बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी केन्द्र बनाउन कति सम्भव छ ?

मङ्गलबार, १४ असार २०७९, २३ : ११
मङ्गलबार, १४ असार २०७९

कम्युनिस्ट विचार बोक्नेहरूलाई एक ठाउँमा केन्द्रीत गर्ने उद्देश्यले पुनः समाजवादी केन्द्र बनाउने बहस सुरु भएको नेताहरुले बताएका छन् । संविधानको प्रस्तावनामै समाजवाद उन्मुख व्यवस्था हुने परिकल्पनासँगै कम्युनिस्ट पार्टीहरू समाजवादी केन्द्र बनाउनेतिर लागेका हुन् ।

समाजवादी केन्द्र बनाउने बहसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छलफल र बहसमा जुटेका हुन् । नेकपा एमालेबाहेक कम्युनिस्ट शक्तिलाई एक ठाउँमा राख्नेगरी शिर्ष नेताहरु छलफलमा जुटेको माओवादी केन्द्रका एक प्रभावशाली नेताले बताए । समाजवादी केन्द्र बनाउनुका साथै आवश्यक परेमा अर्को काँग्रेस र  एमाले बाहेक सहायक गठबन्धनको रुपमा बनाउने तयारी थालिएको  छ । 

त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सम्मानित नेता झलनाथ खनाल, जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रारम्भिक चरणमा छलफल गरेका हुन् । समाजवादी केन्द्र बनाउने विषयमा पहिलो र दोस्रो तहका नेताहरु घनिभूत छलफलमा लागि रहेको ति माओवादी नेताले बताए । 

त्यसकै निरन्तरतामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा छलफल भएको थियो । सबै कम्युनिस्ट शक्तिलाई जोडेर केन्द्र बनाउने विषयमा प्रचण्ड र बाबुरामबीच छलफल भएको बताइएको छ । बाबुरामले लामो समयदेखि समाजवादी केन्द्र बनाउने भन्दै माग गरी राखेकाले प्रचण्डले उनलाई उपराष्ट्रपति निवासमा पुगेर भेटेका हुन् । 

‘हामीले कसैका विरुद्ध वा कसैको समर्थनमा समाजवादी केन्द्र बनाउन खोजेका होइनौँ । संविधानमा भएको व्यवस्थालाई यर्थाथमा बदल्न विचार मिल्ने पार्टीहरुबीच समाजवादी केन्द्र बनाउन सकिन्छ कि भनेर प्रारम्भिक चरणको गृह कार्यमा छौँ,’ ती नेताले भने, ‘त्यसका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा,राष्ट्रिय जनमोर्चा लगायत अरु स–साना कम्युनिस्ट शक्तिलाई जोड्ने योजना छ ।’ समाजवादी केन्द्र बनाउने विषयमा सामान्य खाका कोरेर गृह कार्य थालिएको बताइएको छ । 

समाजवादी केन्द्र बनाउने निरन्तरता स्वरुप सोमबार नेकपा संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित नेपालमा समाजवादः चुनौति र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो । सोही कार्यक्रममा कम्युनिस्ट पार्टीका शिर्ष नेताहरु सहित काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत बोलाएर छलफल गरिएको थियो । कम्युनिस्ट र गैर कम्युनिस्टलाई समेत जोडेर समाजवादी केन्द्र बनाउन सकिन्छ कि भनेर नेताहरु भेटघाटमा जुटेका हुन् ।

 अहिलेकै अवस्थामा शक्ति आर्जन कठिन भएपनि नेताहरु समाजवादी केन्द्र बनाउने छलफलमा जुटेका छन् । यद्यपि समाजवादी केन्द्र बनाउने विषयमा मूर्त रुपमा भने लिई नसकेको नेताहरु बताउँछन् ।

तर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समाजवादी केन्द्र बनाउने विषयमा छलफल नभएको प्रतिक्रिया दिए । ‘मैले कम्युनिस्ट पार्टीहरूबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल गरेको छैन । हामी वैचारिक रुपमा माओवादी र एकीकृत समाजवादी भन्दा फरक भएकाले नबोलाएका हुन कि ?’ रातोपाटीसँग कुरा गर्दै केसीले भने,‘अहिलेसम्म समाजवादी केन्द्र बनाउने छलफलमा भाग लिएको छैन छलफलपनि गरेको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप