शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्टर्लिङलाई अनुबन्ध गर्न सिटीसँग चेल्सीको छलफल

मङ्गलबार, १४ असार २०७९, ०९ : ४८
मङ्गलबार, १४ असार २०७९

इंग्ल्याण्डका फरवार्ड राहिम स्टर्लिङलाई भित्र्याउन चेल्सीले म्यानचेस्टर सिटीसँग सम्पर्क गरेको छ । सन् २०१५ मा ४.९ करोड पाउन्डमा लिभरपुलबाट सिटी भित्रिएका स्टर्लिङले ३३९ खेलमा १३१ गोल गरेका छन् । उनलाई चेल्सीका नयाँ मालिक टोड बोहलीले प्रमुख ‘टार्गेट’ बनाएका छन् ।

चेल्सीले २७ वर्षीय खेलाडीका लागि औपचारिक प्रस्ताव पेस गर्न बाँकी रहेको छ । तर, यो चाँडै नै गरिने बीबीसी स्पोर्टले समाचारमा उल्लेख गरेको छ । सिटीसँग स्टर्लिङको एक वर्षको करार बाँकी रहेको छ । तर, उनी विभिन्न विकल्पबारे खुला रहेका छन् ।

बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुलाई सिजन लामो लोनमा इन्टर मिलान पठाएपछि चेल्सी आफ्नो फरवार्ड लाइनलाई मजबुत बनाउने प्रयासमा रहेको छ । यस्तोमा मेमा बोहलीले चेल्सी किनेपछि स्टर्लिङ क्लबको पहिलो नयाँ अनुबन्ध हुन सक्ने अपेक्षा गरिएको छ ।

सन् २०१६ मा पेप ग्वार्डिओला सिटीको म्यानेजर बनेपछि सर्जियो अगुएरोपछि स्टर्लिङले क्लबका लागि सर्वाधिक १२० गोल गरेका छन् । गत सिजन चौथो प्रिमियर लिग उपाधि जित्ने क्रममा उनले ३० खेलमा १३ गोल गरेका थिए । तर, रियल म्याड्रिडसँग च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित हुँदा उनी दुवै लेगमा बेन्चमा बस्न बाध्य बनेका थिए । यो सिजन बोरुसिया डर्टमण्डबाट अर्लिङ हालान्डको आगमनपछि उनले अझै कम खेल समय पाउने अनुमान गरिएको छ । यस्तोमा उनले क्लब छाडेर नयाँ चुनौती रोज्न सक्ने अपेक्षा गरिएको छ ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप