
बाढीको कहर : विराटनगरमा तीन दिन विद्यालय बन्द गर्ने निर्णय

बाढीबाट विस्थापितलाई राख्ने ठाउँ नहुँदा विराटनगरका विद्यालय तीन दिन बन्द गर्ने महानगरपालिकाले निर्णय गरेको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विस्थापितहरुलाई राख्ने ठाउँको अभाव भएको कारण आकस्मिक बैठक बसेर यस्तो निर्णय गरेको जानकारी दिए ।
‘बाढीले धेरै मानिस विस्थापित हुनुभएको छ, उहाँहरुलाई अहिले कहाँ राख्ने भन्ने विषयमा ठाउँको अभाव भयो,’ कोइरालाले भने, ‘त्यसो हुँदा हामीले विद्यालयमा राख्नका लागि तीन दिन विदा दिने निर्णय गर्यौं ।’ महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा मंगलबार साँझ बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
प्रमुख कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतसहित १९ वटै वडाका वडाध्यक्षहरूको उपस्थितिमा बसेको बैठकले बर्खे विदामा कटौती गर्ने गरी तीन दिन विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको कोइरालाले जानकारी दिए ।
बैठकले अविरल वर्षाका कारण महानगरका विभिन्न क्षेत्रहरू डुबानमा परेको र डुबानको प्रकोप अझ बढ्ने सम्भावना रहेकाले आमनागरिकको सुरक्षाका लागि सामुदायिक, संस्थागत र परम्परागत विद्यालयहरूसहित सामुदायिक भवनहरुलाई आवासका लागि व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ