शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

पर्यटक खोज्दै जुम्लाका होटल व्यवसायी

मङ्गलबार, १४ असार २०७९, ०७ : ३१
मङ्गलबार, १४ असार २०७९

पर्यटक नआउँदा जुम्लाको होटल व्यवसाय संकटमा परेको छ । कोरोना महामारी अघि रारा आएका अधिकांश पर्यटक जुम्ला पुग्थे। पर्यटक बढ्दै गएपछि व्यवसायीहरूले होटलहरूमा लगानीसमेत बढाए । अहिले अधिकांश होटलहरू रित्तै बनेका छन् । 

हिउँदका ३ महिना जुम्लामा पर्यटन आवागमन ठप्प हुन्छ । अत्यधिक हिमपात हुने भएकाले त्यो सिजनमा पर्यटकहरू नै आउँदैनन् । क्षेत्रीय होटल संघ जुम्लाका अध्यक्ष दिलबहादुर महतले हिउँदमा बन्द नै गर्नुपर्ने होटलहरू अहिले पनि पाहुना नआउँदा रित्तो बनेको बताए ।

उनले भने -'अहिले ठूला लगानीका होटलहरूमा ५ वटा कोठा भरिन पनि मुस्किल छ । सिजनका बेला पर्यटक आउँदैनन्।' कुनै महिनामा त खर्चसमेत उठाउन मुस्किल हुने उनले बताए। महतका अनुसार  जुम्लामा ५० लाखदेखि २ करोडसम्म लगानी गरेका होटल मात्रै झन्डै १५ वटा छन् । अहिले ठूला लगानीका होटलहरूमा १० देखि २० जनासम्म पाहुना मात्र आउने गरेको बताए ।

होटलहरूमा दैनिक ५० जनासम्म पाहुनाहरू राख्न सकिने सुविधा छ । होटल दौँतरीका सञ्चालक पदमबहादुर महतले आफूहरूसँग भएका आधा कोठा पनि नभरिँदा व्यवसाय नै धरापमा पर्न थालेको बताए । उनको होटलमा १६ वटा कोठाहरू छन् । दैनिक ८ कोठा पनि भरिन मुस्किल हुन्छ । ‘कोरोना महामारी अघिसम्म पर्यटकलाई राख्ने होला भन्ने चिन्ता हुन्थ्यो, एक साताअघि नै सबै कोठा भरिभराउ हुन्थे। अहिले पाहुना खोज्नुपर्ने बाध्यता छ,' महतले भने ।

साउनदेखि भने पर्यटकहरू बढ्ने आशा रहेको संघका अध्यक्ष महतले बताए । उनका अनुसार साउन, भदौ, असोज र कात्तिक महिना रारा र जुम्ला घुम्न आउने पर्यटकका लागि उपयुक्त समय हो ।

संघको तथ्यांकअनुसार कोरोना महामारी अघिसम्म एकै महिनामा ३७ हजारसम्म पर्यटक जुम्ला आएका थिए । जुम्लामा होटल व्यवसायमा झन्डै २ अर्ब रुपैयाँ लगानी भएको संघको अनुमान छ । संघका अनुसार यो व्यवसायबाट कम्तीमा ३ सय जनाले रोजगारी पाएका छन् । पछिल्लो समय राष्ट्रियस्तरका कम्पनीहरूले समेत होटलका शाखा खोल्ने क्रम बढिरहेको छ । होटल पौवाले आफ्नो शाखा खोलिसकेको छ । पर्यटकीय होटलहरूले आफ्नो मेनुमा जुम्लाको उत्पादनलाई विशेष जोड दिएका छन् । 

होटल पौवाले कोदोको रोटी, फापरको रोटी, फापरको ढिँडो र मार्सी चामललगायत स्थानीय उत्पादनलाई प्रमुख परिकारका रूपमा राखेको छ । नियमित हवाई सेवा नहुँदा पनि होटल व्यवसाय समस्यामा परेको उपभोक्ता हकहित संरक्षण कार्यालयका प्रमुख श्रीकृष्ण देवकोटाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप