाएपछि झनै आर्थिक भारमा परेको छ,’ स्रोत भन्छ, ‘यस हिसाबमा निगमले भोलिका दिनमा तेल किन्नै नसक्ने स्थिती आउन सक्छ ।’ 

निगमले अहिले पनि इण्डियन आयल कर्पोरेशनलाई तेल किनेबापतको अर्बौ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । खासगरी, अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढिरहेको तेलको भार निगमको थाप्लोमा परेको छ । भारतबाट प्रत्येक १५–१५ दिनमा बढेर आउने तेलको भाउअनुसार मूल्य समायोजन नहुँदा निगमको थाप्लोमा ऋणको भार परेको हो । अर्थ मन्त्रालयले तत्कालका लागि शनिबार समायोजन भएको तेलको मूल्यको सोधभर्ना भने गर्ने बताएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप