शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एआईजी विश्वराज पोखरेल जेठ २५ देखि ‘गैर हाजिर’

घर ठेगानामा म्याद तामेल गर्ने हेडक्वार्टरको तयारी,  ४५ दिनपछि सेवाबाट हटाउने कानुन
मङ्गलबार, १४ असार २०७९, १४ : ३६
मङ्गलबार, १४ असार २०७९

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका  छैनन् । उनले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गरे । जेठ २५ बाट गैर हाजिर भएका पोखरेललाई काममा फर्किन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । तर, उनी अदालतमा विचाराधीन मुद्दाको टुङ्गो नलागुन्जेल काममा नफर्किने बताउँछन् ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि पोखरेलले पेश गरेको ३० दिनको बिदा पूर्व आईजीपी शैलेश थापाले क्षेत्रीले स्वीकृत गरेका थिए । सो बिदा सकिएपछि पोखरेलले थप दुई पटक बिदा मागेका हुन् ।

आईजीपी बढुवा विरुद्ध उनले सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाइ भइरहेको छ । मुद्दा कामु प्रधान न्यायाधीश दीपक कार्की र न्यायाधीश डा. कुमार चुडालको इजलासमा असार १९ मा सुनुवाइ हुने गरी हेर्दाहेर्दै राखिएको छ ।

जेठ २५ र असार ६ मा पोखरेलले मागेको बिदा अस्वीकृत गरेर प्रहरी प्रधान कार्यालयले उनको घर ठेगानामा ‘हाजिर हुन आउने’ म्याद तामेल गर्ने तयारी गरेको छ । एआईजी पोखरेललाई बिदा ‘अस्वीकृत भएको’ जानकारी गराएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘इमेल र म्यासेजमार्फत बिदा अस्वीकृत भएको जानकारी गराएका छौँ ।’

सार्वजनिक बिदा घटाएर पोखरेल अहिलेसम्म १७ दिन गैर हाजिर भएका छन् । ‘बिदा अधिकार होइन’ प्रहरी प्रवक्ता केसी भन्छन्–‘लामो समय गैर हाजिर भएमा प्रहरी नियमावली अनुसार प्रक्रिया अघि बढ्छ ।’

एआईजी पोखरेलले हुलाक बाट समेत बिदा मागेर पत्र पठाएका थिए । मुद्दा फैसला हुनुअघि हाजिर हुन नजानेबारे अदालतमा पनि जानकारी गराएको पोखरेलले रातोपाटीलाई बताए । उनले भने–‘बिदा मागेको बारे इजलासमा पनि निवेदन पेश गरेको छु, मभन्दा जुनियरलाई आईजीपी मानेर काममा फर्किन्नँ ।’

प्रहरी प्रधान कार्यालयले प्रदेश समन्वय विभागको प्रमुख रहेका विश्वराजलाई बाढी–पहिरोले क्षति गर्ने सिजन सुरु भएको हुनाले हाजिर भएर कामकाज देशभर समन्वय गर्न भनेको छ । सो सूचना उनलाई इमेल र म्यासेजमा पठाइएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई भनेको छ–‘हाजिर भएर कामकाज गर्नुहोला अन्यथा प्रहरी नियमावली बमोजिम हुनेछ ।’

४५ दिनपछि सेवाबाट हटाउने कानुन

बिदा अस्वीकृत भएको १६ दिनपछि घर ठेगानामा म्याद पठाउने कानुनी ब्यवस्था छ । प्रहरी नियमावली–२०७१ अनुसार स्थायी घर ठेगानामा सूचना टाँस भएको मितिले बाटोको म्याद बाहेक २४ घण्टाभित्र गैर हाजिर रहनुको कारण खुलाएर स्पष्टीकरण दिनुपर्छ ।  

सूचना टाँस गरेपछि प्रहरी प्रधान कार्यालयले पत्रिकामा सूचना प्रकाशन गर्नका लागी गृह मन्त्रालयलाई लेखेर पठाउनुपर्छ । प्रहरी नियमावली–२०७१ को नियम ११३  अनुसार बिदा स्वीकृति नगराई लगातार ४५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित भएमा मन्त्रिपरिषद्ले सेवाबाट हटाउने व्यवस्था छ । तर, ४५ दिनभित्र घरमा म्याद तामेल गर्ने र पत्रिकामा सूचना प्रकाशन गरेर गैर हाजिर हुने प्रहरी अधिकृतलाई हाजिर हुन आउने अवसर दिनुपर्छ ।

२०७७ मङ्सिरमा पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थिए । पोखरेलले आफू १६ महिना सिनियर भएको हुनाले सरकारले वरीयता मिचेर सिंहलाई आईजीपी नियुक्त गरेको जिकिर गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप