बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

समसामयिक प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीको बैठक सकियो

मङ्गलबार, १४ असार २०७९, २३ : ००
मङ्गलबार, १४ असार २०७९

नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को पहिलो बैठक सम्पन्न भएको छ । विभिन्न समसामयिक प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले एसपीपीमा नेपाल संलग्न नहुने पत्र अमेरिकालाई पठाएकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पारित गरेको उनले बताए । उनले कम्युनिस्ट एकतामा जोड दिँदै वामपन्थी शक्तिहरूलाई संघीयता र धर्मनिरपेक्षताको पक्षमा एकजुट हुन पनि आह्वान गरेको जानकारी दिए । दैनिक जनजीवन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिसँग सम्बन्धित अन्य समसामयिक प्रस्तावमा समाजवादीले मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्नुका साथै किसानलाई सहज तरिकाबाट मल बिउबिजनको व्यवस्था गर्न माग गरेको छ।  यस्तै महिला तथा बालबालिकामाथि भइरहेको बलात्कारको घटनाको भत्सर्ना बैठकले गरेको छ । 

विपद्बाट हुनसक्ने क्षतिबाट बच्न पार्टी पंक्ति लाग्ने प्रस्ताव पारित गर्दै भारतीय बाँधको समस्या समाधान गर्न पनि सरकारसमक्ष माग गरिएको छ । भ्रष्टाचारमाथि कारबाही,सुकुम्बासी समस्या समाधान, हैजाको रोकथामलगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराइएको छ । 

केन्द्रीय परिषद् बैठकले अध्यक्षको प्रतिवेदन संशोधनसहित पारित गरेको पनि खतिवडाले जानकारी दिए । लगभग १६०० जना परिषद् सदस्य सहभागी बैठकमा आम निर्वाचन र प्रदेशको निर्वाचनमा पार्टीलाई सबै क्षेत्रमा उभ्याउने भनेर साझा निर्णय भएको पनि उनले बताए । 

बैठकले  गठबन्धनमात्रै नभइ पार्टीको शक्ति र क्षमताले भ्याएसम्म घरघरमा पार्टीको चुनाव चिह्न लिएर अघि बढ्न नेता कार्यकर्तालाई आह्वान गरेको छ । पार्टी सम्पूर्ण रुपमा चुनावमा होमिएको पनि खतिवडाले बताए । बैठकमा अध्यक्ष माधव कुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि ११ समूहमा छलफल भएको थियो ।  छलफलबाट आएका सुझावलाई समेटेर प्रतिवेदनलाई पूर्णता दिइने समाजवादीको भनाइ छ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)

केन्द्रीय परिषद्को प्रथम बैठकमा प्रस्तुत समसामयिक प्रस्ताव

(२०७९ असार १३ र १४, काठमाडौँ)

१. दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक रूपमा वृद्धि भएको छ । मूल्यवृद्धिले जनताको दैनिक जीवन कष्टकर भइरहेको अवस्थामा हालै सरकारले पेट्रोल तथा डिजेलमा मूल्य घटाउन गरेको निर्णयलाई सह्राना गर्दै यो बैठक दैनिक उपभोग्य वस्तुहरूको मूल्य नियन्त्रण गरी सुपथ मूल्यमा आपूर्ति गर्ने व्यवस्था मिलाउन सरकारसमक्ष जोडदार माग गर्दछ ।

२. खेतीपातीको समयमा मल तथा बिउको आपूर्तिमा चरम अभाव देखिएको छ । यो बैठक किसानहरूलाई सहज तरिकाबाट मल तथा बिउ–बिजनको आपूर्तिको व्यवस्था यथाशिघ्र मिलाउन सरकारलाई आह्वान गर्दछ ।

३. देशका विभिन्न स्थानहरूमा महिला तथा बालिकाहरूमाथि भइरहेको यौनिक हिंसा तथा सामूहिक बलात्कारको आपराधिक घटनाप्रति यो बैठक घोर भर्त्सना गर्दछ । साथै, यस्ता जघन्य अपराधका घटनामा संलग्न अपराधीमाथि कठोर कानुनी कारबाहीको माग गर्दै पीडित महिला तथा बालिकाहरूको उचित संरक्षण, उपचार, पुनर्स्थापना र क्षतिपूर्तिका साथै सुरक्षित एवं सम्मानजनक सामाजिक जीवनको प्रत्याभूतिका लागि सरकार समक्ष माग गर्दछ ।

४. यस वर्ष अत्यधिक वर्षा हुनसक्ने प्रक्षेपण गरिएको हुनाले प्राकृतिक प्रकोपको न्यूनीकरण, विपद् व्यवस्थापनको पर्याप्त तयारीका साथै सम्भावित खोज, उद्धार र राहत कार्यका लागि आवश्यक सबै खाले पूर्व तयारीमा ध्यान दिन यो बैठक सरकारको ध्यानाकर्षण गराउँदछ । साथै, यो बैठक हाम्रो सम्पूर्ण पार्टी पङ्क्तिलाई पनि सम्भावित विपद् र यसको व्यवस्थापनका लागि आवश्यक पर्दा खोज, उद्धार र राहतका लागि तयार रहन अपिल गर्दछ ।

५. भारतले नेपालको सिमाना नजिकै बनाएका बाँधहरूको कारणले नेपालको तराईको भू–भाग वर्षेनी डुबानको समस्यामा पर्दै आएको छ । अतः यो समस्यालाई नेपाल सरकारले गम्भीरता पूर्वक लिई भारतसँग वार्ताको माध्यमबाट दीर्घकालीन रूपमा समाधान गर्नका लागि पहल गरोस् भन्ने यो बैठक माग गर्दछ ।

६. राज्यका सबै अङ्गमा भ्रष्टाचार कमिसन तन्त्र र बिचौलियाको दबदबा मौलाएको अवस्थामा यो बैठक जनचाहाना अनुरूप राज्यका सबै अङ्ग र तहहरूमा भ्रष्टाचारको छानबिन गर्न र भ्रष्टाचारीहरूमाथि कारबाही गर्न सम्बन्धित निकाय र सरकारसमक्ष माग गर्दछ । 

७. लामो समयदेखि विद्यमान रहेको सुकुम्वासी समस्या समाधान गर्नका लागि पुनर्गठन गरिएको भूमि समस्या समाधान आयोगले यथाशीघ्र वास्तविक सुकुम्वासी पहिचान गरी प्रभावकारी ढंगले दीर्घकालीन समाधानको पहल गर्न यो बैठक आह्वान गर्दछ ।

८. वास्तविक नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने, सङ्घीयतालाई प्रशासनिक रूपमा व्यवस्थापन गर्ने, निजामती सेवालाई व्यवस्थित गर्ने तथा तीन वटै तहका सरकारबिचको काम र भूमिकालाई व्यवस्थित गर्ने ऐन कानुनहरू यथाशीघ्र निर्माण गर्न यो बैठक सरकारको ध्यानाकर्षण गराउँदछ ।

९. काठमाडौँ उपत्यका लगायत मुलुकका केही स्थानहरूमा झाडा पखालाका बिरामीहरू देखिन थालेको प्रति सजग हुँदै यो बैठक सरकार तथा सम्बन्धित निकाय समक्ष झाडा पखाला रोकथामका लागि जनचेतना फैलाउन निरोधात्मक कार्य गर्न तथा बिरामीहरूको उपचारको उचित व्यवस्था गर्न माग गर्दछ ।

१०. अमेरिका लगायत पश्चिमा प्रभुत्ववादी शक्तिहरूले युक्रेनमाथि प्रभुत्व कायम गर्न गरेको प्रयत्न तथा यसले सृजना गरेको सुरक्षा संवेदनशीलताले गर्दा रुस र युक्रेनबिच युद्ध भड्किएको छ । यस युद्धले विश्व शान्तिमा गम्भीर असर पारेको छ । यस युद्धले समग्र विश्वमा मानवीय सङ्कट, आर्थिक मन्दी, महँगी तथा खाद्यान्न सङ्कटको स्थिति सृजना गरेको छ । तसर्थ, युद्धरत पक्षसँग यो बैठक तत्काल युद्धविराम गरी वार्ताद्वारा समस्याको समाधान गर्न र दिगो शान्ति कायम गर्न जोडदार अपिल गर्दछ ।

११. राष्ट्रिय हित, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षाका लागि नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको छ । नेपाल पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रको आधारमा छिमेकी तथा मित्र राष्ट्रहरूसँग आपसी हितका लागि सुमधुर सम्बन्ध कायम गर्न प्रतिबद्ध छ । हामी कुनै पनि सैनिक गठबन्धन, प्रतिरक्षा रणनीति र सुरक्षा योजनामा संलग्न हुन सक्दैनौँ । यसै पृष्ठभूमिमा सरकारले सत्ता गठबन्धनको निर्णय अनुरूप एसपीपी स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल संलग्न नहुने निर्णय सहितको पत्र संयुक्त राज्य अमेरिकालाई पठाएकोमा यो बैठक सरकारलाई धन्यवाद ज्ञापन गर्दछ । 

१२. माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा सहि विचार र राजनीतिक कार्यदिशा अङ्गालेका तर विभिन्न पार्टी र समूहमा विभक्त भई क्रियाशील रहेका कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूलाई कम्युनिस्ट आन्दोलनको रक्षा र समाजवादी क्रान्तिको लक्ष्यतर्फ अगाडि बढ्नका लागि एकताबद्ध हुन र एकीकृत पार्टी निर्माणको दिशामा अघि बढ्न यो बैठक सबै क्रान्तिकारीहरूमा हार्दिक अपिल गर्दछ । 

१३. समाजवादी कार्यदिशा अङ्गालेका सम्पूर्ण वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, सामाजिक आर्थिक रूपान्तरण, सङ्घीयता, धर्मनिरपेक्षता तथा संविधानको रक्षाको लागि एकताबद्ध हुन यो बैठक आग्रह गर्दछ ।

१४. प्रतिगामी, पुनरुत्थानवादी तथा दक्षिणपन्थीहरूबाट लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, संविधान र जनताको सार्वभौमिकतामा प्रहार हुनसक्ने स्थितिप्रति सजग रहँदै यो बैठक वाम लोकतान्त्रिक गठबन्धनमा रहेका दलहरू लगायत सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गर्दछ ।

१५. स्थानीय तहको निर्वाचनमा विजयी हुनु भएका सम्पूर्ण पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य एवं जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरूलाई यो बैठक बधाई ज्ञापन गर्दै उहाँहरूको कार्यकाल सफलताको कामना गर्दछ । साथै, स्थानीय तह निर्वाचनको सफलताको लागि योगदान गर्नु हुने निर्वाचन आयोग, सरकारी निकाय, सुरक्षा अङ्ग लगायत सम्पूर्ण निकाय र व्यक्तिमा धन्यवाद ज्ञापन गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप