बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा लगानी गर्न अष्ट्रेलियाका राजदूतलाई चेम्बरको आग्रह

मङ्गलबार, १४ असार २०७९, १६ : ३८
मङ्गलबार, १४ असार २०७९

नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलिया समक्ष आग्रह गरेको छ । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसँग मंगलबार भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

भेटवार्तामा जलविद्युत, वन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीको प्रशस्त सम्भावना रहेको बताइएको छ । नेपाल र अष्ट्रेलियाबीच ६० बर्ष भन्दा पुरानो कुटनीतिक सम्बन्धलाई थप बलियो बनाउन सरकारी र नीजि क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यक्ता रहेको अध्यक्ष मल्लले बताए ।

अष्ट्रेलियाले नेपालको वन क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न लामो समयदेखि आर्थिक एवं प्राविधिक सहयोग गरेको भन्दै अध्यक्ष मल्लले यसको निरन्तरतामा जोड दिए । उनले जडिबुटी एवं खानी जन्य तथा धातुहरुको प्रशोधन गर्ने उद्योगमा लगानी गरी अन्तराष्ट्रिय बजार प्रवर्द्धन गर्न समेत राजदूत वोल्क समक्ष आग्रह गरे ।

अध्यक्ष मल्लले भने, ‘समृद्ध मुलुक अष्ट्रेलियाले थुप्रै देशमा लगानी गरिरहेको छ । तर नेपालमा लगानी निकै नगण्य मात्रामा छ । भारत तथा बंगलादेशको विद्युत बजारलाई मध्यनजर गर्दै अपार सम्भावना छ ।’ अष्ट्रेलियाका ठूला लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न अध्यक्ष मल्लले आग्रह समेत गरे ।

जवाफमा राजदूत वल्कले नेपाल अष्ट्रेलियाको कुटनीतिक सम्वन्ध ६० वर्षभन्दा पुरानो र ऐतिहासिक भएको बताए । नेपालसँगको ऐतिहासिक सम्बन्धलाई अष्ट्रेलियाले सधैं गर्व गर्ने उनको भनाइ छ । नेपालबाट वार्षिक ५० हजार विद्यार्थीहरु अध्ययनका लागि अष्ट्रेलिया जाने गरेको भन्दै वल्कले उनीहरुको शैक्षिक सुधार तथा भविष्यका लागि आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

वल्कले भने, ‘नेपालबाट वार्षिक ५० हजार विद्यार्थीलाई अष्ट्रेलियाले अध्ययन भिषा उपलव्ध गराउ“दै आएको छ । अष्ट्रेलिया अध्ययन गर्न आउने नेपाली विद्यार्थीको संख्या विश्वमा चीन, भारतपछि नेपाल तेस्रो स्थानमा छ ।’ नेपालमा लगानीका लागि नीतिगत समस्या हु“दा पनि अष्ट्रेलियाबाट अपेक्षित लगानी आउन नसकेको राजदूत वल्कको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप