शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टोकियोमा रेकर्ड राख्न थालेयताकै सबैभन्दा गर्मी

सयौं मानिस हिटस्ट्रोकका कारण अस्पताल भर्ना
मङ्गलबार, १४ असार २०७९, १८ : ४५
मङ्गलबार, १४ असार २०७९

जापानको राजधानी टोकियोको तापक्रम हालसम्मकै उच्च बनेको छ ।  १५० वर्षअघि तापक्रमको रेकर्ड राख्न थालेयताकै उच्च पुगेको समाचारमा जनाइएको छ । शनिबार, आइतबार र सोमबार सहरको तापक्रम लगातार ३५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो, जुन सन् १८७५ मा जापानले तापक्रमको रेकर्ड राख्न थाले यताकै उच्च हो । 

शनिबार र आइतबार झण्डै २५० मानिसलाई हिटस्ट्रोक भएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको माइनिची पत्रिकाले लेखेको छ । सामान्यतया वर्षको यो समय जापानको अधिकांश स्थानमा पानी परिरहेको हुन्थ्यो । 
तर जापानको मौसमविज्ञान निकायले सोमबार टोकियो रहेको क्यान्टो र छिमेकी कोशिन क्षेत्रमा वर्षा याम सकिएको घोषणा गर्यो । 

त्यसबाहेक जापानको केन्द्रीय भाग टोकाई र दक्षिणको क्युशुमा पनि वर्षा याम सकिएको मौसमविज्ञान निकायले भनेको छ । क्यान्टो–कोशिन क्षेत्रमा हालसम्मकै छोटो वर्षा याम मापन गरिएको निकायले बताएको छ । बढ्दो तापक्रममाझ जापानी सरकारले विजुली कटौतीको सम्भावनाबारे सतर्क गराएको छ । सम्बन्धित निकायले मंगलबार दोस्रो दिन पनि उपभोक्तालाई विजुली जोगाउन आग्रह गर्यो । तथापि हिटस्ट्रोकबाट जोगिने उपाय अबलम्बन गर्न नछाड्न पनि उसले सल्लाह दिएको छ । 

‘बिजुली बचाउनु भन्ने सन्देश सुनेर केही वृद्धवृद्धाले तिनको एयर कन्डिसनर निभाएर बसेको रिपोर्ट आएको छ । कृपया यस्तो गर्मीमा चिसो हुने उपाय अपनाउन नहिच्किचाउन आग्रह गर्छौं,’ एक पत्रकार सम्मेलनमा व्यापार तथा उद्योग मन्त्री कोइची हगिउदाले भने । 

जापानमा दुई सातापछि राष्ट्रिय चुनाव हुन लागेको अवस्थामा गर्मीको तातो लहर र तिनको प्रभाव पनि चुनावी बहस बन्ने देखिएको छ । 
मतसर्वेक्षणहरुमा उपभोग्य बस्तुको मुल्य, विद्युतको मूल्य लगायत विषय मतदाताहरूको चासोमा रहेको देखाएको छ । 

स्रोत : रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप