शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंका सडकमा खानेकुरा बेच्न नपाइने,  खानेकुरा र पानीको निगरानी गरिने

सोमबार, १३ असार २०७९, २० : ४३
सोमबार, १३ असार २०७९

काठमाडौं महानगरपालिकाले खानेकुरा तथा पानीको शुद्धताको निगरानी गर्ने भएको छ । काठमाडौंमा हैजाका बिरामी बढ्दै गएपछि खानेकुरा तथा पानीको शुद्धताको निगरानी गर्ने महानगरले जनाएको हो ।

यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिने भएको छ । प्रहरीसँग सहकार्य गरेर सडकमा खानेकुरा बेच्न नदिने महानगरले जनाएको छ । यस्तै  होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ । यस्तै पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट हेर्न र सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ ।

महानगरपालिकाले आजदेखि हैजा सम्बन्धी समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन थालेको छ । यसअघि कोभिड रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिएको ११८० नम्बरलाई राष्ट्रियसभा गृहको कल सेन्टरमा स्थानान्तरण गरेर सेवा थालिएको हो । 

जनस्वास्थ्य सम्बन्धी जोखिम पूर्वअनुमान गरेर व्यवस्थापनका काम थालिएको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को भनाइ छ । जनस्वास्थ्यको सवालमा महानगरले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउँदै प्रमुख शाहले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल गरेका छन् ।  

‘हैजा रोकथाम गर्न नागरिकका सचेतनाका लागि सबै वडामा वातावरण व्यवस्थापन विभागमार्फत एक हप्ता माइकिङ हुँदैछ । विद्यार्थीहरुलाई हैजा रोकथामका विषयमा सचेत गराउन शिक्षा विभागमार्फत विद्यालयहरुमा जानकारीमुलक कार्यक्रम हुँदैछ ।’ महानगरको स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले भने, ‘हामीले सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरुलाई जीवन जल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेका छौँ । विरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाएका छौँ ।’  

हैजाको प्रकोप भएको ठाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित वडाका महिला स्वास्थ्य स्वयंसेविका र वास स्वयमसेवक परिचालन गर्ने तथा सरोकारवालासँग सहकार्य गर्ने महानगरले निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप